कसले सहारा देला कोरोनाका टुहुरालाई?
कोभिड–१९ संक्रमणका कारण नेपालमा हालसम्म आठ हजारभन्दा बढीको ज्यान गएकोमा करीब १२ सय बालबालिका टुहुरा भएको अनुमान गरिएको छ। उनीहरुको हुर्काइ र रेखदेख कसरी होला भन्ने चुनौती देखिएको छ।
२३ वैशाखमा कोभिड–१९ संक्रमणका कारण बुटवल उपमहानगरपालिका–११, देवीनगरका श्रीभद्र गौतमको निधन भयो। उनका दुई छोरी ममता (२२) र सुजता (१८) ले यसबारे आफ्नी आमालाई केही बताएनन्। श्रीमान् बितेको थाहै नपाएकी लक्ष्मी गौतम त्यसपछिका झन्डै दुई सातासम्म कोभिडसँग जुधिन्। र, अन्ततः ५ जेठमा उनको पनि निधन भयो। ममता र सुजता अभिभावकविहीन बने।
“ममी पहिलादेखि नै बिरामी हुनुहुन्थ्यो, उहाँलाई झन् बढी पीडा होला भनेर बाबा बितेको सुनाएनौं, बाबा धागो कारखानाको आईसीयूमा हुनुहुन्छ भनेका थियौं। ममीलाई सन्चो भएपछि सबै कुरा भन्ने र धार्मिक संस्कार गर्ने सोच थियो”, स्नातक पहिलो वर्षमा अध्ययनरत ममता भन्छिन्, “बाबा नरहे पनि ममी हामीसँगै हुनुहुनेछ भन्ने लागेको थियो। तर, ममीलाई पनि बचाउन सकेनौं।”
ममता पछिल्लो पटक १६ वैशाखमा परिवारका चारै जना अन्तिम पटक एकसाथ बसेर खाना खाएको सम्झन्छिन्। “त्यो दिन बाबाले बजारबाट काँक्रा र स्याउ ल्याउनुभएको थियो,” उनी भन्छिन्, “खाना पनि मै बनाउँछु भन्नुभयो। हामी सबै एकसाथ बसेर खायौं, त्यो दिन धेरै रमाइलो भएको थियो।”
ममताका बाबा पाल्पा, तिनाउ-३ को सिर्जना आधारभूत विद्यालयका प्रधानाध्यापक थिए। बाबाले बहिनीलाई वकील बनाउन चाहेको र आफूलाई लोकसेवा लडेर नायब सुब्बामा नाम निकाल्न सुझाव दिने गरेको ममता सम्झन्छिन्। “अब हामी उहाँको त्यही सपना पूरा गर्न लागिपर्छौं,” आमा बितेको पाँचौं दिन हिमालखबर सँग कुराकानी गर्न तयार भएकी ममता दृढ सुनिन्थिन्।
कोभिडकै कारण एक महीनाअघि काठमाडौंका ७ वर्षीय एक बालकले पनि एक घण्टाको फरकमा आमा र बुबा गुमाए। उनकी दुई वर्षीया बहिनी पनि छिन्। यी दुई बालकलाई अहिले आफन्तले सहारा दिइरहेका छन्। बुबा–आमा बितेयता घरमा आउने शुभचिन्तकसँग बालक खासै बोलेका छैनन्।
उनले अब आफूहरुको रेखदेख अंकलहरूले गर्ने बताएको सुनाउँदै भोलिको दिनमा के गर्ने, कसरी अगाडि बढ्ने भन्नेबारे सोच्नै नसकेको बताइन्।
कोभिडकै कारण एक महीनाअघि काठमाडौंका ७ वर्षीय एक बालकले पनि एक घण्टाको फरकमा आमा र बुबा गुमाए। उनकी दुई वर्षीया बहिनी पनि छिन्। यी दुई बालकलाई अहिले आफन्तले सहारा दिइरहेका छन्। बुबा–आमा बितेयता घरमा आउने शुभचिन्तकसँग बालक खासै बोलेका छैनन्। “अस्ति म उनीहरूकहाँ गएकी थिएँ,” बालककी आफन्त डा. गंगा पाठक भन्छिन्, “पहिला–पहिला मलाई देख्ने बित्तिकै दौडेर आउँथ्यो। त्यो दिन परपरै बस्यो, आँखा जुधाएर पनि हेरेन।”
कोभिड–१९ का कारण थुप्रै बालबालिका टुहुरा बनिरहेका छन्। कसैले बुबा, कसैले आमा त कसैले दुवैलाई गुमाउनुपरेको छ। कतिका बुबा–आमा हप्तौंसम्म कोभिडले छटपटिएर घरमै बितेका छन् भने कोही अस्पतालबाट अझै फर्किएका छैनन्।
