उर्दू गजलको काठमाडौं सफर!
कौशरको पालो आयो। उनी आफूले राम्रो होला भनी कल्पना गरेको राजधानी शहर काठमाडौँमा आउन पाएकोमा दङ्ग परेका थिए। उनले भने, “म काठमाडौँ आएको यो पहिलो पल्ट हो। तपाईँहरूको मायाले गर्दा। कृतज्ञता कसरी प्रकट गरौँ ! मसँग कुनै शब्द छैन, वाक्य छैन।”
“पेशाले रिक्सावाला। तर गजलका शौखिन छन् अब्दुल वहीद कौशर नेपाली। गजलका स्रष्टा र साधक पनि हुन् उनी। उर्दू भाषा उनको प्रकट हुने माध्यम हो। जब उनी लेख्छन्, शब्द बग्न थाल्छ। जब उनी गाउँछन्, झङ्कृत हुन्छ जीवन।”
२०५८ सालको भदौमा पत्रकार हस्त गुरुङ र म नेपालगञ्ज गएका थियौँ। त्यहाँ जानुको उपलक्ष्य थियो नेपाल प्रेस इन्स्टिच्यूटले चलाएको तालिम। लक्ष्य थियो नेपालगञ्जका शायरसँग भेट्नु, कुरा गर्नु अनि उनीहरुका गजल, शायरी सुन्नु।
एक साँझ आरिफ अन्सारी र पिताम्बर कट्टेलले हामीलाई नेपालगञ्जका उर्दू गजलकार कौशर नेपालीसँग भेटाइदिए।
उनका कुरा र गजल सुनिसकेपछि हस्तले २०५८ साल १६-३० असोजको 'हिमाल खबरपत्रिका' मा कौशरबारे माथिका अंश भएको लेख लेखे।
२०५९ साल पुसमा हामी फेरि नेपालगञ्ज गयौँ। पहिलेकै उपलक्ष्य, पहिलेकै लक्ष्य। हामीले कौशर नेपालीलाई भेट्यौँ। उनीसँग कुरा गर्याैं ।
हिमाल मा छापिएपछि कौशरले धेरै हौसला पाएछन्। हिमाल मा लेख्ने मान्छेसँग तिम्रो भेट कसरी भयो भनेर उनका आफन्तले सोधेछन्। विराटनगरमा रिक्सा चलाउने उनका साथीले कौशरबारे छापिएको हिमाल को अंक किनेर उनलाई ल्याइदिएछन्। एक प्रति हिमाल कौशरको ससुराली पुगेछ। आफूबारेको लेख छापिएको हिमाल को पेजलाई उनले लेमिनेशन गराएछन् र सन्दुकमा राखेछन्।
“त्यो त्यति महत्वपूर्ण भयो?,” हस्तले सोधे।
“भएन त?,” कौशरले भने।
वुटवलतिरका एकजना मानिसले कौशरले रिक्सा किन्न लिएको ५-६ हजार ऋण तिरिदिन्छु भनेछन्।
हस्तले १-१५ माघ २०५९ को हिमाल मा उनी बारे फेरि लेखेः
“मध्य पुसको जाडोले छोपिएको नेपालगञ्जको साँझ। नेपालगञ्ज-सुर्खेत सडकमा गुडिरहेका पाँच हजारजति रिक्साका चालकहरू जाडोले थरथर काम्दै दाँत बजाइरहेका थिए। तर, एकजना रिक्साचालक अब्दुल वहीद कौशर भने आधुनिक होटलको न्यानो कोठामा नेपाली गजल गाउँदै थिए। ओठ शब्द छर्दै थिए। कण्ठबाट गुन्जिदै थियो सुरिलो लय। शब्द र लय शील्पमा मस्त थिए उनी, स्रोताहरू मुग्ध।”
नेपालगञ्जको जुन माहौलमा कौशर जन्मे-हुर्के त्यहाँ नेपाली भाषा चल्तिमा थिएन। त्यसैले कौशरलाई नेपाली भाषा आउँदैनथ्यो। तर, हिमाल मा हस्तले उनीबारे लेखेको सामग्री छापिएपछि उनलाई नेपालगञ्जका शायरहरुले नेपालीमा पनि लेख्न सल्लाह दिए।
त्यसपछि उनले विभिन्न शब्दलाई नेपालीमा के भन्छन् भनेर सोधे। यसरी उर्दूमा सोचेर दुईवटा गजल नेपालीमा लेखे। त्यसपछि यसरी लेखिएको गजल हामीलाई सुनाएः
यो कागजको डुंगा, यो बर्खाको पानी
मायालुबिना कस्तो छ जिन्दगानी
मुलुक जस्तो हुन्छ बिना राजधानी।
गजल सुनिसकेपछि हामीले कौशरलाई सोध्यौँ-
- तिमी राजधानी काठमाडौँ गएका छौ?
