अन्नपूर्णमा पहिलो पाइला
बेलायती जर्ज हन्ट र सर एडमण्ड हिलरी पनि मेरा साथी नै थिए। उनीहरूले भने- “हामीले तिब्बती मोहडाबाट पनि पटक–पटक कोसिस गर्यौं, अहिलेसम्म सकेनौं, अब एकपटक हाम्रा लागि छोडिदिनोस्।” त्यो आग्रहपछि ‘त्यसो भए यो पटक तपाईंहरूलाई मौका भयो, तपाईंहरूले नसके अर्कोपटक हामी चढ्छौँ’ भन्दै हामी अन्नपूर्णतिर लाग्यौं।
मैले हिमाल चढेको बेला पश्चिमी मुलुकतिरबाट नेपाल जाने प्रचलन व्यापक थिएन। नेपालीले पश्चिमी मुलुकका गोरा मानिस निकै कम देखेका हुन्थे वा देखेकै हुन्थेनन्। गाउँलेहरू हामीलाई हेर्न आउँथे। यी कसरी सेता भए भनेर नजिकै आएर नियाल्थे र हाम्रो शरीर छाम्थे। हामी कस्ता मानिस हौं भन्ने उनीहरूमा कौतुहलता देखिन्थ्यो।
हामी जहाँ पुगे पनि ‘लौ गोरो छाला भएका मानिसहरू आएका छन् रे, हेर्न जानुपर्छ’ भन्दै गाउँमा हल्लीखल्ली हुन्थ्यो। कोही चाहिँ अलि परैबाट लुकेर हेर्थे। जुन गाउँमा पुग्दा पनि गाउँलेहरू स्वागत गर्न आउँथे र दुवै हात जोडेर नमस्कार टक्र्याउँथे। बच्चाहरू चाहिँ हामीलाई देखेपछि दगुर्दै भाग्थे।
मैले देखेको नेपाल र अहिलेको नेपाल त के तुलना गर्न र! केही पनि मिल्दैन। त्यतिबेला र यतिबेलाको नेपाल तुलना गर्दा ‘उही देश हो र?’ जस्तो हुन्छ। त्यतिबेला नेपाल पश्चिमी मलकका लागि पूरै अज्ञात थियो। एशियाली मुलुकका केही नक्साहरू त पाइन्थे। तिनमा नेपाल भन्ने नाम मात्रै उल्लेख हुन्थ्यो। नेपालभित्र के के छ, कुन ठाउँ कता पर्छ र के हो भन्ने चाहिँ पूरै खाली हुन्थ्यो। हामीले पहिलो पल्ट नेपालको यात्रा गर्दा ठूला सडक थिएनन्। बस्ती पनि स–साना थिए। साना गोरेटा र झोलुङ्गे पूलहरू देखिन्थे। राजधानी काठमाडौं मै पनि गाडी थिएनन्।
सगरमाथा सबैभन्दा अग्लो भए पनि अन्नपूर्ण जस्तो कठिन हिमाल होइन। सगरमाथा धेरै सजिलो हिमाल हो। अन्नपर्ण त धेरै ठाडो र खतरापूर्ण पनि छ । हिमपहिरो धेरै आउँछ। जे होस्, त्यो एउटा ज्यादै ठूलो साहसिक आरोहण थियो।
त्यो बेला नेपाल पस्न गाह्रो थियो तर पसेपछि जहाँबाट छिरेर जता पुगे पनि हुन्थ्यो, भिसा चाहिँदैनथ्यो। हिमालका लागि भनेर छुट्टै नियम र कानून थिएन। हर्ताकर्ता राजा थिएनन्, महाराजा थिए। तिनै महाराजा मोहनशमशेर राणाले हामीलाई हिमाल चढ्ने अनुमति दिएका थिए। त्यो बेला नेपाल पस्न अनुमति पाएपछि हिमाल आरोहण गर्ने अर्को अनुमति लिनै पर्दैनथ्यो ।
