एसईईको नतिजा दोस्रो त्रैमासिक परीक्षाका आधारमा तयार हुने
यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा विद्यालयले लिएको अन्तिम परीक्षाको आधारमा तयार गरिने भएको छ।
१७ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ महामारीका कारण एसईई आन्तरिक मूल्यांकनको आधारमा गर्ने निर्णय गरेको हो। कोभिड-१९ को दोस्रो लहर शुरु हुनुअघि विद्यालयहरूले दोस्रो त्रैमासिक परीक्षा सम्पन्न गरिसकेका थिए। अधिकांश विद्यालयले गत फागुनमा परीक्षा लिएका थिए।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले भने, “एसईईको नतिजा सम्बन्धित विद्यालयले गरेको अन्तिम मूल्यांकनको आधारमा गर्ने निर्णय भएको छ।”
विद्यालयहरूले दोस्रो त्रैमासिक परीक्षाको नतिजा शिक्षा विकास तथा समन्वय एकाइमा पठाउनु पर्नेछ। एकाइले प्रमााणित गरेर राष्ट्रिय परीक्षा बोर्डमा पठाउनु पर्नेछ। “एकाईले पठाएको विवरणको आधारमा बोर्डले परीक्षाको नतिजा सार्वजनिक र प्रमाणपत्र वितरण गर्नेछ” मन्त्री गुरुङले भने।
गतवर्ष पनि कोभिड–१९ का कारण एसईई आन्तरिक मुल्यांकनकै आधारमा भएको थियो। तर त्यतिबेला ‘प्रि-एसईई’ भने सम्पन्न भइसकेको थियो।