अन्नपूर्ण आरोहणको त्यो ऐतिहासिक दिन
आजकै दिन ३ जुन १९५० मा फ्रान्सका मोरिस हेर्जोग र लुई लाशनालले संसारमै पहिलोपटक आठ हजार मिटरभन्दा माथिको अन्नपूर्ण प्रथमको सफल आराेहण गरे। त्यही ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष ३ जुनलाई अन्नपूर्ण आरोहण दिवसको रूपमा मनाइन्छ।
विश्वको सर्वोच्च शिखर भएकोले सगरमाथा (८८४८.८६ मि) को चर्चा बेलाबेलामा भइरहन्छ । तर नेपालमा सगरमाथाका अतिरिक्त आठ हजार मिटरमाथिका विश्व मान्यताप्राप्त अरू सात हिमाल पनि छन्ः कञ्चनजङ्गा (८५८६), ल्होत्से (८५१६), मकालु (८४६३), चो यु (८२०१), धवलागिरी (८१६७), मनास्लु (८१६३) र अन्नपूर्ण प्रथम (८०९१) । पछिल्ला अध्ययनबाट कञ्चनजङ्गा नजिकै यालुङ्ग काङ्ग (८५०५ मि) लगायत् आठ हजार मिटरमाथिका अरू हिमाल समेत् पत्ता लागे पनि तिनले विश्व मान्यता पाइसकेका छैनन् ।
हिमाल जगतमा कमै चर्चा हुनेगरेको अन्नपूर्ण प्रथम विश्वका आठ हजार मिटरमाथिका १४ हिमालमध्ये १०औँ स्थानमा छ। आठ हजारमाथिका हिमालको पहिलो सफल आरोहणको कीर्तिमान राखेकोले अन्नपूर्ण प्रथमलाई ‘जेठो हिमाल’ पनि भनिन्छ ।
३ जुन १९५० आजकै दिन फ्रान्सका मोरिस हेर्जोग र लुई लाशनालको आरोहणपछि अन्नपूर्ण प्रथमले हिमाल आरोहणमा नयाँ युग शुरू गरेको थियो। यसअघि धेरै प्रयास भएपनि आठ हजार मिटरमाथिका कुनै हिमालमा मानव पाइला पुगेका थिएनन्। त्यही ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष ३ जुनलाई अन्नपूर्ण आरोहण दिवसको रूपमा मनाइन्छ । यद्यपि पछिल्ला दुई वर्ष कोभिड–१९ को महामारीले गर्दा पर्वतारोहण र पदयात्रा क्षेत्रका सरोकारवालाहरूले ठूला कार्यक्रम गर्न नसके पनि यो दिनको सम्झना गरिरहेका छन्।
अन्नपूर्ण पाकिस्तानदेखि भारत, नेपाल भूटान हुँदै पूर्वोत्तर भारतसम्म फैलिएको हिमालय श्रृङ्खलाको मध्यनेपालमा पर्ने हिमश्रृङ्खला हो।
यो श्रृङ्खलामा अन्नपूर्ण प्रथम (८०९१ मि) लगायत् आठ हजार मिटरमुनिका धेरै हिमाल पर्दछन्। उत्तर–पश्चिममा निलगिरी (७०६१) देखि उत्तर–पूर्वमा लमजुङ हिमाल (६९८३)बीचको यो श्रृङ्खलामा तिलिचो पिक (७१३४), बराहचुली (७६४७), अन्नपूर्ण साउथ (७२१९), गंगापूर्ण (७४५४), काङ्सार (७४८५), तारेकाङ् (७०६९), अन्नपूर्ण तेस्रो (७५५५), अन्नपूर्ण चौथो (७५२५), अन्नपूर्ण दोस्रो (७९३७) र साथमा माछापुच्छ्रे (६९९७) लगायत् सात हजार मिटरमुनिका तथा ६ हजार मिटर र त्योभन्दा तलका दर्जनौँ हिमशिखर र चुली पनि छन् ।
नेपालमा हिमाल आरोहण एवम् पर्यटन गतिविधिको सूत्रपात नै अन्नपूर्ण प्रथमको आरोहणपछि सन् १९५० को दशकबाट भएको मानिन्छ। नेपालमा सन् १९५१ मा प्रजातन्त्रको स्थापनापछि मात्रै विधिवत विदेशी पर्यटकको आगमन खुला भएको हो। सन् १९५३ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपछि त नेपालको पर्वतीय पर्यटनले विश्वलाई ब्युँझाइदिएको थियो ।
