आइएमई फाउन्डेसनद्वारा तीन करोड बराबरको स्वास्थ्य उपकरण सहयोग
आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि तीन करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण सरकारलाई प्रदान गरेको छ।
आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन्।
फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल, पोखरा, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, सेती प्रादेशिक अस्पताल, धनगढी र निजामती कर्मचारी अस्पताल, काठमाडौंलाई ८० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो।
त्यसैगरी, फाउन्डेसनले जनता स्वास्थ्य केन्द्रद्वारा सञ्चालित आइसोलेसन सेन्टरलाई १५ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।
यसका अतिरिक्त फाउन्डेसनले टेकु अस्पतालमा १ करोड २८ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ।
यसअघि फाउन्डेसनले वैदेशिक रोजगारीमा रहँदा देहावासन भएका घरपरिवारहरूको सहयोगार्थ ‘भरोसा कोष’ को स्थापना गरी एक सय परिवारलाई प्रतिव्यक्ति रु. ५८ हजारका दरले करीब ६० लाख राहत उपलब्ध गराएको थियो।