चीनबाट आज नौ लाख डोज भेरोसेल खोप आइपुग्दै
चीनले अनुदानमा दिएको कोभिड-१९ विरुद्धको खोपभेरो सेलको नौ लाख डोज आज नेपाल आइपुग्न लागेको छ।
चिनियाँ खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज आइतबार राति बेइजिङ गएको थियो। आज आठ लाख डोज खोप बोकेर बेइजिङबाट नेपाल एयरलाइन्सको जहाज आज काठमाडौं पुग्दैछ। दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नेपाल वायु सेवा निगमले जनाएको छ।
चीनले नेपाललाई १० लाख डोज भेरोसेल खोप दिने घोषणा गरेको थियो। त्यसमध्ये आठ लाख डोज आज ल्याउन लागिएको हो।
त्यस्तै, चीनको तिब्बत सरकारले दुई लाख डोज खोप प्रदान गरेको छ। त्यसमध्ये एक लाख डोज खोप आज काठमाडौं पुग्न लागेको हो। हिमालयन एयरलाइन्सको विमानमार्फत आजै खोप ल्याउन लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
चिनियाँ खोप ६० देखि ६५ वर्षसम्मका बृद्धबृद्धालाई लगाउने सरकारको तयारी छ। खोप प्राथमिकताका आधारमा उनीहरूलाई लगाइने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
चीनसँग थप खोप खरिदका लागि पनि पहल भइरहेको छ। यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग टेलिफोन संवाद गरेकी थिइन्।
त्यस्तै, राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग पनि टेलिफोन संवाद गरी खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गरेकी थिइन्।
यसअघि भारतले नेपाललाई १० लाख डोज कोभिशिल्ड दिएको थियो। त्यस्तै, भारतबाट २० लाख डोज कोभिशिल्ड खरिद गर्ने सम्झौता भएको थियो।
त्यसमध्ये सेरम इन्स्टिच्यूटले १० लाखमात्रै खोप दिएको छ। त्यो खोपको पहिलो डोज लगाइएको छ। सेरमले बाँकी १० लाख डोज खोप नदिँदा डोस्रो डोज लगाउन सकिएको छैन।
सेरमले थप खोप उपलब्ध गराउन नसक्ने जनाएपछि अन्य देशबाट खोप खरिदका लागि पहल थालिएको हो। चीनसँगै रुस र अमेरिकासँग पनि खोप खरिदका लागि पहल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।