यस्ताे छ नेपाली महिलाको 'अन्नपूर्ण खुशी'
पुरुषहरूको ठूलो वर्चश्व भएको पर्वतारोहणमा नेपाली महिलाहरू पनि दृढ निश्चय र अठोटका साथ अगाडि आइरहेका छन् ।
यो वर्षको वसन्तकालीन पर्वतारोहण सिजन नेपाली महिला आरोहीका लागि ठूलै उपलब्धिको सिजन बन्यो। गएको ३ वैशाखमा ६ जना नेपाली महिलाले अन्नपूर्ण प्रथम (८०९१ मि) को चुचुरोमा पुगेर इतिहास बनाए। त्यसदिन अरू देशका ६ महिलाले पनि उक्त शिखरको आरोहण गरेका थिए।
ओखलढुङ्गाकी माया शेर्पा, दोलखाकी दावा याङजेन शेर्पा र दावा फुटी शेर्पा, काभ्रेकी शर्मिला तामाङ, सोलुखुम्बुकी पासाङ ल्हामु शेर्पा र गोरखाकी पूर्णिमा श्रेष्ठ हिमाल आरोहणमा निकै कठिन र जोखिमपूर्ण मानिने अन्नपूर्ण प्रथमको शिखर टेक्ने पहिलो नेपाली महिला आरोही हुन्। यही सिजनमा भारतीय महिला आरोही प्रियंका मंगीस मोहितले पनि अन्नपूर्ण प्रथमको चुचुरोमा पाइला टेक्ने पहिलो भारतीय महिलाको इतिहास रचेकी छन्।
अन्नपूर्ण प्रथमका लागि ३ वैशाख २०७८ अर्को एउटा उपलब्धिका कारण पनि ऐतिहासिक रह्यो। त्यो एकैदिन यो हिमालको चुचुरोमा ६८ जनाले पाइला टेके। यसअघि १९ वैशाख २०७३ मा एकैदिन ३२ जनाले अन्नपूर्ण प्रथमको आरोहण गरेका थिए।
अन्नपूर्ण प्रथम कमैले आरोहण गरेको हिमालमध्ये पर्दछ। १७ जेठमा पर्यटन विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार अन्नपूर्ण प्रथमको शिखरमा हालसम्म ३० महिलासहित ३७४ जनाले मात्र पाइला टेकेका छन्। यसमा १०४ जना नेपाली छन्। जबकि गत सिजनसम्म सगरमाथा आरोहण गर्नेको संख्या ६ हजार ५०७ पुगेको छ।
अन्नपूर्ण प्रथमको सफल आरोहण सगरमाथाभन्दा पहिल्यै भएको हो। यो हिमालको पहिलो आरोहण ३ जुन १९५० (२१ जेठ २००७) मा दुई फ्रान्सेली पर्वतारोही मोरिस हेर्जोग र लुई लाशनालले गरेका थिए। यो अन्नपूर्ण प्रथमको मात्र होइन, आठ हजार मिटर माथिको हिमालकै पहिलो आरोहण थियो।
अन्नपूर्ण आरोहणको तीन वर्षपछि मात्र २९ मे १९५३ (१६ जेठ २०१०)मा सगरमाथा आरोहण भएको हो। त्यो बेला नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलरी विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्न सफल भएका थिए।
अन्नपूर्ण प्रथमको पहिलो आरोहण गर्ने नेपालीको कीर्तिमान चाहिँ सोनाम ओलाङ शेर्पाको नाममा छ। उनी १३ अक्टोबर १९७७ (२७ असोज २०३५) मा यो चुचुरोमा पुगेका थिए। नेपाली महिलाको तर्फबाट यो कीर्तिमान गएको ३ वैशाखमा बन्यो। यसअघि सन् १९७८ मा अमेरिकाकी अरिन मिलर र चेकोस्लोभाकियाकी भीरा कोमार्काेभा अन्नपूर्ण प्रथमको चुचुरोमा पुग्ने पहिलो महिला आरोही बनेका थिए।
जोखिम उठाउने रहर
हिमाल चढ्ने काम सजिलो होइन। त्यसमाथि आरोहणको लामो इतिहास भए पनि कमैले चढेको अन्नपूर्ण प्रथम आठ हजार मिटरमाथिको जोखिमपूर्ण हिमालको रूपमा चिनिन्छ। छिनछिनमा खस्ने हिउँ पहिरो, परिवर्तन भइरहने मौसम र हावाको तीव्र वेग अन्नपूर्ण प्रथम आरोहीका लागि प्रमुख चुनौती हुन्।
तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि) चढेकी ओखलढुङ्गाकी माया शेर्पाले पाकिस्तानस्थित विश्वको दोस्रो अग्लो हिमाल माउण्ट के–टु (८६११ मि), नेपालकै कञ्चनजङ्गा (८५८६ मि), चोयु (८१८८ मि) र मनास्लु (८१६३ मि) आरोहण गरेकी छन्। हिमाल आरोहणको १६ वर्षको अनुभव भएकी र आठ हजार मिटर माथिका ६ वटा हिमाल चढेकी मायालाई पनि अन्य हिमालभन्दा अन्नपूर्ण प्रथम जोखिमपूर्ण लाग्यो।
