कोरोनाकालमा किन गर्ने पोषणका कुरा?
खानपान र जीवनशैली परिवर्तन गरेर एक–दुई दिनमै रोगसँग लड्ने शक्ति बढ्ने पक्कै होइन, तर दिगो रुपमा स्वस्थ रहन यसो गर्नुपर्छ भन्ने कुरा हामीलाई कोरोनाकालले सिकाएको छ।
विज्ञहरूले कोरोना सङ्क्रमणले उत्पन्न गर्ने नयाँ–नयाँ समस्या र जटिलताका कुरा ल्याइरहेका छन्। जस्तै, कोरोना लागेका बेला ‘कालो ढुसी’ को सङ्क्रमण हुने व्यक्तिको स्वास्थ्यमा जटिल समस्या उत्पन्न हुनसक्छ, मधुमेह भएका व्यक्तिलाई ‘स्टेरोइड’ औषधि चलाउँदा कालो ढुसी भएर आँखा बिग्रिनुका साथै ज्यान जान सक्छ आदि।
कोरोना सङ्क्रमणले जटिलतामाथि जटिलता थप्न थालेको छ। यद्यपि एउटा कुरा प्रष्ट छ, काेराेना हुने सबैलाई जटिल समस्या हुँदैन। तर अहिले एक्कासी श्वासप्रश्वासमा समस्या आएर प्राणवायु दिन नभ्याउँदै धेरैको मृत्यु भएको समाचार आइरहेका छन्।
कोरोनाबाट बच्न घर बाहिर ननिस्केका व्यक्तिलाई बाहिरबाट आएका मानिससँग कुराकानी–भेटघाट गर्दा सङ्क्रमण भएका घटना पनि धेरै छन्। ‘मेरो त रोग प्रतिरोधात्मक शक्ति बलियो छ’ भन्दै मास्क नलाई हिँड्दा र विवाह–ब्रतबन्धमा गएर रमाइलो गर्दा कोरोना भएका कतिलाई त मैले नै चिनेकी छु।
कोरोनाबाट सकेसम्म बच्न मास्क लगाउने र साबुनपानीले हात धुने बाहेक जीवनशैली र खानपानमा ध्यान दिनु पनि जरुरी छ। खानपान र जीवनशैली परिवर्तन गरेर एक–दुई दिनमै रोगसँग लड्ने शक्ति बढ्छ भन्ने पक्कै होइन। तर, दिगो रुपमा स्वस्थ रहन, भविष्यमा पनि कोरोना र कोरोनाजस्ता अन्य सङ्क्रमणबाट बच्न यसो गर्नुपर्छ भन्ने कुरा हामीलाई समयले सिकाएको छ।
हामी भविष्यमा गाह्रो–साह्रो पर्ला भनेर ब्याङ्कमा पैसा जम्मा गर्छौं। सुन किनेर राख्छौं। समस्या परेका बेला कसैका अगाडि हात फैलाउन नपरोस् भनेर पैसाको सुरक्षा गर्न जान्ने हामीले आफ्नो स्वास्थ्यको सुरक्षा गर्न चाहिँ किन हेलचेक्र्याँईं गरेको होला बुझिनसक्नु छ।
पोषण र रोग प्रतिरोधात्मक शक्तिबारे जान्न र त्यसलाई व्यवहारमा उतार्न कोरोना सङ्क्रमण भएर घर बसेकालाई जति जरुरी छ, त्यति नै यो रोगबाट उठेर तङ्ग्रिन लागेकालाई पनि छ। यतातिर सजग भयो भने भविष्यमा उनीहरूलाई सङ्क्रमणको सम्भावना कम हुन्छ। हुन त मैले सम्भावनाकै कुरा गरेकी हुँ, किनभने कतिचोटी त अनेक तरिकाले बच्न खोज्दाखोज्दै पनि रोगले समातिहाल्छ। तर हामीले समस्या नहोस् भनेर प्रयत्न गर्न चाहिँ छाड्नु हुन्न।
मोटोपन, मधुमेह र मुटुरोगबीच घनिष्ठ सम्बन्ध छ भन्ने प्रायः सबैलाई थाहा भए पनि बेवास्ता गरिन्छ। अनि जब रोग लाग्छ,हँ...हँ... र हुँ...हुँ... गर्दै डाक्टर, अस्पताल र औषधि उपचारको खोजी हुन थाल्छ। सबै रोग र समस्यालाई रोक्न नसके पनि कतिपय रोग र समस्या रोक्ने–नरोक्ने कुरा हाम्रै हातमा हुन्छ।
