नेपाल आउने यात्रुले १० दिन होटल क्वारेन्टिन बस्नैपर्ने, यस्ता छन् मापदण्ड
सरकारले १७ जेठमा नेपाली तथा विदेशी नागरिक नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड २०७८ जारी गरेको छ।
मापदण्डअनुसार, नेपाल आउन चाहने यात्रुले पछिल्लो ७२ घण्टाको फोटो एवं बारकोडसहितको पीसीआर रिपोर्टमा कोभिड–१९ नेगेटिभ भएको र क्वारेन्टिनका लागि १० दिनको होटल बुकिङ गरेको प्रमाण देखाउनुपर्ने छ।
यी प्रमाणबिना नेपाल प्रवेशको अनुमति नदिइने मापदण्डमा उल्लेख छ । नेपाल आएपछि १० दिन होटलमा आफ्नै खर्चमा अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ ।
१० दिन होटलमा क्वारेन्टिन बसिसकेपछि कोरोनाको संकेत र लक्षण नदेखिएमा वा परीक्षणमा नेगेटिभ रिपोर्ट आएकालाई मात्र गन्तव्यमा जान दिइने व्यवस्था गरिएको छ । १० दिन क्वारेन्टिन बसिसकेपछि परीक्षणमा रिपोर्ट पोजिटिभ आएमा भने फेरि कम्तीमा १० दिन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तोकेको आइसोलेसन सेन्टर वा तोकिएको अस्पताल वा होटल आइसोलेसन सेन्टरमा बस्नुपर्नेछ ।
यद्यपि, आफन्तको अन्तिम संस्कार (काजक्रिया) मा विदेशबाट आउने, दीर्घ रोगी तथा अशक्त र हेरालु व्यक्तिका लागि सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा कम्तीमा १० दिनसम्म घरमै क्वारेन्टिनमा बस्ने गरी जान अनुमति दिने मापदण्डमा उल्लेख छ । ७५ वर्ष माथिका जेष्ठ नागरिक, ५ वर्ष मुनीका नाबालक र नाबालकसँगै आएका आमाबाबु पनि होम क्वारेन्टिनमा बस्ने शर्तसहित घर जान पाउने मापदण्डमा उल्लेख छ ।
नेपाल आउने कुटनीतिक नियोगका कर्मचारी, पदाधिकारी तथा उनीहरुका परिवार सम्बन्धित कुटनीतिक नियोगको सिफारिसमा नियोगले तोकेको स्थानमा १० दिन क्वारेन्टिन बस्न पाउनेछन् ।
खाडी मुलुक र मलेशियामा वैदेशिक रोजगारीमा गएर फर्किएका नेपाली श्रमिकहरुले भने ५ दिन अनिवार्य होटलमा क्वारेन्टिन बसी पीसीआर रिपोर्ट नेगेटिभ आएमा थप १० दिन होम क्वारेन्टिन बस्ने शर्तमा जान दिइने मापदण्डमा उल्लेख छ ।
एकाघरको कुनै सदस्य अस्पतालमा आईसीयू/भेन्टिलेटरमा उपचारार्थ भर्ना भएको तर हेरविचार गर्ने कोही नभएकाहरुले पनि अस्पताल र सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा घर जान दिइने मापदण्डमा उल्लेख छ ।
मापदण्डअनुसार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा स्वीकृतिप्राप्त उडानमार्फत नेपाल आउने यात्रुले पर्यटन विभागमा दर्ता भएका तीन, चार र पाँच तारे होटलमा पनि क्वारेन्टिनका लागि बुकिङ गर्न सक्नेछन् । हवाई उडानबाट नेपाल आएका यात्रुलाई क्वारेन्टिनका लागि होटलसम्म लैजाने, यात्रुहरु १० दिन क्वारेन्टिनमा बसे÷नबसेको अनुगमन गर्ने, यात्रुहरु बिरामी परेमा उपचार गर्ने, १० दिनपछि गन्तव्यमा लैजान व्यवस्था गर्ने जिम्मा सीसीएमसीले लिनेछ । स्वास्थ्य मापदण्ड पूरा नगर्ने होटल सञ्चालक र यात्रुलाई कारबाहीको सिफारिस गर्ने जिम्मा पनि सीसीएमसीकै छ ।
होटल क्वारेन्टिनका लागि पर्यटन विभागको समन्वयमा पर्यटन बोर्डले होटलको सूचीकरण गर्नेछ । तर, सुन्धारा, ठमेल, गोंगबु, कलंकी क्षेत्रमा घना वस्ती रहेकाले कोभिड संकमणको जोखिमलाई ख्याल गरी यी क्षेत्रका होटललाई क्वारेन्टिनका लागि सूचीकरण नगरिने पनि मापदण्डमा उल्लेख छ ।
महामारीको रोकथाम र नियन्त्रणका लागि नेपाल आउने विदेशी र नेपाली नागरिकका लागि यसअघि विभिन्न मितिमा जारी गरिएका निर्णय र स्वीकृत मापदण्डका आधारमा मन्त्रीपरिषद्ले नयाँ मापदण्ड जारी गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।