कोभिड डायरी : आफू जीवित रहेको पक्का गर्न घण्टैपिच्छे ‘अलार्म’!
एकपटक अक्सिजन लेभल घटेर तर्सिएपछि अब पीर पर्यो, राति निदाएको वेला अक्सिजन घट्यो भने? सोधखोज गर्ने नजिकमा कोही थिएनन्। त्यसपछिका दशौं रात घण्टा-घण्टामा अलार्मकै सहारामा बिते। अलार्म बजिरह्यो, मैले बाँचेको खुशीयाली मनाइरहेँ।
१९ वैशाखको साँझ ५ बजे। मोबाइलमा मेसेज आएको घण्टी बज्यो। मेसेजले तरंगित बनायोे, ‘कोभिड पोजेटिभ!’
अब गर्ने के? मन एकतमासको भयो।
यो प्रश्नसँगै मानसपटलमा एकैपटक आए– अस्पताल, आईसीयू, भेन्टिलेटर, अक्सिजन र पशुपति क्षेत्रमा ओइरो लागेका शव। मन–मगजमा यी सबै कुरा गढेर बस्नुमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा एकोहोरो आइरहेका नकारात्मक पोस्ट र समाचारको प्रभाव बढी थियो।
अहिले पो बुझ्दै छु, त्यो बेला मैले आत्मबल खस्काएर मैदानमा उत्रिनुअगावै कोरोनालाई जितको ट्रफी दिएकी रहेछु। तर, कोरोना संक्रमण भएको खबर नै यति दुष्ट छ, एकचोटि त यसले जिन्दगीलाई नै प्रश्नचिह्न लगाइदिन्छ।
मेरो अवस्था ठीक यस्तै थियो।
५ बजे आएको रिपोर्टको जानकारी ६ बज्दासम्म आफैंमा सीमित थियो। घरबेटीलाई भनूँ त कोठाबाट राति नै निस्किनुपर्ने त होइन भन्ने पीर थियो। कोरोनाकालमा संक्रमितलाई समुदाय स्तरमा छि:छि: दूरदूर गर्ने प्रवृृत्ति कायमै रहेको वेला घरबेटीले बहालमा बस्नेलाई गर्ने अमानवीय व्यवहार यत्रतत्र सुन्दै र देख्दै आएको थिएँ।
दुई दिनदेखि हल्का ज्वरो र शरीर दुखाइ थियो। पोजेटिभ रिपोर्टसँगै ज्वरो र दुखाइ ह्वात्तै बढ्न थाल्यो। हातमा रिपोर्ट बोकेर डेराको कोठामा एक्लै निरुपाय बनेँ। संकटमा अनेक भाव र विचारले एकैपटक घेरे।
सोचेँ, यो खबर घरमा अहिले नै दिन हुन्न। किनकि मलाई थाहा थियो, परिवारभन्दा टाढा शहरमा एक्लै बसेकी छोरीको चिन्ताले बाआमालाई गलाउँछ। फेरि पहिला त आफैंलाई सम्हाल्नु थियो।
५ बजे आएको रिपोर्टको जानकारी ६ बज्दासम्म आफैंमा सीमित थियो। घरबेटीलाई भनूँ त कोठाबाट राति नै निस्किनुपर्ने त होइन भन्ने पीर थियो। कोरोनाकालमा संक्रमितलाई समुदाय स्तरमा छि:छि: दूरदूर गर्ने प्रवृृत्ति कायमै रहेको वेला घरबेटीले बहालमा बस्नेलाई गर्ने अमानवीय व्यवहार यत्रतत्र सुन्दै र देख्दै आएको थिएँ। गत वर्ष बानेश्वरमा डाक्टर र नर्स बसेको घर स्थानीयले घेराउ गरेको समाचारका कारण पनि मभित्र अझै डरको झिल्का जीवित रहेछ।
सास फेर्न बिस्तारै मुश्किल हुन थाल्यो। यो अवस्था अघिल्लो रातदेखि नै बढ्न थालेको थियो। लक्षण मिलेको र रिपोर्ट नै आइसकेपछि त अब भने मैले आफूलाई संक्रमित स्विकारेँ। पहिलो फोन लगाएँ, थानकोटमा बस्ने साथी सविना देवकोटालाई। उनी थानकोटको चिसो डाँडामा बस्ने भएर पनि होला, ठन्डा दिमागले सोच्न माहिर छिन्।
उनीसँगको कुराकानीपछि बल्ल होश पाएँ, बुवाआमापछिको अभिभावक मेरा लागि अफिस थियो। मेरा सम्पादक मोहन मैनालीलाई फोन गरेर सुनाएँ। छोराछोरीले आमाको काखमा टाउको लुकाएर पीडा पोखे जस्तै मैले मेरो सहारा खोजेँ। तर यो रोग बैगुनी छ, बिरामीको आधा रोग निको पार्ने स्वजनको हात यो रोगले शिरमा राख्न दिँदैन।
मोहन सरले फोनबाट अक्सिजनसहितका आइसोलेसन वार्ड र अस्पतालबारे बुझ्नुभयो। केहीको सम्पर्क नम्बर उपलब्ध गराउनुभयो। त्योभन्दा पनि मेरो लागि ठूलो ओखती आत्मबल र केही हुन नदिने विश्वास भरिदिनुभयो। त्यसपछि त के चाहियो र!