“म आफैंले पनि चार वर्षको उमेरमा बुबा गुमाएकी थिएँ,” बालमनोविद् समेत रहेकी डा. पाठक भन्छिन्, “आज करीब ६० वर्षपछि पनि उहाँको निधन हुँदाको क्षण वेलावेला दिमागमा आउँछ। बुबा–आमा गुमाउँदा बच्चालाई निकै ठूलो आघात पर्छ।”
संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को एक तथ्यांक अनुसार, गत वर्ष कोभिड–१९ का कारण दक्षिण एसियामा अत्यावश्यक स्वास्थ्य सेवा अवरुद्ध हुँदा ११ हजार आमाले ज्यान गुमाएका थिए।
नेपालमा कोभिड–१९ का कारण हालसम्म आठ हजारभन्दा बढीको मृत्यु भएको छ। यसमा प्रजनन उमेरका महिला र वयस्क पुरुषको संख्या उल्लेख्य भएकाले थुप्रै बालबालिका टुहुरा भएको हुनसक्ने अनुमान गरिएको छ।
राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी कार्यकारी निर्देशक मिलन धरेलका अनुसार, कुनै ठोस अध्ययन नभए पनि हालसम्म १ हजारदेखि १२ सय जना बालबालिकाले महामारीका कारणा एक वा दुवै अभिभावक गुमाएका हुनसक्छन्।
कोभिड–१९ सम्बन्धी तथ्यांक जुटाउने स्वास्थ्य मन्त्रालमा पनि कोभिडका कारण परिवार गुमाएका बालबालिकाको छुट्टै विवरण छैन। “अहिले व्यवस्थापनको काममा लागेको हुनाले हामीसँगै सबैखाले तथ्यांक छैनन्, तर कोभिडका कारण थुप्रै बालबालिका अनाथ भएका छन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ,” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रवक्ता डा. जागेश्वर गौतम भन्छन्, “एउटा स्याम्पल साइज लिएर यसबारे अध्ययन गर्न सकिन्छ। आउने दिनमा के कसरी गर्ने हामी छलफलकै क्रममा छौं।”
'सम्झना मात्र बाँकी'
सप्तरीस्थित सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरी (४०) को कोरोना संक्रमणका कारण ४ जेठमा विराटनगर अस्पतालमा ज्यान गयो। उनका छोरा प्रशान्त (१४) किरियापुत्री बसे।
कक्षा ८ मा पढ्ने उनी साँझ–बिहान अनलाइन कक्षा पढ्छन्। “दुःखी छ, धेरै बोल्दैन,” प्रशान्तका बुबा निरञ्जन चौधरी भन्छन्, “अहिलेसम्म केही पनि सोधेको छैन, सायद पछि प्रश्न गर्ला।”
श्रीमती सम्झेर निरञ्जनलाई कहाली लाग्छ। किन पनि भने मृत्यु हुँदा आशा गर्भवती थिइन्। निधन भएको तीन दिनअघि उनको पेटबाट मृत बच्चा निकालिएको थियो। गर्भवती अवस्थामै कोरोना संक्रमण भएकाले उनलाई धेरै औषधि दिन मिलेन।
“तीन/चार दिन घरमै अक्सिजन दिएर राख्याैं। साह्रै गाह्रो भएपछि विराटनगर लग्यौं, बेड नपाएर ३/४ घण्टा बाहिरै बस्नुपर्यो,” निरञ्जन भन्छन्।
सप्तरीकै फत्तेपुर, पारुहाङ चोकका रामदेव चौधरीको २१ वैशाखमा निधन भएपछि उनका दुई छोरी र एक छोरा एक्ली आमाको भरमा छन्। हिमानी, शिवानी र निश्चल बेलाबखत बाबा सम्झेर रुने गरेको उनीहरूका ठूलोबुवाकी छोरी रञ्जना चौधरीले बताइन्। “सोच्दासोच्दै रुन्छन्, तनावले बिरामी पर्ने डर छ,” रञ्जना भन्छिन्।
