ब्ल्याक फंगसबाट कैलालीमा एक जनाको मृत्यु
ब्ल्यांक फंगस (कालो ढुसी)को संक्रमणबाट कैलालीमा एक जनाको मृत्यु भएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको बर्दगोरिया गाउँपालिका-६ तुलसीपुरका ६५ वर्षीय बृद्धको बिहीबार मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
ब्ल्याकं फंगसको लक्षण देखिएपछि ‘बायोप्सी’ गरिएको थियो। परीक्षण गर्दा ब्ल्याक फंगस पुष्टि भएको श्रेष्ठले बताए। ब्ल्याकं फंगसबाट मृत्यु भएको नेपालमा पहिलो घटना हो।
स्वास्थ्यमा समस्या आएपछि उनलाई १७ जेठमा अस्पताल भर्ना गरिएको थियो। उनको मिर्गौलामा समस्या देखिएको थियो। कोभिड-१९ रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ।
अक्सिजन लेभल एकदमै कम भएपछि आईसीयूमा राखेर उपचार थालिएको थियो। उपचारका क्रममै आज बिहान ७ बजे मृत्यु भएको अधिकारीले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा १० जनामा ब्ल्याक फंगस देखिएको छ।