त्यो रात साथी सविना र मोहन सरले मेरो स्वास्थ्य अवस्था बुझ्ने सिलसिलामै उज्यालो भयो।
आफू संक्रमित भएको कुरा लुकाएर कति दिन बस्न सक्थेँ र! यता शरीर ज्वरो र खोकीले च्याप्दै थियो।
रिपोर्टिङका क्रममा चहारेका आइसोलेसन वार्ड, अस्पतालहरूमा सम्पर्क गर्दा सबै भरिभराउ भएको खबर पाएँ। अब एउटै विकल्प थियो, फुपू कार्यरत हेल्पिङ हेन्ड्स अस्पतालमा कसैगरी बेड मिलाइदिन अनुनय विनय गरे।
अन्ततः कुनामा एउटा बेडको व्यवस्था हुने भयो। अस्पताल गएँ। आवश्यक जाँच सबै भए।
अस्पतालमा दिनभरको बसाइले झन् गाह्रो महसूस भयो। ज्वरो र सास फेर्ने असहजता झन् बढे जस्तो महसूस भयो। कारण थियो, छेउछाउमा निकै जटिल अवस्थाका बिरामी देख्नु। कतिपय त मृत्युको नजिक पुगेका देखिन्थे। सास फेर्न पनि युद्ध लडिरहेका बिरामीहरूको छटपटीले दिमाग चकमन्न बनाउँथ्यो। डाक्टर र नर्स को–को बिरामीलाई के औषधि दिने र अक्सिजन जडान गर्ने भनेर हस्याङफस्याङमा थिए।
अस्पताल आइसकेपछि अब चाहिँ सुरक्षित हुन्छु भनेर ढुक्क लाग्यो। बल्ल घरमा फोन गरेर संक्रमित भएको सुनाएँ।
बाआमालाई तनाव थप्न त्यसपछि अरु के नै चाहियो र! एम्बुलेन्स लिएर झापा तुरुन्त आउन रटान लगाउन थाल्नुभयो।
उहाँहरूले त्यस्तो कर गर्नु जायज पनि थियो। परिवारदेखि टाढा एक्लै बस्ने मान्छे, त्यसमा पनि कोभिडले कसैलाई नजिक आउनै नदिने। आमाबाको मनलाई भने बिरामी छोराछोरीसँगको दूरी मान्य थिएन।
तर, यो बेला त्यति टाढा जाने कुरा व्यावहारिक थिएन। बाआमालाई निकै सम्झाएँ। भनेँ, “लामो बाटो आउन सक्ने अवस्थामा म छैन नि त!”