त्रिभुवन विश्वविद्यालयको गणितशास्त्रका उप–प्राध्यापक दीपक मैनालीको १० जेठमा कोरोना संक्रमणका कारण मृत्यु भएपछि उनका पाँच वर्षका छोराप्रति सामाजिक सञ्जालमा धेरैले माया व्यक्त गरेका छन्। उनी अहिले माइलो ठूलोबुवा, हजुरआमा र फूपू दिदीसँग हेटौंडास्थित ठूलोबुवाकै घरमा छन्। “तीन वर्षअघि दीपक सरको श्रीमतीको गाडी दुर्घटनामा ज्यान गएको थियो,” त्रिविकै उप–प्राध्यापक अवतार सुवेदी आफ्ना दिवंगत सहकर्मीबारे भन्छन्, “अहिले सर पनि बितेपछि सानोबाबु एक्लो परेका छन्। उनका मामा र ठूलोबुबामध्ये कसैले हेर्नुहुन्छ होला।”
दीपक त्रिविका गोल्ड मेडलिस्ट थिए। आफूले पढाएको विद्यार्थी पछि आएर सहकर्मी बनेकोमा सुवेदी गर्व महसूस गर्थे। दीपक बित्नुअघिसम्म उनका छोरा कीर्तिपुरको एक स्कूलमा नर्सरी कक्षामा पढ्ने गरेका थिए। दीपकले पछिल्लो समय आफ्नी वृद्ध आमा र नाबालक छोरालाई हेटौंडा पठाएका रहेछन्। “उहाँ कोठामा एक्लै हुनुहुन्थ्यो,” सुवेदी भन्छन्, “ज्वरो आएपछि एक्टिबायोटिक्स खाँदै बस्नुभएछ। सिकिस्त भएपछि हामीले थाहा पाएर शिक्षण अस्पताल लगेका थियौं।”
दीपकको निधनले स्तब्ध भएका विद्यार्थीहरूले उनका छोराको लागि सहयोग जुटाउन खोजिरहेको सुवेदी बताउँछन्। “अहिले निषेधाज्ञा भएर मेसो मिलेको छैन, विस्तारै बाबुका लागि सहयोगहरू जुट्छ होला,” उनी भन्छन्। छोरा नाबालक भएकाले दीपकका माइला दाजुले नै भाइको अन्तिम संस्कार गरेका थिए। ‘बाबुलाई मै पाल्छु’ भनेर उनले घर लगेको सुवेदी बताउँछन्।
मनोविद् डा. गंगा पाठकका अनुसार, हामीकहाँ अहिले कोभिडका कारण टुहुरा बनेका बालबालिका र उनीहरूको सामाजिक, मानसिक अवस्थाबारे अध्ययन भएको छैन। यद्यपि, दुर्घटना वा रोगले मृत्यु भएका व्यक्तिका नाबालक वा किशोर छोराछोरीबारे गरिएका पुराना अध्ययनहरूको भरमा अहिलेको परिस्थितिको विश्लेषण गर्न सकिन्छ।
सिन्धुपाल्चोकस्थित बाह्रबीसे नगरपालिका, राम्चेकी सावित्री तिमल्सिना चालिसेको गत वर्ष कोभिड–१९ संक्रमणका कारण सुत्केरी अवस्थामै निधन भएको थियो। नेपालमा कोभिडले ज्यान गुमाउने पहिलो व्यक्ति थिइन् उनी। यसरी, मुलुकमा कोभिडको पहिलो मृत्युमै बालबालिका टुहुरा बनेका थिए। उनका दुई छोराको हुकाई–बढाइ अहिले बाबु विमल चालिसेले गरिरहेका छन्।
त्यस्तै, काठमाडौं कपनकी विजया (नाम परिवर्तन) ले गत वर्ष जेठमा कोभिडका कारण श्रीमान् बितेको दुई दिनपछि छोरा जन्माएकी थिइन्। अहिले माइतमै बसेर छोरा हुर्काइरहेको उनी बताउँछिन्। “अहिले त सानो छ, ठूलो भएर बाबाबारे सोध्छ होला,” विजया भन्छिन्, “जन्मिँदै टुहुरो भयो। कोरोनाले गर्दा हामी एक्ला भयौं।” श्रीमान् नरहेपछि आफू पुरानो डेरामा बस्न नसकेर माइती आएको बताइन्।
माया र साथ आवश्यक