हामीलाई नेपालका हिमाल छान्ने अवसर थियो। हामीले पनि सगरमाथा नै ताक्यौं। सो समयमा बेलायतीहरूले सगरमाथा उक्लने बाह्रौं प्रयास गर्दै थिए। उनीहरूले सगरमाथा चढ्नको लागि धेरै नै तालीम गरिरहेका थिए। बेलायती जर्ज हन्ट र सर एडमण्ड हिलरी पनि मेरा साथी नै थिए। उनीहरूले भने– “हामीले तिब्बती मोहडाबाट पनि पटक–पटक कोसिस गर्यौं, अहिलेसम्म सकेनौं, अब एकपटक हाम्रा लागि छोडिदिनोस्।”
त्यो आग्रहपछि ‘त्यसो भए यो पटक तपाईंहरूलाई मौका भयो, तपाईंहरूले नसके अर्कोपटक हामी चढ्छौँ, भन्दै हामी अन्नपूर्णतिर लाग्यौं। हामी सगरमाथा चढ्न गएको भए उनीहरूलाई धोका दिएको जस्तो हुन्थ्यो। अन्ततः हामीले सन् १९५० मा ८ हजार ७५ मिटरको अन्नपूर्ण जेठो चढ्यौं, तिनले तीन वर्षपछि सन् १९५३ मा सगरमाथा चढे।
संसारभरि हल्लीखल्ली
अन्नपूर्ण र धौलागिरीमध्ये कुन हिमाल चढ्ने भन्ने सल्लाह हुँदा हामीले अन्नपूर्ण छान्यौँ। आरोहण गर्न कठिन भएकोले पनि हामीले अन्नपूर्ण नै छानेका थियौं। सगरमाथा सबैभन्दा अग्लो भए पनि अन्नपूर्ण जस्तो कठिन हिमाल होइन। सगरमाथा धेरै सजिलो हिमाल हो। अन्नपूर्ण त धेरै ठाडो र खतरापूर्ण पनि छ। हिमपहिरो धेरै आउँछ। जे होस्, त्यो एउटा ज्यादै ठूलो साहसिक आरोहण थियो।
हामीले अन्नपूर्ण आरोहण गरेपछि, फ्रान्सेलीहरू ८ हजार भन्दा अग्ला हिमालमा गए, हिमालमा फ्रान्सेली झण्डा फहराए; ती त्यत्रो हिमाल र उनीहरू को हुन्?’ भनेर संसारभरी हल्लीखल्ली मच्चियो। नेपालका अग्ला हिमाल पनि चढ्न सकिने रहेछ भनेर संसारभरिका मानिसहरूको आँखा खुल्यो।
त्यतिबेलासम्म नेपालीहरू भारतमा र भारतीयहरू नेपालमा आउने–जाने गर्थे। त्यसमा कुनै समस्या थिएन र को आयो, को गयो भन्ने मतलब पनि हुँदनथ्यो तर हामीहरूको बारेमा भने सोध–खोज हुन्थ्यो। त्यतिबेला नेपाल पस्न पश्चिमाहरूका लागि सजिलो थिएन। को आए, को गए, किन आए भनेर बढी निगरानी हुन्थ्यो।
पण्डित जवाहरलाल नेहरूसँग मेरो चिनजान थियो। उनी भन्थे– “भारत को जननी हो।” त्यतिबेला टुक्रिन चाहेको पाकिस्तान र भारतबीच संघर्षहरू भइरहेका थिए। त्यसले गर्दा पनि उनीहरू पश्चिमाहरूलाई बढी चियोचर्चा र कडाइ गर्थे। भारतीयहरू नौला मानिसलाई अति नै शंका गर्थे। त्यस्तो बेलामा नेपाल पस्ने पहिलो इजाजत पाउने पश्चिमी मानिस हुनु हाम्रो पनि भाग्यकै कुरा थियो।
कालीगण्डकीको किनारै–किनार भएर जाँदा टुकुचे पुग्न तीन हप्ता लाग्यो। भारतबाट नेपालको सीमासम्म गाडीमा र त्यसपछि नेपाल–भारत सीमा क्षेत्रबाट चाहिँ पैदलै पैदल बद्धको जन्मस्थल लुम्बिनी हुँदै बाग्लुङ भएर धौलागिरि क्षेत्र पुगेका थियौं।
