किन निषेधाज्ञा छैन खोटाङ र मनाङमा?
गृह मन्त्रालयका अनुसार ७७ मध्ये ७५ जिल्लामा करीब एक महीनादेखि कोरोनाभाइरस (कोभिड–१९) लक्षित निषेधाज्ञा छ। तर, पूर्वको खोटाङ र पश्चिमको मनाङमा भने अहिलेसम्म निषेधाज्ञा लागेको छैन। तत्काल निषेधाज्ञा लगाउने सोच पनि नभएको दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी बताउँछन्।
हिमाली जिल्ला मनाङमा कोभिड–१९ बाट अहिलेसम्म १०२ जना संक्रमित भएका छन्। सोमबार साँझसम्म सक्रिय संक्रमित जम्मा २६ जना छन्। उनीहरूमध्ये नौ जना संस्थागत आइसोलेसनमा छन् भने एक जनाको पोखरामा उपचार भइरहेकाे प्रजिअ विष्णु लामिछानेले जानकारी दिए।
मनाङमा निषेधाज्ञा नलगाए पनि कोरोनाबाट जोगिन आवश्यक सबै स्वास्थ्य मापदण्डको पुरापुर पालना भएको प्रजिअ लामिछाने बताउँछन्। उनका अनुसार बाहिरी जिल्लाबाट प्रवेश गर्नेहरूले अनिवार्य १० दिन आइसोलेसनमा बस्नु पर्दछ। लामिछाने भन्छन्, “सम्बन्धित पालिका वा कार्यालय प्रमुखले आइसोलेसनमा राख्ने सुनिश्चित नगरेसम्म जिल्ला प्रवेश अनुमति दिंदैनौं।”
सक्रिय संक्रमित संख्या ५० भन्दाबढी भयो भने निषेधाज्ञा लगाउन सकिने लामिछाने बताउँछन्। सरकारले पहाडी र हिमाली जिल्लामा २०० र शहरी तथा तराईका जिल्लामा ५०० जना भन्दा बढी संक्रिय संक्रमित पुग्दा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँगको परामर्शमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाउन सक्ने निर्णय गरेको छ।
तर, ५०० जना भन्दा बढी सक्रिय संक्रमित भए पनि खोटाङमा भने निषेधाज्ञा लगाइएको छैन। सोमबारसम्म तीन जनाको मृत्यु भएको खोटाङमा ५८३ सक्रिय संक्रमित छन्। उनीहरूमध्ये ५५२ होमआइसोलनमा छन् भने २१ जना अस्पतालमा छन्। १० जनाको काठमाडौं र विराटनगरमा उपचार भइरहेको खोटाङका प्रजिअ मित्रलाल शर्मा बताउँछन्। निषेधाज्ञा लगाउन नपर्नुको कारण खोल्दै उनी भन्छन्, “स्वअनुशासनले गर्दा निषेधाज्ञा लगाउनु परेको छैन।”
प्रजिअ शर्माका अनुसार निषेधाज्ञा नलागे पनि हाटबजार, मेला, पर्व, जात्रा, पूजापाठमा भीडभाड भने कसैले गर्दैनन्। अतिआवश्यक काम नपरी कोही पनि बाहिर निस्किदैनन्।
सरकारी कार्यालय, ब्यांक तथा वित्तीय संस्थाहरू आलोपालो खोल्ने गरिएको छ। जनप्रतिनिधिहरूले प्रयोग गर्ने गाडी र खोटाङ यातायात व्यवसायी संघका दुई वटा जीपलाई नेपाली सेनाको सहयोगमा कोभिड–१९ का विरामी बोक्न मिल्ने बनाइएको छ।
“मास्क नलगाई घर बाहिर कोही पनि निस्किदैनन्,” प्रजिअ शर्मा भन्छन्, “स्थानीयको स्वअनुशासनकै कारण निषेधाज्ञा लगाउनु परेको छैन।”