निकै ठाडो उकालो हिँड्नुपर्ने, स–साना हिउँ पहिरो गइरहने र आरोहीको सङ्ख्या कम हुने भएकोले अन्नपूर्ण प्रथम जोखिमपूर्ण लागेको उनी बताउँछिन्। “आरोहीको सङ्ख्या धेरै हुँदा एक अर्कालाई सहयोग र ‘रोप’ को सहायतामा हिँड्न सजिलो हुन्छ,” उनी भन्छिन्, “तर, अन्नपूर्ण अरू हिमालको तुलनामा विल्कुल भिन्न थियो ।”
हुन त हरेक हिमाल चढ्दा उनलाई फरक अनुभव हुने गर्दछ। “कुनै पनि हिमाल चढ्नु सुनेजस्तो सजिलो हुँदैन। तर उद्देश्य लिएर अघि बढेपछि चुचुरोमा पुगिन्छ,” उनी भन्छिन्, “अब त जोखिमसँग खेल्ने बानी भइसक्यो। हिमाल चढ्नु भनेको मनको रहर पूरा गर्ने मात्र नभएर महिलाले गर्न नसक्ने केही छैन भनेर देखाउने अवसर पनि हो।”
गोरखाकी पूर्णिमा श्रेष्ठलाई पनि तुरुन्त मौसम बदलिइरहने, आरोहणका प्राविधिक काम आफैँ गर्नुपर्ने लगायत धेरै कुराले तुलनात्मक रूपमा अन्नपूर्ण प्रथम जोखिमपूर्ण लाग्यो। यसअघि सगरमाथा, मनास्लु र आमादब्लम (६८१२ मि) आरोहण गरेकी पूर्णिमा जोखिममा आफूलाई प्रमाणित गर्न हिमाल चढ्ने गरेको बताउँछिन्। “कुन हिमाल कति जोखिमपूर्ण छ भन्ने पनि आफू नचढी थाहा हुँदैन,” उनी भन्छिन्, “जोखिममा सफल हुँदा छुट्टै आनन्द लाग्छ। आफैँले भोगेर अप्ठ्यारो पार गर्दा आत्मविश्वास र ऊर्जा बढ्छ।”
प्रेरणादायी काम
हिमाल आरोहणको क्षेत्रमा पुरुषको तुलनामा महिलाको उपस्थिति कम छ। आरोही मात्रै होइन ट्रेकिङ/टुर गाइड, प्रशिक्षक, अन्य सहयोगी लगायतका पेशामा पनि महिलाहरू नगण्य छन्।
पर्यटन विभागका निर्देशक मोहनबहादुर जिसी समग्रमा हिमाल आरोहण गर्ने महिलाको सङ्ख्या १० प्रतिशत पनि नभएको बताउँछन्। “पुरुषको तुलनामा निकै कम त हो, तर पनि पछिल्ला वर्षमा महिला आरोहीको सङ्ख्या केही बढेको देखिन्छ,” उनी भन्छन्, “अन्य क्षेत्रजस्तै जोखिमपूर्ण र साहसिक क्षेत्र पर्वतारोहणमा महिला सङ्ख्या बढ्दै जानु खुशीको कुरा हो।”
पछिल्लो समय धेरै महिलाले हिमाल आरोहणलाई रहर र सोखको रूपमा पनि अगाडि बढाइरहेका छन्। कतिले विभिन्न कीर्तिमान बनाएर आफू र देशलाई विश्वमा चिनाएका छन्। त्यस्तै कीर्तिमान यो वर्ष नेपाली महिलाले अन्नपूर्ण प्रथममा बनाए।
आरोहणका क्रममा परिवारबाट लामो समय टाढा बस्नु त पर्छ नै, शारीरिक र अन्य चुनौती पनि सामना गर्नुपर्छ। तर पनि धेरै आमाहरूले समेत आरोहणलाई निरन्तरता दिएका छन्। यो सिजनमा अन्नपूर्ण प्रथम चढेका माया, पासाङ ल्हामु र शर्मिलाका स–साना बच्चा छन्।
मातृवात्सल्यमा रमाउनुपर्ने बेला यस्तो जोखिपूर्ण काम गर्न उनीहरूलाई केले प्रेरित गर्यो त? माया भन्छिन्, “पहिल्यैदेखि गरिआएको काम हो, नयाँ–नयाँ हिमाल नचढी त मनै मान्दैन।”
घरमा साना बच्चा छोडेर हप्तौँको जोखिमपूर्ण यात्रा गर्दा कहिलेकाहिँ मन नआत्तिने होइन। परिवार र बच्चाको यादले छिनछिनमा झस्काइरहन्छ। “हामी आमाहरूले आँटिलो काम गरे पो छोराछोरीले पनि आँटिलो काम गर्न सिक्छन्”, माया भन्छिन्, “साहसिक क्षेत्रमा महिलाको गर्विलो उपस्थितिले सबै क्षेत्रमा महिलाको उपस्थिति बढाउन बल पनि पुर्याउँछ।”
आरोहणका सहयोगीमा महिला कम हुने हुँदा असहज पनि महसूस हुन्छ। टेन्टदेखि शारीरिक र मानसिक कुरा शेयर गर्न महिला भइदिए हुन्थ्यो भन्ने पूर्णिमालाई पनि लाग्छ, तर त्यही कुराले आरोहणमा असर पार्दैन। उनलाई तीन वटा हिमाल चढ्दा महीनावारी भएको थियो, तर सामान्य अवस्थामा थोरै कमजोर महसूस हुने भए पनि आरोहणका बेला केही भएन। उनी भन्छिन्, “महीनावारीभन्दा अरू कुराले बढी गाह्रो हुने हुँदा त्यो नगण्य भइदिन्छ। आरोहणका लागि शारीरिक र मानसिक रूपमा स्वस्थ चाहिँ हुनुपर्छ ।”