हामीलाई विश्वका अग्ला हिमालहरू नेपालमा छन् भन्ने थाहा थियो किनकि बेलायतको भौगोलिक मापन सेवाको कार्यालय भारतमा थियो। त्यसले सबै हिमालहरूको उचाइ नापिसकेको थियो। बेलायतीहरू नेपाल प्रवेश गर्न नपाउने भएकोले त्यो नाप्ने काम उनीहरूले भारतबाटै फत्ते गरेका थिए।
विश्वको सर्वोच्च शिखर सगरमाथा हो भन्ने उनीहरूले नै पत्ता लगाएका हुन्। त्यो मापन गर्ने सर जर्ज एभरेष्ट भन्ने मानिस थिए र उनैको नामबाट त्यसलाई एभरेष्ट भन्न थालिएको हो। त्यतिबेला दिल्लीस्थित बेलायती भौगोलिक मापन कार्यालयमा उनै प्रमुख थिए। पछि आफ्नोपन दिनका लागि नेपालीहरूले एभरेष्टलाई सगरमाथा नाम राखे। त्यसको वास्तविक नाम त चोमोलोङ्मा हो। स्थानीय तिब्बती भाषाको यो नाम नै मलाई पनि सगरमाथा र एभरेष्टभन्दा मिठो र मौलिक लाग्छ।
चार महीनाको तयारी
नेपालमा ८ हजार मिटर अग्ला दस शिखर छन्। ती मध्येको एउटा हो अन्नपूर्ण। हामीले यस क्षेत्रमा जाने निधो गर्यौं र बाटो लाग्यौं। कालीगण्डकीको किनारै–किनार भएर जाँदा टुकुचे पुग्न तीन हप्ता लाग्यो। भारतबाट नेपालको सीमासम्म गाडीमा र त्यसपछि नेपाल–भारत सीमा क्षेत्रबाट चाहिँ पैदलै पैदल बद्धको जन्मस्थल लुम्बिनी हुँदै बागलुङ भएर धौलागिरि क्षेत्र पुगेका थियौं।
हामीसँग सगरमाथा क्षेत्रका नौजना शेर्पा र तीनजना गाइड थिए। उनीहरू निरन्तर हाम्रै साथमा रहिरहे। एकजना चिकित्सकलाई पनि सँगै लगेका थियौं। भारतस्थित फ्रान्सेली राजदूतावासका कूटनीतिज्ञ फँसिस द नोइएल पनि थिए। उनी अलिअलि गोर्खा भाषा बोल्थे। त्यो समयमा अङ्ग्रेजी बोल्ने नेपाली पाइँदैनथ्यो। त्यसैले शेर्पा खोज्ने काम नोइएलले गरे।
त्यतिबेला पर्यटनको विकास भएको थिएन। शेर्पाहरू नाम कमाउन हिमाल चढ्ने चलन पनि थिएन। त्यसैले शेर्पा खोज्ने काम पनि सजिलो थिएन। आङ् थार्के शेर्पा भन्ने एकजना मूली शेर्पा खोजियो। बाँकी शेर्पा उनैले बटुले। ती एकदमै विश्वासिला, इमान्दार र नाम चलेका शेर्पा थिए। हाम्रो समूहमा मार्सेल भन्ने सिनास्थका अर्का एक व्यक्ति थिए। फोटो खिच्ने, सिनेमा बनाउने सबै काम उनैले गरे।
आरोहणका लागि तयारी गर्न पनि हामीलाई चार महोना लाग्यो। खाना लगायतका सबै सामान यहाँबाटै लानुपर्ने भएकोले तयारी पनि व्यवस्थित नै गर्नुपर्ने थियो। नेपालमा त्यति बेला त्यस्ता सामान केही पनि पाइँदैनथ्यो। ओ हो, सामान त कतिकति! आठ टन त विमानमा राखेर यहींबाटै लगिएको थियो। विदेशीले के खान्छन्? भन्ने पनि नेपालीहरूलाई थाहा थिएन। हामीले जे गरे पनि त्यहाँ नौलो हुन्थ्यो।
