रवीन्द्र अधिकारीको नाम राख्न लागेको विमानस्थललाई ५ करोड
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुकेटार विमानस्थलको जग्गा अधिग्रहणको लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ।
जग्गा अधिग्रहण गरी ४२ सिट क्षमतासम्मका जहाज अवतरण गर्न सक्ने बनाउने पर्यटन मन्त्रालयले जनाएको छ। उक्त विमानस्थलमा अहिले साना जहाज मात्रै अवतरण गर्छन्। हाल विमानस्थल ७२० मिटर लम्बाइको छ।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा सुकेटर विमानस्थलको नाम परिवर्तन गरेर ‘रवीन्द्र अधिकारी विमानस्थल’ राख्ने उल्लेख गरिएको छ।
सरकारको यो निर्णयमा स्थानीयबासी र सरोकारवालाले विरोध गरेका छन्। ताप्लेजुङबाट निर्वाचित एमाले सांसद् योगेश भट्टराईले समेत सरकारको निर्णयमा आपत्ति जनाएका छन्।
१५ फागुन २०७५ मा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो।