न्यायाधीशहरू केसी र श्रेष्ठ संवैधानिक इजलासमा बस्ने भएपछि कार्की र भट्टराईले छाडे
सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले संवैधानिक इजलासमा बस्ने निर्णय गरेपछि अर्का न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छोडेका छन्।
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा न्यायाधीशहरू कार्की, भट्टराई, बम र केसी रहेका थिए। रिट निवेदक पक्षका कानून व्यवसायीले न्यायाधीशद्वय केसी र श्रेष्ठले इजलास छाड्न पर्ने माग गरेका थिए।
२३ फागुनमा नेकपाकाे एकीकरण असंवैधानिक ठहर गर्ने इजलासका श्रेष्ठ र त्यसलाई पुनरावलाेकन नगर्ने इजलासका केसी संवैधानिक इजलासमा बस्दा प्रतिनिधि सभा विघटन विरुद्धका मुद्दामा निष्पक्षता कायम नहुने भन्दै कानून व्यवसायीले त्यस्ताे माग गरेका थिए।
आज इजलासमा न्यायाधीशद्वय केसी र श्रेष्ठले आफूहरु अलग नहुने छुट्टाछुट्टै आदेश सुनाएका थिए। उक्त आदेशमा नेकपा एकीकरण सम्बन्धी मुद्दाकाे प्रतिनिधि सभा विघटन विरुद्धका निवेदनसँग सम्बन्ध नभएकाले आफूहरुले इजलास छाड्न नपर्ने उल्लेख छ।
त्यसपछि न्यायाधीशद्वय कार्की र भट्टराईको तर्फबाट न्यायाधीश कार्कीले संयुक्त आदेश सुनाए। न्यायाधीश केसी र श्रेष्ठले इजलास नछाड्ने निर्णय गरेपछि न्यायिक स्वच्छता र पवित्राका खाँतिर आफूहरू अलग हुने निर्णयमा पुगेको न्यायाधीश कार्कीले सुनाए।
उनीहरूले यस मुद्दासँग यसअघि केसी र श्रेष्ठले फैसला गरेको मुद्दाको सम्बन्ध रहेको आदेशमा लेखेका छन्। साथै उनीहरुले प्रधानन्यायाधीश जबराले अलग्गै इजलास गठन गर्दा आफूहरुलाई समावेश गरेमा भने इजलासमा बस्न तयार रहेकाे बताएका छन्।
प्रधानन्यायाधीश जबराले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा २३ जेठमा अर्को पेशी तोकेका छन्। अब यो मुद्दामा सुनुवाइ गर्न नयाँ संवैधानिक इजलास गठन गरिनेछ।
आज बिहान सर्वाेच्च अदालत बार एसाेसिएसनसँग वरिष्ठताका आधारमा इजलास गठन गर्न प्रधानन्यायाधीश जबराले सहमित गरेकाले २३ जेठमा त्यसै अनुसार इजलास गठन हुन सक्नेछ।