त्यतिबेलै पनि ८ हजार मिटरको अन्नपूर्ण हिमाल प्रसिद्ध थियो। ८ मिटर अग्लो हिमाल चढ्नु जोखिमपूर्ण हो भन्ने हामीलाई थाहा थियो। सबै उच्च हिमालको अनुभवका लागि जोखिम मोल्न तयार भयौं। उचाइको हावापानी, हिमाल चढ्ने तौरतरिका र अक्कलबारे पूर्ण ज्ञान लिएका थियौं। हामीले निकै राम्रो तयारी गरेका थियौं।
आरोहणका क्रममा मर्न पनि सकिन्छ भन्ने भय त थियो नै सफलतापूर्वक काम फत्ते गरेर कुशलतापूर्वक फर्किन पाऊँ भन्ने कामना गर्दै हामी फ्रान्सको बुर्जे विमानस्थलबाट उड्यौं।
हामीलाई भारतको दिल्ली पुग्न विमानमा तीन दिन लाग्यो। हामीले लगेको विशेष विमान हाम्रो आरोहणकै लागि मात्र गएको थियो। हामी मार्च महिनामा गएर जुलाई महिनामा फर्कियौँ। पाँच महीना लागेछ। २ सय ५० जना त भरिया थिए। एकथरीले तीन–चार दिन भारी बोक्दा अर्काथरीले आराम गर्थे। यसरी तीन–चार दिनको फरकमा आलोपालो गरेर उनीहरूले सामान बोकेका थिए।
पहिलोपटक नेपालको हिमाल चढ्न गएकाले कस्तो छ, कहाँ बढी खतरा छ, कसरी चढ्ने? भन्ने जानकारीहरू बाहिर आएका थिएनन्। यो हिमाल अप्ठेरो र अति नै जोखिमपूर्ण छ भन्ने थाहा थियो र जोखिमको अनमान पनि गरेका थियौं । यसो भए पनि चढ्न सकिँदैन कि भन्ने दोधारे मन गरेनौं। हाम्रो मनमा चढेरै छोड्ने र सफल हुने दृढता थियो।
महाराजाले फ्रान्सेली र अंग्रेजी दुवै भाषा नजान्ने। हामी गोर्खा भाषा र हिन्दी नजान्ने। त्यसैले दोभाषेमार्फत् मोहनशमशेरले हामीलाई सम्मान गरे। उनले भने, “तपाईंहरूले नेपालका लागि ठूलो काम गर्नुभयो। यो ठूलो बहादुरी हो। तपाईंहरू साहसी हुनुहुँदोरहेछ। विश्वभर नेपालको नाम फैलाइदिनुभयो। तपाईंहरूलाई धेरै धेरै स्याबास!”
अन्नपूर्ण हिमाल चढ्ने बेला मेरो उमेर ३१ वर्षको थियो। टोलीको सबैभन्दा पाको मै थिएँ। हुनत त्यो फ्रान्सेलीका लागि विवाहित भैसक्ने उमेर थियो तर चाहिँ त्यत्रो जोखिमपूर्ण आरोहणमा जानु छ के हुन्छ के हुन्छ; किन अर्काको जीवनलाई दुःख दिने भनेर विवाह नगरी बसेको थिएँ।
हाम्रो समूहका नौ जनामध्ये मसँगै चुचुरोमा गएका लास्नाल र म घाइते भयौँ। मलाई बोकेर ल्याइयो। त्यो आरोहणले ज्यानै त लिएन तर जीवनभर अपांग बनायो। हिउँले खाएर मेरा दुवै गोडा गुमे। कुर्कुच्चाको अलिकति भाग बाहेक हिउँले खायो। तलुवा खाली भएको कृत्रिम जुत्ता लगाउँछु।
दुवै हातका औँला हिउँले बाँकी राखेन। सँगै गएका डाक्टरले सक्दो उपचार गरे। फर्किंदा दिल्लीमा उपचार गरियो। नेपाल र भारतमा त्यतिबेला त्यति राम्रो उपचार नभएकोले फ्रान्स आएर लामो समयसम्म अमेरिकी अस्पतालमा उपचार गराएँ।
महाराजाको सम्मान
