चीनबाट ल्याइएको खोप २५ जेठबाट ज्येष्ठ नागरिकलाई लगाइने
चीनबाट मंगलबार ल्याइएको कोभिड-१९ विरुद्धको भेरोसेल खोप २५ जेठबाट ज्येष्ठ नागरिकलाई लगाइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सूचना प्रकाशित गरी देशभरका ६० देखि ६४ वर्षसम्मका नागरिकलाई २५ जेठबाट खोप लगाइने जनाएको छ। यसका लागि आवश्यक कागजपत्र बोकेर नजिकको स्वास्थ्य संस्थामा जान मन्त्रालयले आग्रह गरेको छ।
खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै कागजपत्र वा वडा कार्यालयले दिएको सिफारिश अनिवार्य रुपमा बोक्न पनि मन्त्रालयले सूचित गराएको छ। यस पटक पहिलो डोज लगाउँदा दोस्रो डोजको लागि पनि खोप जोगाएर लगाइने भएको छ।
चीनले अनुदानमा १० लाख डोज भेरोसेल खोप दिएको छ। त्यसमध्ये मंगलबार बेइजिङबाट आठ लाख डोज खोप ल्याइएको हो। त्यहि खोप ज्येष्ठ नागरिकलाई लगाउने तयारी गरिएको हो।
यसअघि पनि चीनले आठ लाख डोज भेरोसेल खोप दिएको थियो।
त्यस्तै, चीन स्वशासित तिब्बत सरकारले पनि दुई लाख डोज खोप दिएको छ। तिब्बतले दिएको खोपमध्ये ५० हजार ४०० डोज खोप मंगलबार बिहान काठमाडौं पुगेको छ। बाँकी बुधबार ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।