साप्ताहिक संक्रमणदर ३३ र मृत्युदर ४२ प्रतिशतले घट्यो
कोभिड-१९ को संक्रमणदर र मृत्युदर अघिल्लो साताको भन्दा गत साता घटेको छ। सरकारी तथ्यांकअनुसार संक्रमणदर ३३ प्रतिशतले र मृत्युदर ४२ प्रतिशतले घटेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार, १२ देखि १८ जेठसम्म देशभर ३७ हजार ७३९ संक्रमित थपिएका छन्। जबकी गत साता अर्थात ५ देखि ११ जेठसम्म ५६ हजार ४९४ संक्रमित थपिएका थिए। साप्ताहिक थपिँदै आएका संक्रमितको संख्या १८ हजार ७५५ अर्थात ३३ प्रतिशतले घटेको छ।
दुई साता अघिको भन्दा पछिल्लो २४ घण्टाको दैनिक संक्रमितको संख्या पनि घटेको देखिएको छ। ५ जेठमा आठ हजार १८३ जनामा संक्रमण देखिएको थियो भने पछिल्लो २४ घण्टामा ६ हजार ८५ जनामा कोरोना पुष्टि भएको छ।
अघिल्लो साताको तुलनामा गत साता परीक्षण भने केही घटेको छ। ५ देखि ११ जेठसम्म एक लाख ५० हजार ५८० जनाको स्वाब परीक्षण गरिएको थियो। गत साता अर्थात १२ देखि १८ जेठसम्म भने एक लाख २५ हजार ६२१ जनाको स्वाब परीक्षण गरिएको छ। अघिल्लो साताको तुलनामा गत साता स्वाब परीक्षण २४ हजार ९५९ अर्थात १६ प्रतिशतले घटेको छ।
त्यस्तै, १२ देखि १८ जेठसम्म कोरोनाबाट ७५४ जनाको मृत्यु भएको छ। गत साता अर्थात ५ देखि ११ जेठसम्म एक हजार २८९ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेको संख्या गत साताभन्दा पछिल्लो साता ५३५ अर्थात ४२ प्रतिशतले घटेको छ।
दुई साताअघिको तुलनामा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या पनि घटेको तथ्यांक छ। ५ जेठमा कोरोनाबाट २४६ जनाले ज्यान गुमाएका थिए भने पछिल्लो २४ घण्टामा ६८ जनाले ज्यान गुमाएका छन्।
अहिलेसम्म नेपालमा कोरोनाबाट सात हजार ४५४ जनाले ज्यान गुमाइसकेका छन्। त्यस्तै, संक्रमितको संख्या पनि पाँच लाख ६६ हजार ५८७ पुगेको छ। अहिले सक्रिय संक्रमित एक लाख चार हजार ७८९ रहेका छन्।
कोरोना संक्रमितमध्ये पाँच लाख ५४ हजार ३४४ जना निको भएका छन्। पछिल्लो दुई सातामा निको हुनेको संख्या पनि बढ्दै गएको छ।