हिमाल चढिसकेपछि हामी दिल्ली फर्किनेवाला थियौं। बाटैमा महाराजा मोहनशमशेरले भेट्न निम्ता पठाएको खबर आयो। अधिकांश साथीहरू उही बाटो भएर दिल्लीतर्फ लागे। म चाहिँ महाराजालाई भेट्न भनेर डाक्टर हदो मार्सल याकसहित काठमाडौंतिर लागें।
महाराजासँग भेट हुँदा हामीले हिमाल चढेको महीना दिन जति भएको हुँदो हो। हातखुट्टा हिउँले खाएकोले म हिँड्न सक्ने अवस्थामा थिइनँ। त्यसैले मलाई बोकेर काठमाडौं लगिएको थियो। अरू साथीहरूले चाहिँ मलाई दिल्लीमा पर्खेर बसे। मलाई आफूले हिमाल चढेको देशको महाराजाले सम्मान गर्नु ठूलो कुरा हो भन्ने लाग्यो। हुन पनि मेरो सम्मानमा महाराजा मोहनशमशेरले दरबारमा एउटा समारोह नै आयोजना गरे। उनका न्यायाधीशहरू पनि वरिपरि थिए। उनी पछिका दोस्रो तेस्रो दर्जाका महाराजाहरू पनि सँगै थिए। सरकारी उच्च अधिकारीहरू पनि उपस्थित थिए। त्यो एउटा ज्यादै रमाइलो उत्सव थियो।
महाराजाले फ्रान्सेली र अंग्रेजी दुवै भाषा नजान्ने। हामी गोर्खा भाषा र हिन्दी नजान्ने। त्यसैले दोभाषेमार्फत् मोहनशमशेरले हामीलाई सम्मान गरे। उनले भने, “तपाईंहरूले नेपालका लागि ठूलो काम गर्नुभयो। यो ठूलो बहादुरी हो। तपाईंहरू साहसी हुनुहुँदोरहेछ। विश्वभर नेपालको नाम फैलाइदिनुभयो। तपाईंहरूलाई धेरै धेरै स्याबास!” उनले मलाई गोर्खा क्रस (ला ख्वा द ला गेर्) पदक पनि दिए। आजसम्म त्यो पदक पाउने म एक मात्र विदेशी हुन पाउँदा मलाई गर्वको अनुभूति हुन्छ।
हिमाली छोरो
मलाई नेपालका हिमालले त्यत्तिकै आकर्षित गरेका होइनन्। म अन्नपूर्ण त्यत्तिकै चढेको पनि होइन। म हिमाली भागमै हुर्केको हुँ। मेरो बालककालको थलो फ्रान्सको सामोनीमा धेरै हिमालहरू छन्। ती होचा भए पनि सुन्दर छन्। मैले ४ हजार ८१० मिटर अग्लो यूरोपेली आल्प्स क्षेत्रको सर्वाधिक अग्लो हिमाल मो ब्लँ आरोहण गरिसकेको थिएँ।
मो ब्लँ हिमालय क्षेत्रका हिमालहरूभन्दा धेरै होचो छ तर हाम्रो लागि अग्लो त्यही हो। त्यतिबेला त्यही हिमालमाथि विजय हासिल गर्न पनि मुस्किल थियो। तिनै हिमालहरूलाई जितौंला भनेर म युवा हँदा हिउँ चिप्लेटी खेल्थें। हिउँसँगै दगुर्थ, हिउँमै पल्टनबाजी खेल्थें। हिमपहिरोका आवाजहरू सुन्थे।
अहिले अनेक सम्झना आउँछ– कहिले हिउँसँगै रमाइन्थ्यो त कहिले भागिन्थ्यो। भिराला जमीनबाट घसारिँदै तल झरिन्थ्यो। अनि ‘आहा! अग्ला हिमाल चढ्न पाए...’ भन्ने लाग्थ्यो। ठूला हिमाल चढ़ने सपना मनमा कतै गढेर लुकेको थियो। हिमालका दृश्यहरू हेर्दा, तिनीहरूसँग बस्दा, खेल्दा र भाग्दाभाग्दै मैंले हिमाल चढ्ने तौरतरिका जानेको थिएँ। मैंले युवाकालको धेरै समय हिमाल आरोहणका अक्कल सिक्दै खर्चिएको थिएँ।
