यसकारण सम्झिइनेछन् उज्ज्वल
रचनात्मक र शालीन तरिकाले आम मानिसको आवाज मुखरित गर्ने उज्ज्वल थापा वैकल्पिक राजनीतिको अभियान शुरू गर्ने आशलाग्दो युवाका रूपमा स्मृतिमा बसिरहनेछन्।
१८ जेठको अपराह्न विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भयो। कोभिड–१९ को संक्रमण भएर उपचार गराइरहेको समयमा उनलाई देश–विदेशबाट लाखौंले स्वास्थ्य लाभको कामना गरे। राजनीतिभन्दा बाहिरका असंख्य मानिसको शुभेच्छासँगै उनीप्रति विभिन्न राजनीतिक दलका नेताहरूले पनि असीम सद्भाव प्रकट गरे।
ईसीएमओ (एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन) प्रविधिबाट उपचार गर्नुपर्ने भएपछि थापाको परिवारले आर्थिक सहयोगको अपील गर्यो। अपील भएको २४ घण्टामै उनको उपचारका लागि देश–विदेशबाट ५० लाख जम्मा भयो। कुनै नेताको ज्यान बचाउन जनता उर्लिएको सम्भवतः यो पहिलो पटक हो।
सत्ता र शक्तिभन्दा पनि अबको नेतृत्व उद्यमी हुनुपर्छ भन्ने उज्ज्वलको विश्वास थियो। राजनीतिलाई पेशा र कमाउने माध्यम बनाउन हुँदैन भन्नेमा उनी दृढ थिए। त्यसैले थापाले नेतृत्व गरेको दलमा पूर्णकालीन कार्यकर्ता थिएनन्। अमेरिकामा उच्च शिक्षा हासिल गरेका उज्ज्वलले शहरी र मध्यमवर्गीय युवालाई राजनीतिमा जोडे। विशेषगरी सामाजिक कार्य र कुनै न कुनै पेशामा संलग्न युवाको समूह उनको राजनीतिक सहयात्री बने।
उसो त, थापा ठूलो राजनीतिक पार्टीका नेता थिएनन्। सार्वजनिक रूपमा छाइरहने व्यक्ति पनि होइनन्। सत्ता र शक्तिमा पुगेर जनताका आवाज सम्बोधन गरेर लोकप्रिय भएका पनि होइनन्। २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका उनले जमानत समेत जोगाउन सकेका थिएनन्। तर, उनी अस्पतालमा रहँदा आएको शुभेच्छा र निधनपछि आएका श्रद्धाञ्जलीका शब्दले समाज परिवर्तनको दिशामा थापाको इमानदार प्रयत्नप्रतिको सम्मान देखाएको छ।
प्राध्यापक चैतन्य मिश्र थापाको व्यक्तिगत गुण र सामाजिक कार्यले उनीप्रति सद्भाव बढाएको बताउँछन्। “राजनीतिक विचार बोकेको सरल व्यक्तिका रूपमा आमनागरिकले चिने,” मिश्र भन्छन्, “सिद्धान्त र व्यवहारको तालमेल नहुने समाजमा उनी फरक बनेर उदाए।” उनको पृष्ठभूमि, विचार र स्वच्छ व्यवहार नै सद्भाव जगाउने तत्व भएको मिश्रको बुझाइ छ।
कुर्सीमा अनिच्छा, सामूहिक आवाजमा विश्वास
थापाको नेतृत्वमा २०६९ सालमा काठमाडौंमा विवेकशील नेपाली दल स्थापना भयो। उनी विवेकशील नेपालीका संस्थापक अध्यक्ष हुन्। उनी नेतृत्वको दलले संविधानसभाको दोस्रो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा चार जना सदस्य उठाएको थियो। थापाले सामाजिक कार्य गर्दै आएका सक्रिय युवा समूह बनाएर संविधान सभाको दोस्रो चुनावपछि २०७१ सालमा मात्रै कानूनी रूपमा दल दर्ता गराएका थिए।
सत्ता र शक्तिभन्दा पनि अबको नेतृत्व उद्यमी हुनुपर्छ भन्ने उज्ज्वलको विश्वास थियो। राजनीतिलाई पेशा र कमाउने माध्यम बनाउन हुँदैन भन्नेमा उनी दृढ थिए। त्यसैले थापाले नेतृत्व गरेको दलमा पूर्णकालीन कार्यकर्ता थिएनन्। अमेरिकामा उच्च शिक्षा हासिल गरेका उज्ज्वलले शहरी र मध्यमवर्गीय युवालाई राजनीतिमा जोडे। विशेषगरी सामाजिक कार्य र कुनै न कुनै पेशामा संलग्न युवाको समूह उनको राजनीतिक सहयात्री बने। उनी राजनीतिक मञ्चमा हरेक युवा बोल्नुपर्छ भन्ने ठान्थे। आफ्नो र समाजको समस्या हरेक व्यक्ति अगाडि आएर उठाउनुपर्छ भन्ने विचार बोक्थे।
कुर्सीप्रति मोह नभएको र युवाले पार्टी, मुलुकलाई सही दिशा दिन सक्छन् भन्ने विश्वासले नै पार्टी नेतृत्व गरेको ७ वर्ष नपुग्दै थापाले नयाँ पुस्तालाई पार्टी हस्तान्तरण गरे। बाँचुन्जेल पार्टी नेतृत्व र कुर्सीमा बस्न जोडबल गर्ने राजनीतिक परिदृश्य रहेको मुलुकमा उनी त्यसमा अपवाद बने।