अस्पतालमा दिनभरको बसाइले झन् गाह्रो महसूस भयो। ज्वरो र सास फेर्ने असहजता झन् बढे जस्तो महसूस भयो। कारण थियो, छेउछाउमा निकै जटिल अवस्थाका बिरामी देख्नु। कतिपय त मृत्युको नजिक पुगेका देखिन्थे। सास फेर्न पनि युद्ध लडिरहेका बिरामीहरूको छटपटीले दिमाग चकमन्न बनाउँथ्यो। डाक्टर र नर्स को–को बिरामीलाई के औषधि दिने र अक्सिजन जडान गर्ने भनेर हस्याङफस्याङमा थिए।
यी दृश्यले मलाई हिम्मत भर्ने कुरै थिएन, अत्यासले गलाउन थाल्यो।
फेरि कताबाट थोरतिनो साहस जुटाएँ, अक्सिजन लेभल ठीक भयो भने ज्वरो, खोकी, शारीरिक दुखाइ त खानपिनले नै जितिहाल्छु नि भन्ने लाग्यो। अब कोरोना जित्ने आफ्नो परीक्षा आफैंले लिने भएँ। जुन हरेक संक्रमितले गर्नुपर्ने संकल्प रहेछ।
पोकाभरि औषधि र कोठामै बसेर कोरोनासँग लड्ने साहस बोकेर डेरा आइपुगेँ। मनमनै गम्दै थिएँ, घरबेटी बिच्किएछन् भने देखाजाएगा!
तर, आफ्नै मन पो मैलो रहेछ। संक्रमित भएको कुरा घरबेटीलाई सुनाउँदा सुरक्षितसाथ बस्न, आवश्यक सामग्री मगाउन सल्लाह पाएँ। काठमाडौंमा भाडा लिएर बस्ने विद्यार्थीलाई घरबेटीले यो महामारीको बेला यति भन्नु कम खुसीको क्षण होइन।
पहिलो पटक मलाई डेरा पनि आफ्नै घर लाग्यो।
खाद्यान्न जुटाइदिने जिम्मा साथी निरा चौहानले लिने भइन्। हौसला र घण्टाघण्टामा स्वास्थ्य अवस्था बुझ्ने जिम्मा साथी सविनाको थियो। बेलाबेलामा मनोरञ्जन दाइ–भाउजूले अष्ट्रेलियाबाट गराइरहे। पीरको जिम्मा त भन्नै परेन, बाआमाकै ठेक्का भइगयो!
अब मैले आफ्नो मनस्थिति ठीक राखेर आफूलाई सम्हाल्नु मात्र थियो।
कोरोना भएको दोस्रो दिनबाट सोच्न थालेँ, म संक्रमित चाहिँ कहाँबाट कसरी भएछु?
कहाँ चुकेँ?
गत ३० चैतदेखि ६ वैशाखसम्म म दुईवटा विषयको रिपोर्टिङका लागि जनकपुर र त्यस वरपरका भेगमा थिएँ। सात दिन त्यहाँ बसेर काठमाडौँ फर्केपछि थाहा भयो, हामी त्यहाँ जोसँग धेरै समय हिँडेका थियौं, उहाँलाई कोरोना संक्रमण पुष्टि भएछ।
त्यसपछि एक सातासम्म हामी अरुसँग घुलमिल नगरी गुप्तबास बसेका थियौं। कोरोनाका कुनै लक्षण नदेखिएपछि हामी नियमित काममा जुट्यौं। अर्थात् त्यसवेला म कतै चुकेको थिइनँ।
यहीबीचमा कोरोना संक्रमणको दोस्रो लहर फैलिँदै गएपछि हामीले पनि कोरोनाको स्टोरी गर्ने भयौं। फेसशिल्ड र मास्क जस्ता सुरक्षाका सामग्री जुटाएर हामी रिपोर्टिङमा निस्कियौं। सेनिटाइजर, मास्क, फेसशिल्ड, सामाजिक दूरीको विशेष ख्याल थियो मलाई।
कोरोनाबाट जोगिन सक्दो कोशिश थियो मेरो। बाहिर निस्किँदा फेसशिल्ड र मास्क लगाएकै थिएँ। सेनिटाइजर हातमा टुटेको थिएन। सम्भव भएसम्म अन्य मानिसबाट दूरीमा रहन कोशिश पनि गरेकी थिएँ। तर पनि यो महाव्याधिबाट प्रभावित भइछाडियो। संक्रमित हुनुमा आफू चुक्नुभन्दा पनि अरुको लापरवाहीको शिकार भएँ भन्ने निष्कर्ष निकालेकी छु।