मेरा बुबाआमाका हामी आठ सन्तान सबै हिमाली क्षेत्रमै हर्कियौं। युवाकाल हिमाल चढेरै बितेकाले पनि होला बाबुआमाले पनि नाना बाबु पनि ठूलै आरोही थिए। दाजुभाइले पनि बाबुकै बाटो पछ्याए। लियों शहरमा जन्मिएर म सामोनीमा हुर्किएँ। परिवारमा कान्छो म संसारमा चिनिएको आरोही भएँ। यो पनि मेरा बालबच्चा भने हिमाल चढ्दैनन् किनकि हामीले चाहिँ हाम्रा बालबच्चालाई हिमाल चढेर जीवनको जोखिम नलिन भन्यौँ ।
आरोहणपछि म करीब ३० पटक नेपाल गएँ। पछिल्लोपटक सन् २००५ मा गएको हुँ। त्यसपछि म नेपाल जान सकिनँ। पोखरामा भएको अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालय स्थापनाको ठूलो पर्वमा निम्ता गरिएको थियो। त्यसमा भाग लिने इच्छा हुँदाहुँदै पनि जान सकिन तर नेपालीहरू दयालु न परे, नेपालस्थित फ्रान्सेली राजदूतमार्फत् एउटा पदक र हिमालयसम्बन्धी पत्रिका पठाइदिएछन्।
साहस–प्रचारक मन्त्री
त्यसो त म राजनीतिज्ञ पनि हुँ। युवा तथा खेलकुदमन्त्री पनि भएँ। मेरा लागि राजनीति र आरोहण दुवै सोखका तर नितान्त भिन्न क्षेत्रका विषय हुन्। राष्ट्रपति चाल्र्स द गोलको सरकारमा म आठ वर्ष मन्त्री भएँ। मैले हिमाल चढेपछि फ्रान्सेली युवाबीच त्यो साहसी कामको वर्णन र व्याख्या गराउन गोलले मलाई मन्त्री बन्न प्रस्ताव गरेका थिए।
गोलले मलाई भनेका थिए– “हिमालय क्षेत्रका त्यति अग्ला हिमाल पनि चढ्न सकिन्छ भनेर तपाईंहरूले नै सारा संसारका अगाडि प्रमाणित गरेर देखाइदिनुभयो। फ्रान्सेलीहरूको आँट र साहस देखाइदिनभयो। इज्जत बढाउनुभयो। ती अनुमान आफूमै मात्र सीमित राख्नु हुन्न। नेपालको बारेमा आफ्ना अनुभव युवाहरूलाई सुनाउनुहोस्। हिमाल आरोहणको आकर्षण र महत्व के हो? वर्णन गरिदिनुहोस्। तपाईंले लिनुभएका हिमाली क्षेत्रका ज्ञान हाम्रा युवासँग बाँडेर तिनलाई पनि आकर्षित गराउनुहोस्। हाम्रा युवालाई तपाईंहरूजस्तै साहसी र उत्साही बनाउनुहोस्। यस्तो इतिहास सबै फान्सेलीसँग साझेदारी गर्नुपर्छ।”
यस्तो भनेर उनले मलाई मन्त्री चुनेका थिए। म १७ वर्षसम्म सांसद भए, नगरपालिकाको मेयर पनि भएँ। त्यो सबै अन्नपूर्ण हिमाल चढेपछिको कुरो हो।
५७ वर्षको इतिहासमा धेरै कुरा परिवर्तन भए। साथीहरू गुमे। सम्झनाहरू पातलिँदै गए। शारीरिक ठाँट उस्तै बाँकी रहेन। । साथीहरू फ्रान्स आउन नसक्ने र म नेपाल जान नसक्ने भएँ। नेपाल गइरहन मन त हौसिन्छ तर अब नसकिने भयो।
