ब्ल्याक फंगसबाट देशभर १० जना संक्रमित
ब्ल्याक फंगस भनिने म्युकरमाइकोसिसबाट नेपालमा हाल १० जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले देशभर १० वटा केस फेला परेको जानकारी दिएका छन्। सामान्यतया ४५-६५ उमेर समूहका व्यक्तिमा म्युकरमाइकोसिस देखिएको उनले बताएका छन्।
माटो, धारा, फोहोरको थुप्रो, करेसाबारी जताततै पाइने म्युकर नामक कालो ढुसीका कारण हुने यो संक्रमण कोरोनाभाइरसका विरामीमा बढी देखिएको छ। शरीरको रोगसँग लड्ने प्रतिरक्षा क्षमता कम भएका बेला यसले छिटो आक्रमण गर्ने चिकित्सकहरूले बताएका छन्।
नेपाल नेत्र ज्योति संघ, कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रकी प्रमुख मेडिकल डाइरेक्टर डा. बिनिता शर्मा भन्छिन्, “कोभिडको उपचारका क्रममा स्टेरोइड्सजस्ता इम्युनोमोडुलेटर औषधीको अनियन्त्रित प्रयोग गर्दा म्युकरमाइकोसिसले समात्न सक्छ।”
उनका अनुसार लामो समय अक्सिजन थेरापी दिँदा पनि संक्रमणको जोखिम हुन्छ। “जसलाई भेन्टिरलेटरमा राखेर उपचार गर्नुपर्यो, अनि लामो सयमसम्म अक्सिजन थेरापी दिनुपर्यो, उहाँहरूलाई म्युकरमाइकोसिसको जोखिम हुन्छ,” डा. शर्मा भन्छिन्।
उनका अनुसार म्युकरमाइकोसिसको संक्रमण हुँदा विशेषतः नाक बन्द हुन्छ। पहेँलो पिपजस्तो वा रगत मिसिएको सिगान वा खकार आउँछ। आँखाको नानी दुख्ने, आँखा वा अनुहारको एक पाटो सुन्निने, अनुहारको छालामा छोएको थाहा नहुने वा कम थाहा हुने हुन्छ।
त्यस्तै, आँखा वरपर वा नाकको छालाको रङ रातो, निलो वा कालोजस्तो देखिन्छ। यसले विशेष गरी नाक, आँखा, टाउको र आन्द्रामा संक्रमण गर्छ।
म्युकरमाइकोसिसबारे चेतना भएन र रोग गम्भिर अवस्थामा पुगेपछि मात्रै चाल पाइयो भने ठूलै अप्ठ्यारो आइपर्न सक्ने डाक्टरहरू बताउँछन्। “शल्यक्रियामार्फत् त्यसले खाएका सबै भाग निकालेर फाल्नुपर्ने हुनसक्छ, आँखै निकाल्नुपर्ने हुनसक्छ,” ग्रिनसिटी हस्पिटलका कन्सल्टान्ट फिजिसियन डा. खेमराज भुसाल भन्छन्।
उनका अनुसार यसको मृत्युदर पनि उच्च रहेको छ। “अझै दुःखको कुरा, यसको मृत्युदर ५० प्रतिशत छ। अर्थात्, यो रोग लागेका आधा मान्छेको मृत्यु हुन्छ,” डा. भुसाल भन्छन्। भारतमा म्युकरमाइकोसिसका कारण थुप्रैको ज्यान गइसकेको छ।