कोभिड–१९ को महामारीका कारण लगाइएको निषेधाज्ञाले भौतिक रुपमा परीक्षा लिन नसकिने भएपछि चितवनमा आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको वार्षिक परीक्षाको नतिजा तयार गर्न थालिएको छ।
विद्यालयले यसअघि लिएका आन्तरिक परीक्षा र आन्तरिक मूल्यांकनका आधारमा नतिजा तयार गरिन लागिएको शिक्षा विकास तथा समन्वय एकाइ, चितवनले जनाएको छ। बाल कक्षादेखि कक्षा ९ सम्मका विद्यार्थीको वार्षिक परीक्षाको नतिजा जेठभित्र सार्वजनिक गर्न लागिएको हो।
शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भूमिलाल सुवेदीका अनुसार विद्यालयले लिएको प्रथम त्रैमासिक परीक्षामा प्राप्त अंकको २० प्रतिशत र दोस्रो परीक्षामा प्राप्त अंकको ६० प्रतिशत अंक दिइनेछ। बाँकी २० प्रतिशत विद्यार्थीको निरन्तर मूल्यांकनबाट अंक राखिने उनले बताए।
विद्यार्थीको नियमित क्रियाकलाप, बिभिन्न परियोजना, शिक्षक–शिक्षिकाले विद्यार्थी र अभिभावकसँग गरिएका कल रिपोर्ट, अनलाइन परीक्षा लिएको भए त्यसमा प्राप्त अंकलगायतबाट २० अंक दिन लागिएको सुवेदीले जानकारी दिए।
२५ जेठभित्र कक्षा ८ का विद्यार्थीको अंक सम्बन्धित स्थानीय तहमा पठाउन परिपत्र गरिएको छ। स्थानीय तहमार्फत कक्षा ८ को नतिजा सार्वजनिक गरिनेछ।
अन्य कक्षाको जेठभित्र नतिजा सार्वजनिक गर्न परिपत्र गरिएको सुवेदीले बताए। जिल्लाका निजी र केही सरकारी विद्यालयले निषेधाज्ञाको समयमा भर्चुअल माध्यमबाट परीक्षा र पढाइसमेत गरेका छन्।
चितवनमा ३२३ सामुदायिक र २१६ संस्थागत विद्यालय छन्। सामुदायिकमा ७७ हजार ३३९ र संस्थागतमा ५७ हजार ४६३ विद्यार्थी अध्ययनरत छन्।नतिजा प्रकाशनसँगै १ असारबाट नयाँ शैक्षिक सत्र सञ्चालन गरिने भएको छ।