अन्नपूर्णको सफल आरोहणपछि मैले त्यसबारेमा ‘लान्नापुर्ना फर्मिय उइ मिल’ नामक किताब लेखें। मैले लेखेको किताबले ५० लाख मानिसको ध्यान तानेछ।
संसारमा अहिलेसम्म सबैभन्दा बढी बिक्री भएको किताब बाईबल हो। तर, सन् १९५१–५२ मा मेरो त्यो किताब निस्कनासाथ छ महीनासम्म त बाईबलभन्दा पनि बढी बिक्री भएछ। त्यसले के देखायो भने हिमालमा के भयो भनेर सारा संसारले जान्न चाहेछ। त्यो किताब थुप्रै संस्करण निस्कियो। कति संस्करण निस्कियो भन्ने चाहिँ मलाई याद छैन।
मेरो त्यो किताबको एउटा पाठ फ्रान्समा १६/१७ वर्षका विद्यार्थीको लागि पाठ्यसामग्रीमा राखिएको छ। पर्वतारोहणको क्षेत्रमा सन्दर्भ सामग्रीका रूपमा प्रयोग गरिने गरेको मेरो किताब ६० भाषामा अनुवाद भएकाले त्यसले नेपालको धेरै नै पचारप्रसार गर्यो भन्ने मलाई लाग्छ। त्यो किताब संसारभर नै प्रसिद्ध भएको थियो। मैंले किताब त अरू पनि लेखें तर त्यो जति लोकप्रिय भएनन् र फ्रान्सेलीबाहेक अरू भाषामा छँदा पनि छैनन्।
हिजोआज मन मान्दैन
हिजोआजका हिमाल आरोही देख्दा मलाई अलि चित्त बुझ्दैन। हिमाल चढ्ने नियम र आचारसंहिता हुन्छन्। हिमाल आरोहीले तिनको सम्मान र पालना गर्नुपर्छ। नत्र हिमाललाई स्वच्छ, सुन्दर र जीवन्त राख्न सकिँदैन। हामीले हिमाललाई सम्मान नगरे हिमालले पनि हामीलाई माया गर्दैन। हिमाललाई स्वच्छ राखिएन भने उसको सौन्दर्य गुम्छ। हामीले आरोहण गर्दा हिमालमा कुनै फोहोर छाडेनौं तर अहिले धेरैले हिमाललाई प्रदूषित बनाएका छन्। अहिले हिमाल चढ्न सजिलै सकिने भएपछि मानिसको चाप र फोहोरका थुप्रा बढ्दै गएका छन्।
पहिले हिमाल आरोहण विशुद्ध साहसिक यात्रा थियो। मैले देख्दादेख्दै त्यो सबै बदलियो। पैसाले ठूलो भूमिका खेल्न थाल्यो। आरोहणबारे ठूल्ठूला विज्ञापन हुन थाले। हिमाल चढ्ने टोलीलाई प्रायोजन गर्ने र विज्ञापन गरेर धन कमाउने प्रचलन बढ्यो।
आरोहण व्यापारको साधन बन्यो। हिमाल चढ्ने औजारहरूका लागि धेरै विज्ञापन हुन थाले। अहिले नयाँ–नयाँ प्रविधि भित्र्याइएको छ। डोरी र भर्याङ लगाएर चुचुरोसम्मै पुग्न थाले। त्यसैले हिमाल आरोहण पहिले जस्तो कठिन पनि रहेन। सजिलो भएपछि हिमाल चढ्नेको धुइरो लाग्ने नै भयो।
हिमाल जस्तो ठाउँमा सजिलै चढ्न सकिने भएपछि किन नचढ्ने? त्यस्ता साधनहरूले हिमाल चढ्ने दक्षता कम भएकालाई सफलता पाउन सजिलो हुन्छ। अनुभव नभएकाहरू पनि अलि सजिलोसँग चढन सक्ने भए। अहिले हेलिकोप्टर र खच्चडलाई बोकाएर सामान लैजान्छन्। विभिन्न खाले औषधि तयार छन्। हिमालको काखैसम्म गाडी पुग्न थाले। अन्तिम क्याम्पसम्म भारी बोकेर बाटो दखाउँदै पुर्याइदिने मानिस तयार भए। सबै अरूले गरिदिने र आफू चढ्ने मात्रै जस्तो हुन थाल्यो।