- छैन।
- राजधानी कस्तो होला?
- राम्रो हुनुपर्छ। (नेपालको राजधानी काठमाडौँ नदेखे पनि भारतको राजधानी) दिल्ली त देखेको छु नि! राजधानी भनेको राजधानी हो।
- राम्रो रहेनछ भने?
- तब मुलुक कहाँ रहन्छ त?
उन्मुक्त हाँसो हाँसेपछि कौशरले हामीलाई उनका समस्या सुनाए। “म जति कमाउँछु खाँदै सकिन्छ। हाम्रो टोलमा भएका बच्चाले तालिम पाएका छैनन्। गरिबीले गर्दा ५०-६० रुपैयाँ जति कमाइ हुन्छ, त्यतिले बच्चालाई पढाउन सकिँदैन। त्यसैले मेरा चारवटै बच्चाले तालिम पाएका छैनन्। कुनै स्कूलमा पाँच सालसम्म पढन पाए हुनेथियो उनीहरूले। पढाइ एकदम जरुरी छ।”
***
२०६० सालको माघ महिना। हामी फेरि नेपालगञ्ज गयौँ। उपलक्ष्य र लक्ष्य उही। तर कौशरलाई सजिलै भेटेनौँ। उनलाई खोज्न हामी नेपालगञ्जका उर्दू शायरकहाँ गयौँ।
एक साँझ शायर अब्दुल लतिफ शौककहाँ पुग्यौँ। त्यहीँ रहेका अर्का शायर मौलाना अब्दुल जब्बार अन्सारीले हामीलाई यी शब्दले स्वागत गरे।
उनी मेरो घर आए
भगवानको कृपा भयो,
कहिले म उनलाई हेर्छु
कहिले आफ्नो घरलाई।
अब्दुल लतिफ शौकले हामीलाई नेपालगञ्जका उर्दू र नेपाली भाषी शायरबीचको सम्पर्कबारे बताए।
नरेन्द्रजंग पिटरसँग कुरा हुनुअघि हामीलाई यहाँ नेपाली (भाषाका) शायर छन् भन्ने थाहा थिएन। नेपाली भाषाका शायरलाई यहाँ उर्दूका शायर छन् भन्ने थाहा थिएन, लतिफले भने।
'नयाँ मुलुक' नेपालले फिर्ता पाउनुअघिसम्म नेपालगञ्ज शक्तिशाली र समृद्ध राज्य अवधको हिस्सा थियो जहाँ उर्दू भाषाको जन्म र विकास भयो। त्यसैले उर्दू भाषा अहिले पनि नेपालगञ्जका शायरको अभिव्यक्तिको माध्यम हो। शौकसँगको कुराकानीबाट हामीले यो कुरा थाहा पायौँ।
त्यसपछि हामीले कौशरबारे कुरा गर्याैं। “उनको आर्थिक स्थिति सधैँभरि कमजोर थियो। स्कूल पढ्थे। अहसर साबले गजलको मैदानमा ल्याउनुभयो उनलाई,” शौकले भने।
गरिबीले गर्दा कौशर भारतको बहराइचको गोन्डा बजार बसाइँ सरेछन्।
त्यसपछि हामीले कौशरका दाजुलाई भेट्यौँ। उनले कौशर र उनका अर्का भाइ आफ्नो भागमा परेको घर बेचेर गएको बताए।
कौशरका तीन दाजुभाइले नेपालगञ्जमा रहेको आफ्नो जग्गा अंशवण्डा गरेछन्। एकजनाका भागमा सात फिट मुख भएको जमिन परेछ। त्यसमा घर बन्ने कुरै भएन। त्यसैले कौशर र उनका एकजना दाइले आफ्नो भागमा परेको जग्गा बेचेछन्। अर्काे ठाउँमा जग्गा किन्न खोज्दा थाहा पाएछन् । आफूसँग भएको पैसाले घर बनाउन पुग्ने जग्गा नेपालगञ्जमा नपाइने रहेछ। त्यसैले उनी भारत सोझिएछन्।
त्यसको भोलिपल्ट हस्त, म, पत्रकार शरच्चन्द्र वस्ती अनि आरिफ अन्सारी कौशरलाई भेट्न गोन्डा हिँड्यौं।
रुपैडिया पुगेर बस अनि रिक्सा चढेर कौशरकहाँ पुग्दा कौशर पहिल्यै बजार निस्किसकेका रहेछन्। हामी आएको खबर कौशरलाई दिन उनका छोरा साइकल लिएर बजारतिर गए।
एकै छिनमा कौशर आइपुगे।
“कहाँ भागेको तिमी? चार दिनदेखि नेपालगञ्जमा तिमीलाई खोजेको खोज्यै गरेँ,” हस्तले कौशरलाई केरकार गरे झैं गरे मायालु पाराले, “तिमीले नेपालगञ्जको, हाम्रो माया मारेको ?”
