स्वास्थ्य मन्त्रालयद्वारा कोरोनाको 'तेस्रो लहर'को चेतावनी, २० प्रतिशत शय्या बालबालिकाका लागि छुट्याउन निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को तेस्रो लहर आउनसक्ने जनाउँदै २० प्रतिशत शय्या बालबालिकाको उपचारका लागि छुट्याउन देशभरका अस्पताललाई निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्याय शुक्रबार देशभरका सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थालाई पत्र पठाएका हुन्। पत्रमा संक्रमणको तेस्रो लहरबाट जोगाउने गरी तयारी गर्न भनिएको छ।
कोरोनाको तेस्रो लहरमा बालबालिका बढी संक्रमित हुनसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिलेको कोरोनाको दोस्रो लहरमा प्रौढ र युवा बढी संक्रमित भएका छन्।
स्वास्थ्य मन्त्रालयले कोभिड-१९ का लागि छुट्याएको शय्यामध्ये २० प्रतिशत बालबालिकाको उपचार हुने गरी तयारी गर्न भनेको छ। देशभरका स्वास्थ्य संस्थालाई पठाएको पत्रमा भनिएको छ, “दोस्रो लहरजस्तै पुनः तेस्रो, चौथो लहर आउने सक्ने र त्यसवेला बालबालिका बढी मात्रामा संक्रमित हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शय्याको कम्तिमा २० प्रतिशत शय्या कोभिड-१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्नुहुन अनुरोध छ।”
यससँगै स्वास्थ्य मन्त्रालयले अक्सिजनको पनि व्यवस्थापन समेत गर्न सचेत गराएको छ। स्वास्थ्य मन्त्रालयले यो पत्र स्वास्थ्य सेवा विभाग, सबै प्रदेशका सामाजिक विकास मन्त्रालय र लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बोधार्थ पठाएको छ।
त्यस्तै, यसमा आवश्यक सहयोग, समन्वय र सहजीकरणका लागि एसोसिएसन अफ प्राइभेट एन्ड डेन्टल कलेज अफ नेपाल र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल (अफिन)लाई अनुरोध गरेको छ।