सन् १९५० मा अन्नपूर्ण प्रथममा पहिलो पाइला टेक्ने मोरिस हेर्जोग र लुई लाशनालको समूहले धौलागिरी हिमालको परिक्रमा गर्दै निलगिरीको फेदी भएर म्याग्दीस्थित अन्नपूर्णको उत्तरी आधार शिविरबाट आरोहण गरेको थियो।
आठ हजार मिटरमाथिको कीर्तिमानी आरोहणको एक वर्षपछि नै हेर्जोगले अन्नपूर्ण आरोहणको नालिबेलीसहित अन्नपूर्ण नामक पुस्तक लेखे । अर्को वर्ष अङ्ग्रेजी संस्करण पनि निस्केपछि पुस्तकले विश्वमा तहल्कै मच्चाएको थियो। अन्नपूर्ण आज पनि धेरै भाषामा प्रकाशित र धेरै बिक्री हुने पुस्तकमध्ये गनिन्छ ।
सन् १९५० पछि २० मे १९७० मा बेलायती आरोही दलका एम.डब्लु. हेनरी र गेरी एफ. ओवेन्सले दक्षिणी मोहडाबाट र त्यसको सात दिनपछि २७ मेमा बेलायतकै आरोही डोनल्ड विलियन्स र डोउगल हास्टनले उत्तरी मोहडाबाट अन्नपूर्ण प्रथमको आरोहण गरेका थिए। अन्नपूर्णको शिखरमा पहिलो नेपाली पाइला चाहिँ सोनाम ओलाङ शेर्पाले टेकेका थिए। उनले १३ अक्टोबर १९७७ मा नेदरल्याण्ड्सका आरोही म्याथ्यु एच. जे. भानसँगै अन्नपूर्ण शिखरको आरोहण गरेका थिए।
अन्नपूर्ण प्रथम आरोहणका लागि अप्ठ्यारो हिमाल मानिन्छ । त्यसैले पनि होला, आठ हजार मिटरका अरु हिमालभन्दा अन्नपूर्णको सफल आरोहण गर्ने आरोही कम छन् ।
सरकारले कोभिड–१९ महामारीका कारण बन्दाबन्दीको घोषणा गरेकोले सन् २०२० मा तय भएका धेरै आरोहण रोकिए । सेप्टेम्बरबाट पदयात्रा र आरोहणका लागि पर्यटक आगमन खुला गरेपछि बहराइन शाही परिवारको एउटा समूहले सेप्टेम्बरमा लोबुचे र अक्टोबरमा मनास्लु हिमाल (८१६३ मि) आरोहण गर्यो। यस्तै केही सीमितबाहेक सन् २०२० मा नेपालमा हिमाल आरोहण र पर्यटन गतिविधि प्रायः भएनन् ।
यो वर्ष, सन् २०२१ मा, अन्नपूर्णमा केही नयाँ रेकर्डसहित थप नेपाली र विदेशी आरोहीले आरोहण गरेका छन्। गत अप्रिलमा ६ जना नेपाली महिला आरोहीले पहिलो नेपाली महिला आरोहीको कीर्तिमान बनाए । सन् १९७८ मा एक अमेरिकी र एक चेकोस्लाभाकियाकी महिलाले आरोहण गरेको ४३ वर्षपछि नेपाली महिलाले अन्नपूर्णको पहिलो सफल आरोहण गरेका थिए । त्यसैगरी यसै वर्ष भारतकी आरोहीले पनि अन्नपूर्णमा पहिलो भारतीय महिलाको रेकर्ड बनाएकी छन् ।
यही वर्ष एकैदिन अन्नपूर्ण प्रथममा ६८ जना आरोहीले शिखरमा पुगेर आरोहणको अर्को नयाँ कीर्तिमान कायम गरे । यसअघि १ मे २०१६ मा एकैदिन ३२ जनाले आरोहण गरेका थिए । कोरोना महामारीले देश निषेधाज्ञामा छ र पनि यो वर्ष अन्नपूर्ण प्रथमको आरोहणमा सर्वाधिक रेकर्ड हासिल भएका छन् ।
विश्व हिमाल आरोहणको ऐतिहासिक दिन ३ जुनप्रति समर्पित ७१ औँ अन्नपूर्ण हिमाल आरोहण दिवसको शुभकामना !
- अधिकारी पोखराका पर्यटन व्यवसायी हुन् ।