“किन हुन्थ्यो। आफू जन्मेको ठाउँको माया लाग्दैन मलाई? त्यस्तै परेर पो यता आउनुपर्याे,” कौशरले भने।
त्यसपछि, कौशरले आफ्नो नोटबुक निकाले। उनको परिवार, उनका आठ-दस जना छिमेकी र हामीलाई गजल सुनाए।
दर्द दिलको बढाइदेऊ
चोट कुनै नयाँ दिइदेऊ।
हामीसँगको पहिलो भेटमा कौशरले एउटा एउटा पाना झिकेर त्यसमा लेखिएका गजल सुनाएका थिए। “लेख्यो, सुनायो, पछि हराउँछ, फेरि नयाँ लेख्यो,” उनले भनेका थिए। त्यसपछि हस्तले नेपालगञ्जका स्टेशनरी पसलमा पाइने सबैभन्दा राम्रो र ठूलो नोट बुक किनेर कौशरलाई दिएका थिए, अबदेखि आफ्ना शायरी यसैमा लेख्नु भनेर। त्यही नोट बुक पल्टाएर अर्काे शायरी गाए कौशरले।
उसले हाँसेर सभामा के दिई
सपनाको नयाँ शृंखला दिई
उसले आफ्नो अनुहार आजसम्म देखाएकी छैन
मुखले मात्रै सहारा दिई।
“हिजो नेपालगञ्जको स्नेह होटलमा सबै शायर आए। गजल सभा जम्यो, बेलुका ६ देखि १० बजेसम्म,” हस्तले भने।
“म मात्रै थिइनँ त्यहाँ,” कौशरले पछुतो र बाध्यता व्यक्त गरे।
हो, हिजो नेपालगञ्जमा हामीले पुरानादेखि नयाँ पुस्तासम्मका हाशिम अञ्जुम, मोहम्मद उमर अहसर, अब्दुल लतिफ शौक, मौलाना अब्दुल जब्बार अन्सारी र मोहम्मद कुरैसीका बान्की बान्कीका शायरी र गजल सुनेका थियौँ।
***
कौशरकी श्रीमती मन्त्रमुग्ध भएर कौशरका गजल र हामीसँगका कुरा सुनिरहेकी थिइन्। यता आएर ठीक भएको छ कि छैन भनेर हस्तले कौशरकी श्रीमतिलाई सोधे।
“ठीक त ठीक छ तर यो ठाउँ राम्रो लाग्दैन। मन सम्हालेर बसेकी छु। राम्रो लागे पनि, नराम्रो लागे पनि बस्नु त यहीँ परेको छ,” उनले भनिन्।
त्यसपछि कौशरले हामीलाई आफ्नाे जेठो छोरा चिनाए। उनले बाबुको बाटो पछ्याएनछन्।
“गाउन सिकिनँ। त्यसमाथि कामै काम छ। कति बेला गाउनु?,” १८-१८ वर्षमा पनि उनलाई गाउने, मनोरञ्जन गर्ने फुर्सद थिएन।
त्यसपछि माइला छोराको पालो आयो।
“ऊ गाउँछ। ठूल्ठूला कार्यक्रममा जान्छ। हजारौँ हजार मान्छेका बीचमा कति हो कति पटक गाइसकेको छ,” कौशरले गर्वका साथ भने।
माइला छोराले आफ्नो सुरिलो स्वरमा एउटा आध्यात्मिक गजल गाएः भगवानको गल्लीबाट मीठो बास्ना आएको छ ।