मनोविद् डा. पाठकका अनुसार, हामीकहाँ अहिले कोभिडका कारण टुहुरा बनेका बालबालिका र उनीहरूको सामाजिक, मानसिक अवस्थाबारे अध्ययन भएको छैन। यद्यपि, दुर्घटना वा रोगले मृत्यु भएका व्यक्तिका नाबालक वा किशोर छोराछोरीबारे गरिएका पुराना अध्ययनहरूको भरमा अहिलेको परिस्थितिको विश्लेषण गर्न सकिन्छ।
“अहिले बालबालिकाले कोभिडका कारण आफ्ना आफन्त वा अभिभावकले दुःख पाएको, रोएको, छटपटाएको, आत्तिएको र उनीहरूको मृत्यु नै भएको देखेका छन्,” डा. पाठक भन्छिन्, “यसले बच्चालाई गहिरो असर पारेको हुन्छ। यस्तो वेला उसले आफ्नो व्यक्तिगत स्वभावअनुसार प्रतिक्रिया जनाउँछ। ऊ अलि संवेदनशील वा भावुक खालको छ, अभिभावकको लाडे बच्चा हो वा बा–आमासँग असाध्यै नजिक थियो भने अभिभावकको निधनपछि उसलाई पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर समेत हुन सक्छ।”
मनोचिकित्सकहरूका अनुसार, अभिभावक गुमाएपछि बच्चाले आफूलाई असुरक्षित महसूस गर्ने, टोलाएर बस्ने, दिमागमा धेरै प्रश्न खेलाउने गर्छन्। कपितय आफन्तले बालबालिकालाई उनीहरूका बा–आमा बितेको कुरा लुकाउने गर्दा त्यसले उनीहरूलाई झनै दुविधामा पार्ने गर्छ।
सेभ द चिल्ड्रेन नेपालका चाइल्ड प्रोटेक्सन एड्भाइजर रविन्द्र गौतम यस्तो वेला बालबालिकालाई माया, साथ र संरक्षणको निकै आवश्यकता हुने बताउँछन्। “तुरुन्त सहायता दिन नसके भोलि गएर उनीहरू एन्जाइटी वा डिप्रेसनको उच्च विन्दुमा पुग्न सक्छन् र बालबालिकाको आत्महत्याका घटना बढ्न सक्छन्,” उनी भन्छन्, “साथै, उनीहरू हिंसा, दुर्व्यवहार, बालश्रम, कुलत र बालविवाहको पनि शिकार हुनसक्छन्। त्यसैले हामीले मानसिक स्वास्थ्य र संरक्षणको कोणबाट हेर्न एकदमै जरुरी छ।"
मनोचिकित्सकहरूका अनुसार, अभिभावक गुमाएपछि बच्चाले आफूलाई असुरक्षित महसूस गर्ने, टोलाएर बस्ने, दिमागमा धेरै प्रश्न खेलाउने गर्छन्। कपितय आफन्तले बालबालिकालाई उनीहरूका बा–आमा बितेको कुरा लुकाउने गर्दा त्यसले उनीहरूलाई झनै दुविधामा पार्ने गरेको डा. पाठक बताउँछिन्। उनका अनुसार यस्तो स्थितिमा ‘तिम्रो ममी/बुबा अस्पतालमा हुनुहुन्छ, चाँडै ठीक भएर घर आउनुहुन्छ’ भनेर झुट बोल्नुहुँदैन। “त्यसरी ढाँटियो भने एक त बच्चा बा–आमा आउने आशामा रहन्छ,” उनी भन्छिन्, “अर्को कुरा, उसलाई के भइरहेको छ भनेर धेरै अन्योल र दुविधा हुन्छ। त्यसरी दुविधाग्रस्त भएपछि निद्रामा झस्किने, ओछ्यानमा पिसाब फेर्ने, औंला चुस्ने, बिनाकारण रुने गर्न थाल्छन्। लेख्ने, पढ्ने जस्ता बौद्धिक क्रियाकलापमा पनि धेरै असर पर्छ।”
डा. पाठकका अनुसार बा–आमा गुमाएका बालबालिकालाई माया देखाउनुपर्छ, एक्लै सुताउनु हुँदैन र उनीहरूलाई भुलाउने, खेलाउने र स्वाभाविक व्यवहार प्रदर्शन गर्नुपर्छ । “कति बालबालिकाले बा–आमासँगै आफू पनि मरेको भए हुने, आफू मात्रै किन जिउँदो छु भन्ने महसूस गर्न सक्छन्,” उनले भनिन्, “उनीहरूलाई सुनिदिएर बलियो बनाउनतिर लाग्नुपर्छ र प्रेरणादायक कथा, कविता, गीत सुनाउनुपर्छ।”
अनाथ बालबालिकालाई कसले हेर्ने?