हाम्रो पालामा त खाना पनि आफूसँगै लानुपथ्र्याे। भाषा पनि कसैले बुझ्दैनथे। अंग्रजी बोल्ने मानिस पाउन मुस्किल थियो। अहिले टुप्पामा पुग्दा पनि सम्पर्क गर्न संचारसेट लिएर जान्छन्। त्यस्तो संचारसेट भएपछि ‘लौ म बिरामी परें’ भनेर तत्कालै हेलिकोप्टर मगाएर फर्किन सकिने भयो। हाम्रो पालामा जस्तुसुकै अवस्थामा पनि पैदलै यात्रा गर्नुपथ्र्यो। हिमालमा उकालो लागेपछि फर्केर नआएसम्मको अवस्था थाहा पाउन गाह्रो थियो।
मैंले हिमाल आरोहणका क्रममा जीवनमा धेरै जोखिम उठाएँ। जति अनुभव भए पनि मेरा यौवनकालमा सँगै हिमाल आरोहण सिकेका सबैजसो साथीहरूलाई पर्वतारोहणको राजधानी मानिने सामोनी क्षेत्रका हिमालले सदाका लागि लग्यो।
अहिले नयाँ–नयाँ प्रविधि भित्र्याइएको छ। डोरी र भर्याङ लगाएर चुचुरोसम्मै पुग्न थाले। त्यसैले हिमाल आरोहण पहिले जस्तो कठिन पनि रहेन। सजिलो भएपछि हिमाल चढ्नेको धुइरो लाग्ने नै भयो।
अहिले त अन्नपूर्ण हिमाल चढेका साथीहरू पनि सबै बितिसके। सँगै हिमाली तौरतरिका देखे–भोगेका, जानेका, थुप्रै दुःख–सुखका दिनहरू साझेदारी गरेका साथीहरू पनि सबैजसो बिते। तीमध्ये दई जनालाई क्यान्सरले लग्यो। अन्नपूर्णको त्यो टोलीमध्ये कूटनीतिज्ञ फँसिस द नोइएल बाँकी छन्। अचेल म हिमाल सम्बन्धी अध्ययन र अन्य कामहरू गर्ने, पुस्तक लेख्ने, संघ–संस्थाका काममा खटिने गरिरहेको छु। मलाई जीवनमा सकुञ्जेल केही गरिरहनुपर्छ भन्ने लाग्छ।
म आफूलाई नेपालको एक असल मित्र हुँ भन्ने ठान्छु। नेपाल मेरो दोस्रो मातृभूमि हो। म लामो समयसम्म नेपाल र फ्रान्सबीच गहिरो मित्रका रूपमा रहेँ। तर आफैंले भोगेको यो ५७ वर्षको इतिहासमा धेरै कुरा परिवर्तन भए। साथीहरू गुमे। सम्झनाहरू पातलिँदै गए। शारीरिक ठाँट उस्तै बाँकी रहेन। साथीहरू फ्रान्स आउन नसक्ने र म नेपाल जान नसक्ने भएँ।
नेपाल गइरहन मन त हौसिन्छ तर अब नसकिने भयो। संसार जित्न अगाडि बढेको मान्छे आज आफैंसँग पछाडि हट्नुपर्ने दिन आए। संसार डराउने चुचुरोको शिरमा टेक्ने मेरो गोडा अब सानो थम्को देख्दा पनि लत्रने भए। त्यसैले पहिलेका धेरै घटना अब सम्झनामै सीमित पार्नुपर्ने भएको छ।
अन्तर्वार्ता मितिः फेब्रुअरी १, २००७
(ददि सापकोटालिखित पुस्तक ‘त्यो नेपाल (फ्रान्सेली अनुभव)’बाट साभार। लेखकसँगको वार्तालापको पाँच वर्षपछि सन् २०१२ मा हेर्जोगको निधन भयो।)