काठमाडौंमा बन्दाबन्दी हुनुभन्दा अघिल्लो दिन १५ वैशाखमा म शुक्रराज अस्पताल टेकु पुगेकी थिएँ। त्यहाँ व्यक्तिगत दूरी कायम राखेरै डाक्टरहरूसँग अन्तर्वार्ता लिएँ। त्यसपछि परोपकार प्रसूति अस्पताल थापाथली र भक्तपुर अस्पताल पुग्यौं।
त्यसपछि नयाँ बसपार्क पुग्यौं। त्यहाँ बन्दाबन्दी अघि गाउँ जानेको भीड थियो। घर जाने हतारोमा ओइरिएका मानिसले फेसशिल्ड र मास्क सही तरिकाले लगाउन त्यहाँ कति विचार पुर्याएका थिए होलान्, भनिरहनु नपर्ला। धेरैले फेसशिल्ड आकाशतिर, मास्क पातालतिर फर्काएर लगाएका थिए।
त्यस्तो दृश्य देख्दा मैले आफू कहाँ चुके भन्ने प्रश्नको उत्तर खोज्नु नै बेकार लाग्यो। किनकि यहाँ आफू मात्र सावधान भएर नहुँदो रहेछ।
कोरोनाबाट जोगिन सक्दो कोशिश थियो मेरो। बाहिर निस्किँदा फेसशिल्ड र मास्क लगाएकै थिएँ। सेनिटाइजर हातमा टुटेको थिएन। सम्भव भएसम्म अन्य मानिसबाट दूरीमा रहन कोशिश पनि गरेकी थिएँ। तर पनि यो महाव्याधिबाट प्रभावित भइछाडियो। संक्रमित हुनुमा आफू चुक्नुभन्दा पनि अरुको लापरवाहीको शिकार भएँ भन्ने निष्कर्ष निकालेकी छु।
घरबाहिर निस्किँदा आफू मात्रै सावधान भएर पुग्दैन रहेछ। स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा हामी हरेक व्यक्ति सावधान हुनुपर्ने रहेछ जस्तो लागिरहेको छ।
अलार्मको पहरा !
कोरोना देखिएको तेस्रो दिन शरीर असाध्यै गलेको थियो। स्वाद र गन्ध हराएको थियो। रातभर खोकी। पिरो हुने गरी छाती दुखाइ।
घरिघरि अक्सिजन नाप्दा ९०/९२ देखाउँथ्यो। त्यति वेला मेरो कोठामा भएका जेट र मनीप्लान्ट हेर्थें। यिनले पनि मलाई बचाउन अक्सिजन दिएर सघाएका होलान् जस्तो लाग्थ्यो। यस्तो वेला बाँच्ने सहारा हरेक चिजमा खोजिँदो रहेछ।
हल्का ज्वरो, खोकीले बोल्न नसकिने अवस्था, वेलावेला अक्सिजन घट्दा पनि दिनमा त जसोतसो धानिन्थ्यो, तर रात काट्न ज्यादै मुश्किल हुन्थ्यो। कोठामा एक्लै, बोल्ने र बोलाउने कोही थिएन। उता बाआमाको छटपटी मेरोभन्दा कम थिएन। आफूलाई असह्य भइरहँदा पनि मैले खूब ढाडस दिएँ।
बाआमालाई आफ्नो दुःख नदेखाएको यो पहिलो पटक थियो। हाकाहाकी ढाँटेको पनि पहिलो पटक। ‘कोठा नजिकै भाइबहिनीहरू छन्, बोलाइरहन्छन्’ भनेर १५ दिनसम्म ढाँटेँ।
अब के पीर पर्यो भने, निदाएको वेला अक्सिजन घट्यो भने? सोधखोज र हेरविचार गर्न नजिकमा त कोही छैनन्, बरु घण्टा–घण्टामा अलार्म लगाएर सुत्छु भन्ने निधो गरेँ। त्यति भए आफू जीवित भएको पक्का हुन्छ। कथं मलाई केही भइहाल्यो भने घरबेटीको नजरमा परोस् भनेर ढोकाको चुकुल नलगाई सुत्न थालेँ। त्यसपछिका दशौं रात यसैगरी अलार्मकै सहारामा बिते।
एकदिन रात छिप्पिँदै जाँदा अक्सिजन लेभल ८२ सम्म झर्यो। तत्काल भुइँमा लडेर छातीमा सिरानी च्यापेर सास लिन र फ्याँक्न थालेँ। आजको रात काट्दिनँ होला भनेर आत्तिँदै नोटकपी पो निकाल्न थालेछु।
तर, सुतेर व्यायाम गर्दा अक्सिजन लेभल ८५, ८७, ८९, ९२ भएर बढ्दै गयो।