कोभिड संकटलाई ध्यानमा राखेर आफूहरूले शुरुदेखि नै कार्ययोजना बनाएको राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक धरेल बताउँछन्। “कोभिडका कारण अभिभावक गुमाएका बालबालिकालाई राज्यले संरक्षण र व्यवस्थापन गर्ने भन्नेबारे बुझाइ बनिसकेको छ,” उनी भन्छन्, “परिवार वा आफन्त भएका बालबालिकालाई परिवारभित्रै राखेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँछौं। जुन बालबालिकाको कोही पनि छैन र एकदमै अप्ठ्यारो परिस्थिति छ, उसलाई वैकल्पिक स्याहार केन्द्रमा ल्याइनेछ।”
“कोभिडका कारण अभिभावक गुमाएका बालबालिकालाई संरक्षण दिन हामी सधैं तयारी अवस्थामा छौं,” नेपाल बाल संगठन (बालमन्दिर) की अध्यक्ष विद्या उपाध्याय भन्छिन्, “त्यसका लागि प्रहरी प्रशासन, जिल्ला प्रशासन, गाउँपालिका, नगरपालिकाबाट सिफारिश आउनुपर्छ। अहिलेसम्म आएको छैन तर आगामी दिनमा पक्कै आउँछ भन्ने कुरा अहिलेको भयावह अवस्थाले देखाउँछ।”
हालै सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा अनाथ, दलित, अपांगता भएका र विपन्न परिवारका बालबालिकालाई प्रदान गरिने बाल संरक्षण अनुदानको रकम एक तिहाइले बढाइने उल्लेख थियो। सामाजिक सुरक्षा र संरक्षण अन्तर्गत सरकारले बालबालिकाको खोजतलास, संरक्षण तथा पुन:स्थापना गरी सडक बालबालिकामुक्त नेपालको अवधारणा कार्यान्वयन गरिने र यस कार्यमा क्रियाशील संघसंस्थालाई प्रोत्साहन गर्न अनुदान उपलब्ध गराउने पनि बताएको थियो।
“कोभिडका कारण अभिभावक गुमाएका बालबालिकालाई संरक्षण दिन हामी सधैं तयारी अवस्थामा छौं,” नेपाल बाल संगठन (बालमन्दिर) की अध्यक्ष विद्या उपाध्याय भन्छिन्, “त्यसका लागि प्रहरी प्रशासन, जिल्ला प्रशासन, गाउँपालिका, नगरपालिकाबाट सिफारिश आउनुपर्छ। अहिलेसम्म आएको छैन तर आगामी दिनमा पक्कै आउँछ भन्ने कुरा अहिलेको भयावह अवस्थाले देखाउँछ।”
युनिसेफ र सेभ द चिल्ड्रेनजस्ता नियोगले आ–आफ्नो तर्फबाट कोभिड प्रभावित बालबालिकालाई सहयोग गर्दै आएको बताएका छन्। युनिसेफले सरकार र नागरिक समाजसँग मिलेर अनाथ आश्रम वा स्याहार केन्द्रहरूमा रहेका बालबालिकालाई मनोसामाजिक सेवा प्रदान गर्दै आएको जनाएको छ। सेभ द चिल्ड्रेनले वडा तहको बाल संरक्षण समितिमार्फत असहाय बालबालिकाको पहिचान गर्ने, आफन्तसँग पुनर्मिलन गराउने, निजी तथा सरकारले सञ्चलन गरेका स्याहार केन्द्रमा पठाउने गरिरहेको सेभ द चिल्ड्रेन नेपालका चाइल्ड प्रोटेक्सन एड्भाइजर गौतम बताउँछन। “तर यो अल्पकालीन पहल मात्रै हाे, दिगो समाधान होइन,” उनी भन्छन्, “जोखिममा रहेका बालबालिकाको संरक्षणका लागि पद्धति नै बसाल्नुपर्छ।”
भारतमा प्रदेश सरकारको उदाहरणीय काम
