निषेधाज्ञाबीच तराईमा शुरू भयो रोपाइँ
कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको भए पनि पानी पर्न थालेपछि तराईमा रोपाइँ शुरू भएको छ। यो वर्ष समयमै पानी परेकाले जेठको मध्यबाटै रोपाइँ गर्न थालिएको हो।
ढिलोगरी रोपाइँ हुने सुदूरपश्चिममा यस वर्ष भने जेठको तेस्रो साताबाटै किसानहरू खेतमा देखिन थालेका छन्। कैलालीको गोदाबरी नगरपालिका-४ का माधव चौधरीले निषेधाज्ञा भए पनि शुक्रबारबाट रोपाइँ शुरू गरेको बताए।
समयमै रोपाइ गर्न पाएपछि कोरोनाको डर पनि हराएको उनी सुनाउँछन्। “कोरोनाका कारण सबै मान्छे घरभित्रै बस्नुपर्ने अवस्था छ। काममा बाहिर जानु नपरेपछि रोपाइँ गर्न सजिलो भएको छ,” उनले भने, “रोजगारीका लागि बाहिर हुनेहरू पनि यो वर्ष घरमै छन्।”
रोपाइँ शुरू गरे पनि मलको भने अभाव भएको धनगढी नगरपालिका–६ जाली गाउँका रामप्रसाद चौधरीले बताए। “यो वर्ष चाँडै रोपाइँ शुरू गरेका छौं, तर मलखादको समस्या भएको छ। सहकारी भएको गाउँमा त सजिलो होला,” उनी भन्छन्।
सुदूरपश्चिमको तराइमा मात्रै होइन, पहाडी क्षेत्रमा पनि रोपाइँ शुरू भएको छ। डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ का खडकबहादुर बोहराले यस वर्ष छिट्टै पानी परेकाले रोपाइँ गर्न सजिलो भएको बताए।