बर्डफ्लुबाट बच्न पन्छी व्यवसायी बढी सतर्क हुनुपर्छ
१९ वैशाखमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा बर्डफ्लु अर्थात् पन्छीमा देखिने इन्फ्लुएन्जा ए (एच फाइभ एन वान) बाट पहिलो पटक एक व्यक्तिको मृत्यु भएको सार्वजनिक गर्यो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लाल भन्छन्, “लगातार ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, मांसपेशी दुख्ने जस्ता लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ।”
नेपालमा बर्डफ्लुबाट मानिसको मृत्यु भएको पुष्टि भएको हो ?
बोलीचालीमा बर्डफ्लु भनिए पनि यसलाई हामीले हाइलिप्याथोजेनिक एभियन इन्फ्लुएन्जा भनेका छौं । यो भाइरसका कारण नेपालमा पहिलो पटक मानिसको मृत्यु भएको हो ।
ती व्यक्तिमा कुन ठाउँबाट र कसरी यो भाइरस सर्यो ?
यसबारे अनुसन्धान भइरहेको छ । ती २१ वर्षे युवकको उपचार गर्दा शंका लागेपछि पहिलो चरणमा अनुसन्धान गर्दा इन्फ्लुएन्जा ए भाइरस भएको पुष्टि भयो, दोस्रो चरणमा थप अनुसन्धान भइरहेको छ।
यो भाइरसको संक्रमण अन्य मुलुकमा कत्तिको छ ?
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार, सन् २०१८ यता अप्रिलसम्म इन्फ्लुएन्जा ए भाइरसका कारण विश्वभर कसैमा पनि यसको संक्रमण देखिएको छैन । यो अवधिमा नेपालकै घटना पहिलो हो ।
मानिसमा यो भाइरसको संक्रमण हुनु कत्तिको संवेदनशील विषय हो ?
चराचुरुङ्गीमा लाग्ने भाइरस मानिसमा सर्नु एकदमै संवेदनशील विषय हो । मानिसबाट मानिसमा भाइरस सरेमा महामारी फैलिने डर हुन्छ । त्यो अवस्था आउन नदिन हामी सूक्ष्म अनुसन्धान गरिरहेका छौं ।
भाइरसबाट बच्न के गर्नुपर्छ ?
यो भाइरस प्रायः मौसम परिवर्तन हुने बेला बढी देखिन्छ । भाइरसको लक्षण देखिए स्वास्थ्य संस्था गइहाल्नुपर्छ । संवेदनशील देखिए चिकित्सकले प्रयोगशालामा र्याल परीक्षण गर्न पठाउनुपर्छ । कुनै ठाउँमा पन्छी भटाभट मर्न लागेको देखे तत्काल पशु स्वास्थ्य विभाग तथा मातहतका कार्यालयलाई जानकारी गराउनुपर्छ ।
संक्रमित पन्छीको प्वाँख, खोर, सुली, अन्डा, दाना र काँचो मासुबाट भाइरस सर्न सक्ने भएकाले कुखुरा तथा पन्छीजन्य व्यवसायमा संलग्नहरू बढी सतर्क हुनुपर्छ । कुखुरा जस्ता पन्छीको मासु ७० डिग्री सेल्सियस माथिको तापक्रममा पकाएर खाएमा यो भाइरस सर्दैन ।
प्रस्तुतिः रामु सापकाेटा