कोरोना संक्रमणले ज्यान गुमाएका व्यक्तिका छोराछोरीलाई भारतमा प्रदेशपिच्छे विभिन्न राहत प्याकेज उपलब्ध गराइएको छ। टुहुरा बालबालिकाको संरक्षणमा केन्द्रीय र प्रदेश दुवै सरकारले दायित्वबोध गर्दै निःशुल्क पढाइ र मासिक भत्ताको प्रबन्ध मिलाएका छन्।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले कोभिडका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा र हुर्काइ–बढाइको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका छन्। भारतमा करीब दुई महीनाको अवधि (१ अप्रिल– २५ मे) मा कोभिड–१९ का कारण दुवै अभिभावक गुमाएका बालबालिकाको संख्या ५७७ रहेको त्यहाँकोे महिला एवं बाल विकास मन्त्रालयले जनाएको छ।
मुख्यमन्त्री केजरिवालले ल्याएको चौथो प्याकेज अनाथ बालबालिकाका लागि छ। यसमा आमा र बुवा गुमाएका बालबालिका २५ वर्षको हुँदासम्म मासिक २ हजार भारतीय रुपैयाँ दिने भएको छ। यससँगै उनीहरूलाई निःशुल्क शिक्षा प्रदान गरिनेछ। यसमा कोरोनाबाट आमाबुवा दुवै गुमाएका तथा आमा वा बुवामध्ये एक जना पहिले गुमाएका र एक जना कोरोनाबाट गुमाएका बालबालिकालाई समेटिने भएको छ।
दिल्लीका मुख्यमन्त्री केजरिवालले ल्याएको चौथो प्याकेज अनाथ बालबालिकाका लागि छ। यसमा आमा र बुवा गुमाएका बालबालिका २५ वर्षको हुँदासम्म मासिक २ हजार भारतीय रुपैयाँ दिने भएको छ। यससँगै उनीहरूलाई निःशुल्क शिक्षा प्रदान गरिनेछ।
कोभिडकै कारण टुहुरा बनेका बालबालिकाका लागि केरला सरकारले पनि एक पटकका लागि ३ लाख भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। त्यहाँका मुख्यमन्त्री पिनराई विजयनले यस्ता बालबालिकालाई १८ वर्षको हुँदासम्म मासिक भत्ता २ हजार भारु प्रदान गर्ने र स्नातक तहसम्म सरकारी खर्चमा पढाउने बताएका छन्। उडीसा र मणिपुर सरकारले पनि अनाथ बालबालिकाको जिम्मा लिने घोषणा गरिसकेका छन्।
के छ सरकारको तयारी?
कोभिड संकटलाई ध्यानमा राखेर हामीले शुरुदेखि नै कार्ययोजना बनाएका थियौं। त्यस अन्तर्गत तीन–चार वटा क्षेत्र समेटेका थियौं।
बालबालिकामा कोभिड संक्रमणको रोकथाम गर्ने, कोभिड भइहाल्यो भने उसको अवस्था सुधार गर्ने, कोभिडका कारण विपन्नतामा परेका बालबालिकाका परिवारलाई राहत सहायता प्रदान गर्ने र कोभिडपश्चात् देखिने समस्यालाई सम्बोधन गर्ने।
कोभिडका कारण बालबालिकामा देखिने स्वास्थ्य समस्या विशेषगरी पोस्ट कोभिड सिन्ड्रोमबारे हामीले हाम्रा पेडियाट्रिकहरूसँग छलफल गरेर उनीहरूलाई आवश्यक उपचार सहायता कसरी व्यवस्थित गर्न सकिन्छ भनेर योजना बनाएका छौं। कोभिडका कारण अभिभावक गुमाएर अनाथ भएका बालबालिकाका लागि पनि हाम्रा योजना छन्।
अहिले कोभिडका कारण २० देखि ५० वर्ष उमेरका मानिसको ठूलो संख्यामा मृत्यु भएको छ। यो उमेरसमूहमा १८ वर्षभन्दा कम उमेरका बालबालिका भएका घरपरिवारका व्यक्ति पर्छन्। त्यस हिसाबले गणना गर्दा हाम्रो अनुमानमा हालसम्म १ हजारदेखि १२ सय बालबालिकाले एक वा दुवै अभिभावक गुमाएका छन्।