त्यसपछि कौशरले हामीलाई बजार घुमाउन लगे। कौशर र म एउटा रिक्सामा थियौँ। बाटोमा भने, नेपालगञ्जमा जग्गा लिन खोजेको थिएँ। तर भेटिनँ। एक लाख रुपैयाँ कठ्ठा, डेढ लाख रुपैयाँ कठ्ठा भन्छ।
उनीसँग विदा भएर, एउटा मीठो सम्झना लिएर हामी नेपालगञ्ज फर्कियौँ।
त्यसको १० वर्षपछि २०७० साल कात्तिकमा म सुर्खेतबाट काठमाडौँ आउँदै थिएँ। नेपालगञ्ज विमानस्थलमा अब्दुल लतीफ शौक र कौशर नेपालीसँग अचानक भेट भयो। उनीहरु काठमाडौँ जान लागेका रहेछन् नेपाल साहित्य महोत्सवमा उर्दू शायरी र गजल सुनाउन।
काठमाडौँ आइपुगेपछि उनीहरुलाई आयोजकले होटल लगे। हस्त गुरुङ पनि उनीहरु बसेको होटल पुगे। शौक र कौशरले शायरी र गजल सुनाउने कार्यक्रम संयोजनको जिम्मा हस्त गुरुङले पाएका रहेछन्। कार्यक्रम कसरी अघि बढाउने भनेर शौक र हस्तले कुराकानी गरे।
- उर्दुमा बोले हुन्छ ?
- उर्दूमा नबुझ्लान कि ? अवधीमा बोले हु्न्छ।
- धेरै कडा शब्द बोल्दिनँ। बुझ्ने शब्द बोल्छु।
यति कुराकानीपछि शौकको कुरा हस्तले काटेनन्। शौक र कौशर दुवैले बोलेका बेलामा सरल उर्दू बोल्ने सहमति भयो। त्यसपछि शौकले नेपालगञ्जमा शायरीको अभ्यासको अवस्था बताए।
“शायरी चल्दैछ तर पहिले जस्तो छैन। अलिकति कम भयो। मुशायरा (शायरी र गजल गर्ने सभा) गर्ने वातावरण पहिलाको जति छैन तर पनि साहित्यिक संस्था चलिरहेका छन्,” शौकले भने।
नयाँ पुस्ता यतातिर नलागेकोमा शौक अलि चिन्तित थिए। उनले भने, “उनीहरूका लागि मनोरञ्जनका अनेक साधन छन्। त्यसैले उनीहरु यतातिर लाग्दैनन।”
कौशरले भोलिपल्ट साहित्य सम्मेलनमा गाउने एउटा गजल अभ्यास गरे।
निश्छल तिम्रो मुटु !
किन अल्झियो ?
मेरो शरीर थर्थरी काम्यो
तर, मुखबाट बोली निस्केन।
त्यसपछि, शौक र हस्तबीच शौकका गजल संकलनबारे कुरा भयो।
- मेरा दुईवटा डायरी थिए। तिनमा तीन सौ, साढे तीन सौ गजल थिए। ती दुईवटै डायरी हराए। मसँग केही पनि बाँकी रहेन।
- केही त याद होलान नि?
- केही पनि याद छैन।
- पढ्नका लागि सानो डायरी लान्थें। त्यसमा ३०-३५ गजल सारेको थिएँ। त्यत्ति मात्रै बाँकी रहे।
- कसैले चोर्यो कि के भयो ?
