दुई दिनपछि बढ्यो शेयर बजार
दुई दिन दोहोरो अंकले घटेको शेयर बजार परिसूचक नेप्से बुधबार ५५.७६ अंकले बढेको छ।
२७९३.२२ विन्दुबाट शुरु भएको बजार २८२७.१३ विन्दुमा पुगेर रोकिएको हो।
बुधबार कारोबार रकममा पनि सुधार देखिएको छ। बढेको बजारमा २१९ कम्पनीको २ करोड २६ लाख १३ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ११ अर्ब ३५ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर २३ हजार ५९४ रुपैयाँ पुगेको छ। सानिमा माई हाइड्रोको सर्किट लागेर मूल्य ५०६ रुपैयाँ पुगेको छ। त्यसैगरी मञ्जुश्री फाइनान्स, पोखरा फाइनान्स लगायत १२ कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लाग्यो।
आज सामूहिक लगानी बाहेक सबै समूहको सूचक उकालो लागेको छ। बुधबार १७५ कम्पनीको शेयर मूल्य बढ्यो। ३१ वटा कम्पनीको मूल्य घट्यो भने १३ कम्पनीको शेयर मूल्य स्थिर रह्यो।