'संवैधानिक इजलासबारे सर्वोच्च र बारबीच सहमति, वरिष्ठताका आधारमा बेन्च तोकिने'
संवैधानिक इजलास गठनका विषयमा सर्वोच्च अदालत र सर्वोच्च अदालत बार एसोसिएसनबीच सहमति भएको छ। अब वरिष्ठताका आधारमा बेन्च तोकिने भएको छ।
सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष प्रा. पूर्णमान शाक्यको नेतृत्वमा आएको टोलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग भेट गरेको हो। प्रधानन्यायाधीश जबरासँगको छलफलमा वरिष्ठताका आधारमा संवैधानिक इजलासमा न्यायाधीश तोक्ने सहमति भएको बार अध्यक्ष प्रा. शाक्यले बताए। “संवैधानिक इजलासको नियममै आवश्यकता अनुसार परिवर्तन गरी वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने सहमति भएको छ,” अध्यक्ष प्रा. शाक्यले भने।
संवैधानिक इजलासमा तोकिएका न्यायाधीशले बेन्चमा बस्न नसक्ने जानकारी दिएमा त्यसपछिको वरीयता क्रममा रहेका न्यायाधीशलाई राखिने सहमति जुटेको छ। प्रा.शाक्यले भने, “वरिष्ठताका आधारमा गठन गर्दा कुनै वरिष्ठ सदस्यलाई कन्फ्लिक्ट अफ इन्टेरेस्ट, या स्वास्थ्यको कारणबाट बस्न नसक्ने भयो भने उहाँले नबस्ने नोटिस गरेपछि त्यसभन्दा तलको वरिष्ठ जुन छ, उसलाई ल्याएर बेन्च गठन गर्ने विषयमा सहमति जनाउनुभएको छ।”
यसका लागि सर्वोच्च अदालतको फूलकोर्ट बैठक बसेर निर्णय गर्ने भएको छ। यसका लागि नियम संशोधन गर्ने सहमति पनि बनेको छ। एक हप्ताभित्र नियम संशोधन गरिने बताइएको छ।
त्यतिञ्जले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमा पनि सुनुवाइ रोकिनसक्ने भएको छ। यस विषयमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश जबराले इजलासमा जानकारी दिने तयारी गरिरहेका छन्।
प्रतिनिधि सभा विघटन विरुद्ध रिट दिएका निवेदकको तर्फबाट संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठका विषयमा प्रश्न उठाइएको थियो। निवेदकतर्फका कानून व्यवसायीले न्यायाधीशद्वय केसी र श्रेष्ठलाई संवैधानिक इजलासबाट अलग हुन सुझाव दिएका थिए।
तर, दुवै न्यायाधीश अलग नहुने निष्कर्षमा पुगेपछि विवाद बढेको हो। विवाद साम्य पार्न सर्वोच्च बारको टोलीले प्रधानन्यायाधीश जबरासँग छलफल गरी सहमति निकालेको छ।