- खै, थाहा भएन। दुईवटै डायरी घरबाट हराए। बाँकी बसेका ३०-३५ गजल र केही नेपाली गजल मिलाएर ‘महकते जख्म’ (बास्नादार घाउ) सम्झेर किताब निकालें। यसमा नेपाली गजल पनि छन्। नेपाली उति राम्रो जान्दिनँ। तैपनि कहीँ न कहीँ जोडेको छु। मैले किताबको नाम ‘मताय शौक’ (शौकको पूँजी) राखेको छु। सब हरायो। जो पूँजी बाँकी छ त्यो यही हो।
किताब उर्दू भाषामा थियो, अरेबिक लिपीमा, जुन हस्तले पढ्न सक्दैनथे।
त्यसैले शौकले त्यसको भूमिकाको सानो अंश पढेर सुनाए।
जिन्दगीका ७४ वसन्त र ७४ पतझड कहिले आए, कहिले गए थाहै पाइनँ। नयाँ दिनले नयाँ समस्यामा अल्झाउँदै गए। काँडा भरिएको बाटो हिँडाइरहे र म त्यसैमा हिँड्दै गएँ। जिन्दगी त्यसैमा रुमिलियो। तर हजुर, जिन्दगीसँग केही पनि गुनासो छैन किनभने यसले मलाई जहाँ दुःख दियो, त्यहीँ दुःखको ओखती पनि दियो। उदासी दियो त खुसी पनि दियो। आँशु दियो त मुस्कुराउने कला पनि दियो। काँडाको बिस्तरा दियो त त्यही काँडाको बिस्तरामा निदाउने निद्रा पनि दियो।
पक्कै पनि मलाई माया गर्ने शक्तिले आशिर्वाद दिएको हुनुपर्छ। उसको कृपा ममाथि परेको छ। यस जगतका मालिकप्रति हजार कृतज्ञ छु जसले मलाई असाध्यै दुःख पनि दियो। दुःख दिएभन्दा बढी उसले मलाई दया गर्यो। मलाई आशिर्वाद दियो। सबैभन्दा ठूलो कुरा, सबैभन्दा ठूलो उपहार त उसले मलाई शायरी दियो। शब्दसँग शब्द जोड्ने सीप दियो।
***
भोलिपल्ट साँझ महोत्सवको गजल कार्यक्रम शुरु भयो। गजल अक्सर साँझमै त हुने गर्छ। शौकले सबैभन्दा पहिले गजलबारे उति थाहा नपाएका काठमाडौँका स्रोतालाई बताए।
गजलबारे एउटा भनाइ प्रख्यात छः गजल भनेको मायालुसँग कुराकानी गर्ने शैली हो। बाँकी दुनियाँसँग यसको कुनै मतलब छैन। गजल सुफीसन्तको अखडाबाट शुरु भयो। पछि गएर राजा, बादशाह, नबाब र दरबारको शानको कुरा भयो यो।
त्यसपछि जनताको खुशी, दुःखसुख, सामाजिक र राजनीतिक सबै क्षेत्रमा यसले बर्चश्व जमायो। गजल सबै मान्छेको धड्कन बन्यो। हरेक मानिसको जनजिब्रोमा यो छायो।
शौकले गजल अहिले कहाँ छ भन्ने बारे एउटा शेर सुनाए।
प्रिया,तिमी आकाशको उँचाइबाट तल झर
हामीलाई धर्तीका समस्याबारे कुरा गर्नु छ।
“पहिले मायालूको कपालसँग खेल्ने शायर अब धर्तिका समस्या, सामाजिक दुःख, दिलको धड्कन, जिन्दगीका बेचैन, उमंग र खुशी महशुश गरेर शायरीमा ढाल्न लागे,” यति भनिसकेर शौकले मन्त्रमुग्ध दर्शकलाई शेर सुनाए।
शिशाले पनि पत्थर फुटाउँछ कहिलेकाहिँ
भाग्यले उल्टो खेल खेल्दो रहेछ कहिलेकाहिँ
कसैलाई सानो देखेर सानो नठान्नू
एक बूँद पनि समुद्र बन्छ कहिलेकाहिँ।
कौशरको पालो आयो। उनी आफूले राम्रो होला भनी कल्पना गरेको राजधानी शहर काठमाडौँमा आउन पाएकोमा दङ्ग परेका थिए। उनले भने, “म काठमाडौँ आएको यो पहिलो पल्ट हो। तपाईँहरूको मायाले गर्दा। कृतज्ञता कसरी प्रकट गरौँ ! मसँग कुनै शब्द छैन, वाक्य छैन।”
दर्द दिलको बढाइदेऊ
चोट कुनै नयाँ दिइदेऊ
मेरो बेचैनी बढेर गयो
मुहारबाट पर्दा हटाइदेऊ।
पहिले दिलले जे भन्छ त्यो मान
त्यसपछि जे सजाय दिन मन लाग्छ देऊ।
काठमाडौँका दर्शकले पहिले शौकलाई र पछि कौशरलाई उत्साहजनक प्रतिक्रिया दिए। पाका शौकले शेर भनेका बेलाभन्दा, जवान कौशरले गजल गाएका बेला दर्शकले अलि बढी उत्साह देखाएका थिए। त्यसैलाई प्रसंग बनाएका शौकले भने, “कौशर साब आफ्नो उमेरअनुसारको गजल गाउँछन्। म मेरो उमेर अनुसारको शेर पढ्छु। ”
बिजुली, तुफान, हत्यारा र डाँकु
कसकसको तपाईँ कुरा गर्नुहुन्छ?