अब के पीर पर्यो भने, निदाएको वेला अक्सिजन घट्यो भने? सोधखोज र हेरविचार गर्न नजिकमा त कोही छैनन्, बरु घण्टा–घण्टामा अलार्म लगाएर सुत्छु भन्ने निधो गरेँ। त्यति भए आफू जीवित भएको पक्का हुन्छ। कथं मलाई केही भइहाल्यो भने घरबेटीको नजरमा परोस् भनेर ढोकाको चुकुल नलगाई सुत्न थालेँ।
त्यसपछिका दशौं रात यसैगरी अलार्मकै सहारामा बिते। अलार्म बजिरह्यो, म बाँचिरहेँ। समयको सूचना दिने अलार्म मेरो लागि जिन्दगीको सूचना बोकेर झङ्कृत भइरहेको थियो।
राति गाह्रो हुने भइरहेको थियो। त्यस्तो वेला अब अस्पताल नै जानुपर्छ भन्ने सोच्थेँ। तर, राति बाहेक दिनमा त शरीर चंगा हुँदै गयो।
यसबीचमा अफिसले केही समय पूर्णरूपमा आराम गर्न सल्लाह दियो। तर, सुटिङ सकेर सबै सूचना बटुलिसकेको रिपोर्ट तयार पार्ने हुटहुटी थियो।
एक मनले त लाग्यो, रिपोर्टिङ र कामभन्दा अहिलेको लागि ज्यान पो ठूलो हो। ज्यान रह्यो भने काम र अरु कुराको अर्थ हुने हो।
तर, अर्काे मनले भन्यो- कोठामै बसेर रिपोर्ट तयार गर्दा ज्यानलाई जोखिममा पार्नुपर्दैन। म गलेकी छु, तर ढलेकी त छैन नि! फेरि रिपोर्ट बनाउने क्रममा आफू कोरोना संक्रमित भएको कुरा केही समय भए पनि भुलाइदिन्छ। मनोबल पनि बढ्छ। कोरोना सम्बन्धी महत्त्वपूर्ण जानकारी समेटिएको रिपोर्ट पनि तयार हुन्छ भनेर यो काममा अघि बढेँ।
हुन पनि म कमजोर छु भनेर निरीह महसूस गर्दा मेरो अक्सिजन लेभल एकैपटक घट्ने गर्थ्यो। त्यसैले आत्मबल उठाउन नियमित दैनिकीसरह आफूलाई काममा अड्याउने बाटो खोज्न थालेँ।
त्यसपछि समयसमयको खानपिन, व्यायाम, औषधि, कोरोनासम्बन्धी रिपोर्टको तयारी र साथीहरूको शुभेच्छा मेरा लागि सुधारका खुड्किला साबित भए। अत्यासलाग्दा तस्वीर, समाचार र तथ्यांक छरेर निराशा बढाइदिने सामाजिक सञ्जालबाट टाढा रहुनु पनि अचुक उपाय भयो।
१० दिनपछि राति सुत्दा ढोका खुला छाडे पनि घण्टा–घण्टाको अलार्म लगाउन छाडेँ। अब सम्पूर्ण समय अध्ययन र फिल्मको थियो। लेखक बुद्धिसागरले लकडाउनमा घरभित्रै बस्नुपर्दा विश्वभरिका राष्ट्रिय गान सुन्नू भनेको काम लाग्दै गयो। सयभन्दा बढी देशका राष्ट्रिय गान सुनेर प्रभावित भएँ। झट्ट हेर्दा सामान्य लाग्ने यस्ता सुझाव सञ्जीवनी बुटी सरह हुने रहेछन्।
१५औं दिनसम्म कोरोनाले जति मलाई गलाएको थियो, त्यस दिनको एउटा खबरले त थुचुक्कै बसायो। ‘इलाममा युवा नेता नवराज शंखरलाई कोरोनाले चुँड्यो रे,” फेसबूक मेसेन्जरमा खबर आयो। जुन दाइसँग पाँच दिनअघि मात्र सँगसँगै कोरोना जित्ने वाचा भएको थियो, ऊ नै अब यो संसारमा रहेन।
शरीर थरर्र काम्यो।
दाइको मृत्युको अघिल्तिर मलाई आफ्ना दुखाइ र सकस केवल बहाना लागे। यस्तो लाग्यो, दाइको मृत्युलाई मैले पनि नजिकबाट भोगेको छु।
‘मौत को छुके टक से वापस आया हुं’ भन्ने भनाइ कोरोना लाग्दा आफ्नै भोगाइ थियो, आजभोलि फिल्मको फगत एक डाइलग मात्र लाग्दै छ। मैले कोरोना संक्रमणका वेला मृत्युबोध गरेर अब अर्कै गरी बाँच्छु भनेको जीवन यस्तो होइन। म पनि समाजमा फर्किएपछि यसका कठोर नियम र तानाबानाबाट घेरिएर पुरानै शैलीको जीवनमा घस्रिन थाल्दै छु त?