उज्ज्वलसँग केही समय सहकार्य गरेका अधिवक्ता ओमप्रकाश अर्याल उनलाई सामूहिक भाव बोकेको व्यक्तिका रूपमा चिन्छन्। “उहाँमा आफू नेता बन्ने, कुर्सीमा पुग्ने कुनै सपना थिएन, लोभ थिएन,” अर्याल भन्छन्, “सामूहिक रूपमा आवाज उठाएर सबैलाई अगाडि लैजानुपर्छ भन्ने सोच थियो।”
२०७६ सालमा जनकपुरमा भएको विवेकशील नेपाली दलको महाधिवेशनमा थापा अध्यक्षका रूपमा उठेनन्। नयाँ पुस्तालाई पार्टी नेतृत्वमा प्रतिस्पर्धा गर्न ‘उत्प्रेरक’को भूमिका खेले। २०७७ सालमा विवेकशील नेपाली र साझा पार्टीबीच एकीकरण भएर ‘विवेकशील साझा पार्टी’ बनेपछि पनि उनी अग्रभागमा देखिएनन्। तर, राजनीतिमा सक्रिय भइरहे।
थापासँग केही समय सहकार्य गरेका अधिवक्ता ओमप्रकाश अर्याल उनलाई सामूहिक भाव बोकेको व्यक्तिका रूपमा चिन्छन्। “उहाँमा आफू नेता बन्ने, कुर्सीमा पुग्ने कुनै सपना थिएन, लोभ थिएन,” अर्याल भन्छन्, “सामूहिक रूपमा आवाज उठाएर सबैलाई अगाडि लैजानुपर्छ भन्ने सोच थियो।” शालीन र रचनात्मक तरिकाले उठेको सामूहिक आवाज शक्तिशाली हुने उज्ज्वलमा विश्वास रहेको अर्यालको भनाइ छ।
रचनात्मक शैली
उज्ज्वलले राजनीतिमा असल आचरण, आवाज उठाउने रचनात्मक शैली र शालीनताको अभ्यास गरे। मुलुकमा वैकल्पिक शक्तिको सम्भावना देखाउने जस पनि उनलाई जान्छ। शहरिया, पढेलेखेका युवालाई राजनीतिप्रति डोर्याउनुमा पनि थापाको भूमिका छ। उनका साथीसंगी उनलाई महत्त्वाकांक्षा नभएको व्यक्ति मान्छन्। उनमा राजनीति गरेर धन कमाउने, सत्तामा पुग्ने, देश हाँक्ने सोच थिएन। सरल र सादगी जीवन उनको विशेषता रह्यो।
राजनीति गर्ने तरिका चर्को स्वर, ठूलो मासमा भाषण होइन, सरल र नैतिक हुनुपर्छ भन्ने बाटो उज्ज्वलले खनेका छन्। जनताको आवाज मुखरित गर्न विवेकको प्रयोग र असल आचरण सधैं देखाए। विरोध गर्दा र जनपक्षीय माग उठाउँदा थापाको दलले अपनाएको शालीन शैली सराहनीय मानियो।
थापामा जनताको आवाजलाई सशक्त बनाउनुपर्छ भन्ने हुटहुटी सधैं रह्यो। जहिल्यै जनताका हरेक मुद्दासँगै रहे। डा. गोविन्द केसीको आन्दोलन होस्, बन्दविरुद्धको ‘नेपाल खुला छ’ अभियान होस् वा महिला हिंसाविरुद्ध लगायतका आन्दोलनमा उज्ज्वल प्लाकार्डसहित जहिल्यै माइतीघरमा देखापरे। तर, उनले युवालाई आक्रोशित हुन सिकाएनन्, ढुङ्गामुडा गरेनन्, रेलिङ भाँचेनन्।
सरल, शालीन र रचनात्मक तरिकाले आवाज उठाउने थापाको शैलीलाई आम मानिसले रुचाएको प्रा. मिश्रको बुझाइ छ। “जनता जहिल्यै आफू र समाजको आवाज बोलिदिने व्यक्तिको खोजीमा हुन्छन्,” मिश्र भन्छन्, “ठ्याक्कै त्यही शैली उज्ज्वलले अपनाएका थिए।” भुँइमान्छेसँग घुलमिल हुने र रचनात्मक शैलीले उनीहरूको आवाज उठाएकाले उज्ज्वलप्रति सद्भाव देखिएको उनको भनाइ छ।
लामो संघर्ष गरेर स्थापित भएका, हिजो जनताले आशा र विश्वास गरेका नेताहरू समेत राजनीतिक खिचातानीमा अलमलिइरहँदा जनतामा एक किसिमको निराशा छ। यस्तै, जनजीविकाको कुरामा चिन्तनमनन गर्ने र स्वच्छ छवि भएका नेता भेट्न मुश्किल छ। यस्तो समाजमा थापा फरक र आशलाग्दो नेताका रूपमा उदाउँदै थिए।
प्रा. कृष्ण पोखरेल उज्ज्वललाई आम मानिसले सम्भावना बोकेको व्यक्तिको रुपमा चिनेको बताउँछन्। “उदीयमान र स्वच्छ छवि भएकाले उनी अझै हामीमाझ रहनुपर्छ, निको भएर पूर्ववत् बाँकी काम गर्नुपर्छ भन्ने धेरैलाई लाग्यो,” पोखरेल भन्छन्, “उदाउँदै गरेको र सम्भावना देखेको शालीन व्यक्तिलाई गुमाउँदा समाज निराश हुन्छ नै।”
नेपाली राजनीतिको अँध्यारो बाटोमा सम्भावना बोकेर बलिरहेको आशाको दियो आज निभेको छ।