हामी भविष्यमा गाह्रो–साह्रो पर्ला भनेर ब्याङ्कमा पैसा जम्मा गर्छौं। सुन किनेर राख्छौं। समस्या परेका वेला कसैका अगाडि हात फैलाउन नपरोस् भनेर पैसाको सुरक्षा गर्न जान्ने हामीले आफ्नो स्वास्थ्यको सुरक्षा गर्न चाहिँ किन हेलचेक्र्याइँ गरेको होला बुझिनसक्नु छ। आफ्नो जीवन सुखी राख्न हामी मेहनत गर्छौं, कमाइ गर्छौं, पैसा जोगाउँछौं तर यी सबै कुराको आनन्द लिने शरीरमा रोगको सङ्क्रमण नहोस्, मन र शरीर आनन्दित होस् भन्ने कुरामा चाहिँ ध्यान दिँदैनौं।
स्वस्थ जीवनशैलीमा स्वस्थ खानपान, योग, व्यायाम, तनावरहित जीवन आदि पर्दछन्। खानपानमा खाना मात्र होइन पिउने कुरा पनि स्वस्थ हुनुपर्छ भन्ने तथ्य सबैले बुझ्नुपर्छ। पिउने भनेर रक्सी पिउनु हुन्न भन्ने मात्र हैन, चिसो पेय, बट्टाका फलफूल जुस पनि पिउनु हुँदैन।
पारु र घिउकुमारी
पारु नामकी ४० वर्षीया महिलाकी आमालाई मधुमेह छ। उनका बुबा पनि मधुमेहले बितेका थिए। त्यसैले उनलाई पनि यो रोग हुने सम्भावना बढी छ। ‘कोरोनाको बेला तपाईंले आफू र आमालाई यो सङ्क्रमणबाट बचाउन जरुरी छ है,’ केही अघि मैले पारुलाई भनेकी थिएँ।
‘मधुमेह भए पनि लड्डु–पेडा, लालमोहन र चिसो पेय छोड्नै नसक्ने आमालाई मैले कोरोना भए जीउज्यानमै खतरा पर्छ, अक्सिजन कम भए अस्पताल पनि कता लैजानु भनेपछि मेरी आमालाई चेत आएको छ,’ हालै उनले मलाई सुनाइन्, ‘पछिल्लो तीन महीनामा उनको तौल आठ केजी घट्यो। डाक्टरले मधुमेहको औषधि घटाइदिए। अरू बेला जति भने पनि वास्ता नगर्ने मेरी आमाको स्वास्थ्यमा सुधार आएको छ। मान्छेलाई अरूले भनेर होइन, भित्रैबाट डर पलाएपछि चेत आउने रहेछ।’
पारुको तौल पनि सुुत्केरी भएपछि ५६ केजीबाट बढेर ७६ केजी पुगेको थियो। चकलेट, मिठाइ, चिसो पेय भनेपछि हुुरुक्कै हुने उनलाई मधुुमेहको सम्भावना अति धेरै छ भन्ने थाहा थियो। तर जिब्रोको स्वादका अगाडि केही वास्ता गरिनन्। जब उनलाई मोटोपनको कारणले ढाड र घुँडा दु:ख्न थाल्यो अनि चेत आयो।
उनले पत्रुखाना, मिठाई, चिनी, चकलेट र चिसो पेयको सेवन चट्टै छोडेर योगासन गर्न शुरू गरिन् र तीन महीनामा १५ केजी तौल घटाइन्। मोटोपन घटेपछि कतिपय समस्या आफैँ ठीक भए। अनि मात्र पारुलाई स्वाद नियन्त्रण नगरी नहुने रहेछ भन्ने लाग्यो।
स्वस्थ मानिसलाई कोरोना सङ्क्रमण हुुँदै हुँदैन भन्ने होइन, तर भइहाले पनि जटिल रूप लिने सम्भावना कम हुुन्छ। अहिले मधुुमेह भएका व्यक्तिले कोरोनाको सङ्क्रमणबाट बच्ने मात्र होइन, कालो ढुसीको सङ्क्रमणबाट बच्ने प्रयास पनि गर्नैपर्छ। कालो ढुसीले भारतमा धेरै कोरोना सङ्क्रमितमा जटिलता उत्पन्न गरेको छ।
पारुले कोरोना महामारीका बेला घर बस्दा पनि स्वस्थकर खाना मात्र खाइन् र थप तीन केजी तौल घटाइन्। अहिले पारु र उनको परिवारले प्रतिज्ञा गरेका छन्—कोरोना सङ्क्रमणबाट मात्र होइन सबै किसिमका रोगबाट बच्ने उपाय अपनाउने, स्वस्थकर खाना खाने, योगासन गर्ने र हिँड्न नछोड्ने।
पारुका कुराले हामीलाई सोच्न बाध्य गराउँछ—किन हामी समस्या आउनुभन्दा पहिले नै त्यसबाट बच्ने उपायमा ध्यान दिँदैनौँ?
