ठाकुरले साथ छाड्ने भएपछि यादवले मागे कांग्रेसको समर्थन
प्रदेश २ सरकार फेरबदल गर्ने विषयमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीबीच छलफल भएको छ।
शुक्रबार बिहान बानेश्वरस्थित निधीको निवासमा भएको छलफल प्रदेश २ मा सत्ता साझेदारीका विषयमा छलफल केन्द्रित रहेको स्रोतले जनाएको छ।
जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने पक्कापक्की जस्तै भएपछि निधी निवासमा पुगेर जसपा अध्यक्ष यादवले कांग्रेसलाई प्रदेश २ सरकारमा सहभागी हुन आग्रह गरेका हुन।
कांग्रेस उपभापति निधिले मुख्यमन्त्री दिन प्रस्ताव गरेको उनको सचिवालय स्रोतले जनाएको छ। “अध्यक्ष यादवजीले प्रदेश २ सरकारमा सहभागी हुन आग्रह गुर्नभएको थियो। उपसभापतिजीले मुख्यमन्त्री दिन प्रस्ताव गर्नु भयो,” निधीको सचिवालय स्रोतले भन्यो।
प्रदेश २ मा लालबाबु राउतको नेतृत्वमा जसपाको सरकार छ। केन्द्रमा जसपा एउटै भए पनि प्रदेश २ को संसद्मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बेग्लाबेग्लै छन्।
समाजवादी पार्टीका राउतलाई राष्ट्रिय जनता पार्टीले समर्थन जनाइरहेको छ।
अहिले जसपामा देखिएको विवादका कारण प्रदेश २ सरकार संकटमा पर्न लागेको छ। राजपाले समर्थन फिर्ता लिँदा मुख्यमन्त्री राउत अल्मतमा पर्छन्।
त्यसैले जसपा अध्यक्ष यादवले सरकारमा सहभागी हुनका लागि कांग्रेस उपसभापति निधीलाई प्रस्ताव गरेका हुन्। बिहीबार भएको छलफलमा सरकारमा सहभागी हुने विषयमा निधी सराकात्मक देखिएको जनाएको छ।
निधीले प्रदेश २ मा मुख्यमन्त्री दिन माग गरेका छन्। कांग्रेसले नेतृत्वमा पाएमा रामसरोज यादव मुख्यमन्त्री हुनेछन्। अहिले प्रदेश संसदीय दलका नेता रहेका यादव कांग्रेस धनुषाका सभापति हुन्।
निधीले मुख्यमन्त्रीको माग गरे पनि यादवले भने पहिले सरकारमा सहभागी हुन आग्रह गरेका थिए। “पहिले सरकारमा सहभागी हुनुहोस्। त्यसपछि अरू विषयमा छलफल गरौला,” यादवको भनाइ उदृद्ध निधीको सचिवालयले भन्यो।
प्रदेश २ को प्रदेश सभामा १०७ सदस्य छन्। जसमा समाजवादीका ३०, राजपाका २५, नेकपा (एमाले)का २१, नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ८ र नेपाल संघीय समाजवादी पार्टीका एक सदस्य छन्।