विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधन
विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधन भएको छ।
उनको उपचारका क्रममा मंगलबार निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले जनाएका छन्।
थापाको मंगलबार अपराह्न ४:२५ बजे निधन भएको नेपाल मेडिसिटी अस्पतालले जनाएको छ। उनको मेडिसिटी अस्पतालमै उपचार भइरहेको थियो।
अस्पतालका मुटु शल्यचिकित्सक डा. विजय राजवंशी र प्रवक्ता एवं मेकिडल सुपरिटेन्डेन्ट डा. राज राणाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चिकित्सकहरूको अथक प्रयास र सबैको शुभेच्छाका बाबजुत पनि वहाँको शारीरिक अवस्था सुदृढ हुन सकेन। आज मिति २०७८ जेठ १८ गते मंगलबार अपराह्न ४ बजेर २५ मिनेटमा वहाँको असामयिक निधन भएको अवगत गराउँदछौं।”
सोमबार थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो। रिपोर्ट नेगेटिभ आए पनि भाइरसले शरीरमा दीर्घकालीन क्षति गरेकोले स्वास्थ्य अवस्थामा सुधार आउन नसकेको अस्पतालले जनाएको थियो। थापालाई दुई हप्ताअघि कोरोना संक्रमण भएको थियो।
थापाको एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन (इसीएमओ) प्रविधिबाट पनि उपचार गरिएको थियो।
यसअघि थापाको ह्याम्स र ग्रान्डी अस्पतालमा उपचार भएको थियो। स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि ललितपुरपस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियाे।
४४ वर्षका थापाले लामो समयदेखि शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने माग उठाउँदै आएका थिए। थापा विवेकशील नेपाली दल र साझा पार्टी एकीकरण भएर बनेको विवेकशील साझा पार्टीको सहसंयोजक भएका थिए।
विवेकशील साझा पार्टी फुटेपछि थापा पुनः विवेकशील नेपाली दलको अध्यक्ष भए। असोज २०७६ मा भएको विवेकशील नेपाली दलको अधिवेशनबाट थापाले पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गरेका थिए।