एसईई पनि आन्तरिक मूल्यांकनबाटै गर्ने सरकारको निर्णय
सरकारले यस वर्षको एसईई पनि आन्तरिक मूल्यांकनकै आधारमा गर्ने निर्णय गरेको छ।
कोभिड–१९ को महामारीका कारण देशव्यापी रुपमा एसईई गर्न नसकिने भएकाले आन्तरिक मूल्यांकनका आधारमा गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताए। “भौतिक रुपमा परीक्षा गर्ने उपाय नै भएन। त्यहि भएर गत वर्षजस्तै परीक्षा गर्ने निर्णय गरेका हौं,” मन्त्री त्रिपाठीले भने।
अब गत वर्षजस्तै यो वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईई नजिता सार्वजनिक गरिनेछ।
शिक्षा मन्त्रालयले भौतिक रुपमा गर्न नसकिने निष्कर्ष निकालेको थियो। त्यस्तै, भर्चुअल प्रविधि पनि सबै विद्यार्थीको पहुँचमा नभएको निक्र्योल गरेको थियो। जसले गर्दा आन्तरिक मूल्यांकनलाई नै यसवर्ष पनि अबलम्बन गर्न प्रस्ताव गरेको थियो।
मन्त्रिपरिषद्को निर्णय अनुसार अब शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डलाई परित्रप गर्नेछ। त्यसैअनुसार अब देशभरका विद्यालयलाई आन्तरिक मूल्यांकनका आधारमा नतिजा तयार गर्न निर्देशन दिइने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए।
अब एसईईको मूल्यांकनका लागि नयाँ कार्यविधि बनाइने परीक्षा बोर्डका सदस्य सचिव अर्यालले बताए। “आन्तरिक मूल्यांकन पनि कसरी गर्ने भन्ने यकीन भएको छैन। त्यसका लागि अब नयाँ कार्यविधि आउँछ,” अर्यालले भने।
यस वर्षको एसईई १३ जेठबाट हुने तय गरिएको थियो। तर, कोभिड–१९ को दोस्रो लहरका कारण स्थगित भएको थियो। यस वर्ष एसईईमा देशभर पाँच लाख १७ हजार विद्यार्थी छन्।
त्यस्तै, कक्षा १२ को परीक्षा पनि स्थगित गरिएको छ। यस वर्ष विद्यालय तहका अन्य कक्षाको परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै गर्न थालिएको छ।