एउटा छ ज्यान लाखौँ दुश्मन
कसकसको तपाईँ कुरा गर्नुहुन्छ?
सुफी, साधु, शेख अनि ब्राह्मण
कसकसको तपाईँ कुरा गर्नुहुन्छ?
सबले तोडे प्रेमको दर्पण
कसकसको तपाईँ कुरा गर्नुहुन्छ?
शौक र कौशर दुवैले नेपाली भाषामा पनि शेयर भने, गजल गाए।
रमाइलो, स्वादिलो साँझलाई शौक र कौशरले पालैपालो अघि बढाए। कौशरको एउटा स्वादिलो गजल सकिने बित्तिकै शौकले कार्यक्रम संयोजक हस्तलाई पर्खिएनन्।
“म थप गजल भन्न चाहन्छु उर्दूमा,” शौक बाेले।
“एउटा!” साँझ छिप्पिएर रात भइसकेकाले हस्तले भने।
“एउटा मात्र!” शौक सहमत भए।
सबै मानिसले घाउमाथि घाउ थप्दै गए
म मायाले भरिएको गीत गाउँदै गएँ।
पराई बनेर व्यबहार गर्छाै भने काम कसरी बन्छ?
साथी बनेर व्यबहार गर्दा पो काम बन्छ।
घृणाको अँध्यारो टाढियोस
त्यस्तो दियो दिलमा जलाए पो काम बन्छ।
आँशु पनि दिलको रगत हो, यसलाई पानी नसम्झ
यसलाई लुगाको फेरमा सजाऊ, अनि पो काम बन्छ।
त्यसपछि अन्तिम सौगात कौशरले प्रस्तुत गरे।
म ठान्छु मलाई माया गर्ने कोही पनि छैन
तिमीले एक पटक भन्देऊ न, म तँलाई माया गर्दिनँ’।
मैले त मायाको नियम बताएको मात्र हुँ
भगवान साक्षी, तिमीसँग कुनै विवाद छैन।
गल्ति नगर्ने मान्छे को छ र आज दुनियाँमा?
तिमीले मलाई श्राप देऊ वा आशिर्वाद।
तिमीले जे भने पनि म इन्कार गर्दिनँ
एक पटक भन न ‘तँलाई प्रेम गदिनँ ’।
नेपालगञ्जका शायरले काठमाडौँका स्रोताबाट गडगडाहट ताली पाए। नेपालगञ्ज र पारिपट्टि पूरै अवध क्षेत्रका दर्शकलाई वर्षाैँदेखि गजल सुनाए पनि काठमाडौँका दर्शकलाई पहिलो चोटि आफ्ना रचना सुनाउन पाएका सर्जकहरु दङ्ग परे।
“सबभन्दा ठूलो खुशीको कुरा, मेरा शेर दर्शकले मन लाएर सुने, दिलचश्पीका साथ सुने,” शौकले भने।
“मैले कहिल्यै सोचेको थिइनँ म काठमाडौँ आउँला भनेर। तपाईँहरूले माया गर्नुभयो। काठमाडौँमा आएर जति माया पाएँ त्यति अन्त कतै पाएको थिइनँ। मेरो खुशीको सीमा नै छैन,” कौशर पनि उत्तिकै दङ्ग थिए।
***
गजलको कुरा पढ्दा भन्दा स्रष्टाका मुखबाट शेर र गजलका साथमा सुन्दा पो मजा आउला भनेर यो सामग्रीको सुन्ने संस्करण तयार गरेका छौँ।
एक पटक सुनिदिनुहुन्थ्यो कि?
(हिमालमिडियाले निर्माण गरिरहेको र डिसहोम (सरोकार च्यानल, १३०) बाट प्रत्येक साता सोमबार राति ८ः३० बजे प्रसारण भइरहेको भिडिओ म्यागजिन ‘सग्लो समाज’को २२औं अंक ‘महकते स्वर : नेपाली उर्दू गजल’मा आधारित सामग्री।)