स्वस्थ मानिसलाई कोरोना सङ्क्रमण हुुँदै हुँदैन भन्ने होइन, तर भइहाले पनि जटिल रूप लिने सम्भावना कम हुुन्छ। अहिले मधुुमेह भएका व्यक्तिले कोरोनाको सङ्क्रमणबाट बच्ने मात्र होइन, कालो ढुसीको सङ्क्रमणबाट बच्ने प्रयास पनि गर्नैपर्छ। कालो ढुसीले भारतमा धेरै कोरोना सङ्क्रमितमा जटिलता उत्पन्न गरेको छ। दृष्टिमा समस्या उत्पन्न भएर जीवन बचाउन आँखै झिक्नुपरेका घटना प्रकाशमा आएका छन्।
शरीरको रोगसँग लड्ने शक्ति कोरोनाको बेला मात्र होइन अरू बेला पनि सुदृढ हुनुुपर्छ। क्षयरोगबाट बच्न पनि रोगसँग लड्ने शक्ति बलियो हुुनुुपर्छ। कुनै चोटपटक लागेर तङ्ग्रिन पनि रोग प्रतिरोधात्मक शक्ति बलियो हुनुपर्दछ। मधुमेह भएपछि रोगसँग लड्ने शक्ति कम हुुन्छ, त्यसैले मधुमेह सकेसम्म नहोस् भनेर प्रयत्न गर्नुपर्दछ।
क्षयरोग भएर ३८ वर्षअघि अस्पतालमा उपचार गराउँदा मलाई डाक्टरहरूले भनेका थिए- औषधिसँगै तिमीले स्वस्थ खानपानमा ध्यान दिनु जरुरी हुन्छ, नत्र रोग ठीक भए पनि बल्झिन सक्छ। त्यो कुराले मलाई पोषणको महत्व बुझाएको थियो।
त्यतिबेला म तत्कालीन सोभियत सङ्घको युुक्रेन, खार्कोभमा चिकित्सा विज्ञानकी छात्रा थिएँ। मलाई केही रुसी साथीले घिउकुमारीको रस खानु भनेर मह र घिउकुमारी हालेको औषधि ल्याइदिएका थिए । त्यो देखेर मलाई उपचार गर्ने डाक्टरले भनेका थिए— यस्तो खान दिने साथीहरूले तिमीलाई साँच्ची नै माया गर्दा रहेछन्।
त्यो बेला औषधिसँग मन नलागी–नलागी खाएको घिउकुमारीले मलाई क्षयरोगबाट छिटै तङ्ग्रिन मद्दत गर्यो। अनि त्यही बेलादेखि मैले वनस्पतिहरूको चिकित्सकीय महत्व पनि बुझ्न पाएँ। त्यो ज्ञान मैले अहिले पनि व्यवहारमा प्रयोग गर्ने कोशिश गरिरहेकी छु।
अहिले कोरोनाकालमा सङ्क्रमण भएर घरमा बसेका मानिससँगै बिरामीले स्वस्थ जीवनशैली र खानपानको महत्त्वबारे बढी बुझ्ने मौका पाएका छन्। तर यो मौकाको कत्तिको उपयोग गर्छन्, हेर्न बाँकी छ।
(डा. उप्रेती जनस्वास्थ्यविद् हुन् ।)