‘भेरिएन्टको कुनै देश हुँदैन’
बुधबार १९ जेठको अंकमा बेलायती ट्याबलोइड ‘डेली मेल’ दैनिकले कोरोना भाइरसको ‘नेपाल भेरिएन्टले बेलायती नागरिकको छुट्टीमा भय सिर्जना गराएको’ रिपोर्टलाई आवरणमै प्रकाशित गर्यो। सरकारी सञ्चार माध्यम बीबीसी यूकेले पत्रिकामा प्रकाशित उक्त समाचारलाई विश्वभर फैलाउन मद्दत गर्यो।
वैज्ञानिक रुपमा अप्रमाणित तथ्यविना नै प्रकाशित ‘डेली मेल’को समाचारप्रति सामाजिक सञ्जालमा धेरैले ति सञ्चार माध्यमको आलोचना गरे। नेपाल सरकारले समेत बेलायतलाई यसको आधिकारिकतबारे जिज्ञासा राखेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नेपाल कार्यालयले बिहीबार उक्त समाचारलाई खण्डन गर्दै हालसम्म नेपालमा नयाँ भेरिएन्ट नभेटिएको बतायो। डब्लुएचओकाअनुसार, हाल नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरिएन्ट मात्र पाइएको छ।
महामारीले दैनिक औसतमा सय जनाभन्दा बढीको ज्यान गइरहेको, उपचारमा अनेक सास्ती भोगिरहेको नेपालमा नयाँ ‘नेपाल भेरिएन्ट’ पाइएको अफवाहले हामीलाई के असर गर्छ किन यस्ता भेरिएन्टबारे बोल्दा, लेख्दा हरेकले संवेदनशीलता अपनाउनुपर्छ? यी र यस्ता विषयमा जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितसँगको कुराकानीको सारः
पहिलो पटक कोरोना फैलिंदा तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘चाइना भाइरस’ भने। ‘सार्स कोभ २’ पहिलो पटक चीनको वुहानमा देखिएका कारण ‘चाइना भाइरस’ भन्दा पूरै चीनलाई गाली गरेजस्तो लाग्यो। चीनले कडा शब्दमा त्यसको निन्दा गर्यो।
वास्तवमा भाइरस र भेरिएन्ट कुनै देशको हुँदैन। एउटा भाइरसले थुप्रै भेरिएन्ट बनाउँछ। भेरिएन्ट जुन देशमा पत्ता लागेको भए पनि त्यही देशमा उत्पत्ति भएको भन्ने ग्यारेन्टी हुँदैन। त्यसैले भेरिएन्टलाई देश होइन वैज्ञानिक नामबाट सम्बोधन गरिनुपर्छ। सबै भाइरस र भेरिएन्टको नाम विश्व स्वास्थ्य संगठनले राखेको छ। अंक र अक्षरबाट चिन्ने संकेत दिइएका छन्।
अहिले भारतमा पनि तीनवटा फरक भेरिएन्ट पत्ता लागेको छ। विभिन्न देशमा विभिन्न समयमा विभिन्न प्रकारका भाइरस र तिनका भेरिएन्ट फेला पर्दै आएका छन्।
अहिले नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्ट भनेर बेलायती सञ्चार माध्यममा आएका समाचार अफवाह बाहेक केही होइन। नेपालमा नयाँ भेरिएन्ट पत्ता लागेकै छैन। आधिकारिक निकायले नयाँ भेरिएन्ट भेटिएको भनेकै छैन। यसबारे अनुसन्धान भएको छैन। नेपालबाट विदेशमा परीक्षणका लागि लगिएका ‘स्याम्पल’मा पनि नयाँ भेरिएन्ट पाइएको छैन। त्यसैले त्यो समाचार पूरै भ्रामक हो।
भाइरस र भेरिएन्ट कुनै देशको हुँदैन। एउटा भाइरसले थुप्रै भेरिएन्ट बनाउँछ। भेरिएन्ट जुन देशमा पत्ता लागेको भए पनि त्यही देशमा उत्पत्ति भएको भन्ने ग्यारेन्टी हुँदैन। त्यसैले भेरिएन्टलाई देश होइन वैज्ञानिक नामबाट सम्बोधन गरिनुपर्छ।
भाइरसको सतहमा प्रोटिन हुन्छ। त्यो प्रोटिनमा अलिकति परिवर्तन हुँदा भेरिएसन बन्छ। त्यसैलाई भेरिएन्ट भनिन्छ। भेरिएन्ट भनेको ‘जिनेटिक लेभल’मा थोरै परिवर्तन मात्र हो। भाइरसको प्रोटिन नै परिवर्तन भयो भने चाहिँ भाइरस उत्परिवर्तन (म्यूटेड) हुन्छ।
जस्तो वुहानमा देखिएको र अहिलेको भेरिएन्टमा फरक छ। तर, ‘सार्स कोभ २’ ले संक्रमण गर्ने फोक्सोमा, छातीमा हो। यसको सबै भेरिएन्ट शरीरमा प्रवेश गर्ने नाक, मुखबाटै हो। तर, अहिलेको भेरिएन्ट वुहानमा पाइएको भन्दा बढी संक्रामक छ।
कोराना भाइरसको महामारीले आक्रान्त पारेका बेला, यो देश, त्यो देशका भाइरस, भेरिएन्ट भन्ने कुरा नगरौं। विज्ञान विपरीतका अफवाहमा नफसौं। एकअर्काका देशलाई अपमान गर्ने काम नगरौं। संवदेनशील बनौं।