अमेरिकाले २ करोड ५० लाख खोप विश्वभर बाँड्ने, नेपाल पनि सूचीमा
अमेरिकाले पहिलो चरणमा २ करोड ५० लाख कोरोनाविरुद्धको खोप विश्वभर बाँड्ने भएको छ।
बिहीबार अमेरिकी राष्ट्रपति जोई बाइडेनले विश्वभरबाट कोरोना उन्मुलन गर्न खोप अभियान थाल्ने प्रतिबद्धता जनाएको ह्वाइट हाउसले जनाएको छ।
कोरोना नियन्त्रणको लागि ८ करोड खोप विभिन्न देशलाई उपलब्ध गराउने अमेरिकाको तयारी छ। त्यसमध्ये पहिलो चरणमा २ करोड ५० लाख खोप जुनको अन्त्यसम्म उपलब्ध गराउने जनाएको हो।
अमेरिकाले ७५ प्रतिशत खोप चाहिँ कोभ्यास मार्फत उपलब्ध गराउने जनाएको छ। पहिलो चरणमा एशियाली मुलुकको लागि ७० लाख डोज खोप छुट्याइएको छ। जसमा नेपाल, भारत, बाङ्लादेश, पाकिस्तान, श्रीलंका, थाइल्याण्ड, ताइवानलगायत १६ देश छन्।
त्यस्तै ६० लाख मध्य र दक्षिण अमेरिकी राष्ट्रका लागि छुट्याएको छ। ५० लाख डोज अफ्रिकी मुलुकलाई दिने अमेरिकी योजना छ। ६० लाख डोज खोप चाहिँ क्षेत्रीय र विकास साझेदारको लागि छुट्याएको छ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले पाउने खोपको मात्रा एकीन नभएको बताए। उनले भने, “अहिलेसम्म पाउने मात्रा एकीन नभए पनि पहिलो चरणमै नेपाल प्राथमिकतामा परेको छ।”