भन्छन्, मृत्युबोध गरेको मान्छेले जीवन सार्थक रूपमा जिउने बेग्लै आदर्श बनाउँछ रे। तर, के मृत्युलाई छोएर आउँदैमा मानिसले जीवनलाई फरक बाँच्छ त? त्यो आदर्श जीवन बाँच्न दिन समाजका हरेक अवयव अनुकूल छन् त? जन्म र मृत्यु अरु कसैको हातमा भए पनि बाँच्न त समाज नै चाहिन्छ। समाजमा रहन यसको यथार्थलाई आत्मसात् गर्दै कठोरतासँग साइनो गाँस्नैपर्ने हुन्छ। त्यसवेला मृत्युबोधअनुसारको आदर्श जीवन कुन रसातलमा पुग्ला?
‘मौत को छुके टक से वापस आया हुं’ भन्ने भनाइ कोरोना लाग्दा आफ्नै भोगाइ थियो, आजभोलि फिल्मको फगत एक डाइलग मात्र लाग्दै छ। मैले कोरोना संक्रमणका वेला मृत्युबोध गरेर अब अर्कै गरी बाँच्छु भनेको जीवन यस्तो होइन। म पनि समाजमा फर्किएपछि यसका कठोर नियम र तानाबानाबाट घेरिएर पुरानै शैलीको जीवनमा घस्रिन थाल्दै छु त?
समाजमा बस्दा एउटा मानिस हजारौं मानिसको विचारको घेरामा हुन्छ। सायद त्यसैले ऊ आफ्नो आदर्श र सिद्धान्तमा खुलेर बाँच्न पाउँदैन। त्यो छूट र वातावरण समाजले व्यावहारिक रूपमा अझै दिएको छैन। त्यसैले पनि होला, मृत्युलाई नजिकबाट छामेका मानिसहरू समय बित्दै जाँदा फेरि उही पुरानै लयमा फर्केर बाँच्छन्।
होइन भने विशाल पहाड र छिचोल्नै नसक्ने जंगल जस्तो लागेका दुःखका क्षण खासै समय नबित्दै मानिसले किन भुल्छ त? ‘मौत को छुके टक से वापस आया हुं’ भन्ने भनाइ भोगेको मान्छेलाई नै अर्को समय एउटा फगत डाइलग किन लाग्छ?
अरुलाई किन भनूँ, म आफैंलाई हेर्दै छु– कोरोना संक्रमणले च्याप्दा सास मात्र फेराइदेऊ मलाई यो संसारमा केही चाहिँदैन भन्ने म आफैँ यो महीनाको तलब आयो कि आएन भनेर किन अकाउन्ट चेक गरिरहेकी छु? मलाई त कुनै समय सास मात्र फेर्न पाए पुग्ने भएको थियो। तर, आज फेरि हिजोका हरेक कुराको लोभ किन?
त्यसैले कतिपय पाठ क्षणिक हुँदा रहेछन्, स्मृति मात्र कालजयी हुने रहेछन्।