यस्तो छ आजबाट लागू हुने अन्तर्राष्ट्रिय उडान तालिका
कोभिड-१९ महामारी नियन्त्रणका लागि भन्दै सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ। आजबाट भने तीन देशका लागि विशेष अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएका छन्।
मन्त्रिपरिषद्को १३ जेठको बैठकले भारत, कतार र टर्कीका लागि विशेष उडान गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले आजबाट लागू हुने गरी विशेष उडान तालिका बनाएको प्राधिकरणका उडान अनुमति शाखाका उप-प्रबन्धक ज्ञानेन्द्र भुलले जनाएका छन्।
प्राधिकरणले जारी गरेको विशेष उडान तालिका अनुसार तीन देशमा सातामा पाँच वटा उडान हुने भएका छन्। नेपाल एयरलाइन्स, टर्किस एयरलाइन्स, कतार एयरवेज र एयर इन्डियाले उडान गर्ने उप-प्रबन्धक भुलले जनाएका छन्।
आजबाट नेपाल-टर्की उडान सञ्चालन हुनेछ। आज टर्किस एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाठौं आउनेछ। त्यस्तै, आजै राति ११ः०५ बजे इस्तानबुल फर्किनेछ। हरेक बिहीबार इस्तानबुल-काठमाडौं-इस्तानबुल उडान हुने प्राधिकरणले जनाएको छ।
त्यस्तै, २४ जेठबाट हरेक सोमबार नेपाल-कतार उडान हुने भएको छ। नेपाल एयरलाइन्सले काठमाडौंबाट दोहाका लागि उडान गर्ने तालिका रहेको छ। हरेक सोमबार नेपाल एयरलाइन्सको जहाजको काठमाडौं-दोहा-काठमाडौं उडान तालिका रहेको छ।
२४ जेठबाटै कतार एयरवेजको जहाजले दोहा-काठमाडौं उडान गर्ने भएको छ। कतार एयरवेजको हरेक सोमबार दोहा-काठमाडौं-दोहा उडान तालिका निर्धारण गरिएको छ।
यसैगरी नेपाल एयरलाइन्सले हरेक बुधबार काठमाडौं-दिल्ली-काठमाडौं उडान गर्ने भएको छ। त्यस्तै, भारतको एयर इन्डियाले हरेक शुक्रबार दिल्ली-काठमाडौं-दिल्ली उडान गर्ने तालिका तय गरिएको प्राधिरकणले जनाएको छ।
प्राधिकरणले जारी गरेको विशेष उडान तालिका :