त्यस्ता बालबालिकालाई राज्यले संरक्षण र व्यवस्थापन गर्नुपर्छ भन्नेबारे बुझाइ बनिसकेको छ। केही दिनअघि मात्रै (संघीय) मन्त्रीज्यूको अध्यक्षतामा प्रदेश मन्त्रीहरूलाई समेत राखेर हामीले यसबारे सहमति बनाएका थियौं। यस विषयमा प्रधानमन्त्रीज्यूकहाँ पत्राचार पनि गरिसकेका छौं। उनीहरूका लागि राज्यबाट दुई खालको व्यवस्थापनको प्रस्ताव हामीले गरेका छौं।
कोभिडका कारण २० देखि ५० वर्ष उमेरका मानिसको ठूलो संख्यामा मृत्यु भएको छ। यो उमेरसमूहमा १८ वर्षभन्दा कम उमेरका बालबालिका भएका घरपरिवारका व्यक्ति पर्छन्। त्यस हिसाबले हाम्रो अनुमानमा हालसम्म १ हजारदेखि १२ सय बालबालिकाले एक वा दुवै अभिभावक गुमाएका छन्।
एक, जसको परिवार वा आफन्त छ उसलाई घरपरिवारभित्रै राखेर सहायता पाउने वातावरण बनाउने। त्यसअन्तर्गत राज्यबाट सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने र उसको पठनपाठनलाई निरन्तरता दिने कुरा सुनिश्चित गर्ने। हाम्रो अनुमानमा करीब ८/९ सय यस्ता बालबालिका छन्, उनीहरूलाई परिवारमै राखेर सहायता प्रदान गर्न सकिन्छ।
दोस्रो, जुन बालबालिकाको कोही पनि छैन र एकदमै अप्ठ्यारो परिस्थिति छ, उनीहरूलाई वैकल्पिक स्याहार केन्द्रमा ल्याउने। करीब २०० देखि ३०० यस्ता बालबालिका हुनसक्छन् भन्ने हाम्रो अनुमान छ। उनीहरूलाई वैकल्पिक स्याहारमा ल्याउनेबारे हामीले तयारी गरेका छौं।
हाल, कोभिडका कारण बाबुआमा गुमाएका आठ बालबालिकालाई हामीले सहायता उपलब्ध गराइरहेका छौं। दुवै अभिभावक गुमाएका बर्दिया र रुपन्देहीका दुई जना बालकलाई हामीले राहत उपलब्ध गरायौं। त्यस्तै, दुवै अभिभावक गुमाएका स्याङ्जाका चार बालबालिका र काठमाडौं कपनकी एक बालिकाको आफन्तसँग हामी सम्पर्कमा छौं।
मन्त्रालयबाट सबै स्थानीय तहलाई एउटा अनुरोध पत्र पठाइएको छ । त्यसमा हामीले आ–आफ्ना स्थानीय तहमा कोभिडका कारण अनाथ भएका बालबालिकाको अभिलेख संघीय मन्त्रालयलाई उपलब्ध गराउन अनुरोध गरेका छौं। त्यहाँबाट तथ्यांक आएपछि स्थानीय तहको सिफारिशमा ती बालबालिकाको व्यवस्थापनमा लाग्ने खर्च हामी उपलब्ध गराउँछौं। स्थानीय तहले नै संरक्षण सेवा दिन सक्छन् भने त्यो सबैभन्दा उत्तम विकल्प हुनेछ।
हाम्रो अनुमानमा देशभर २९ हजार बालबालिका अनाथ छन्। यसमध्ये केही बालबालिकालाई सहायता उपलब्ध गराएका छौं। यस्ता बालबालिकालाई स्थानीय तहमै सामाजिक सुरक्षा कार्यक्रमबाट सम्बोधन गर्न हामीले अनुरोध गरेका छौं। यसका लागि प्रदेश सरकारसँग पनि समन्वय गर्नुपर्ने हुन्छ।
परिवारका कोही सदस्य वा आफन्त भएका टुहुरा बालबालिकालाई हामी सामाजिक सुरक्षा भत्ताको माध्यमबाट सहायता प्रदान गर्नेर्छौं। त्यसमा मासिक ५ सय/हजार रुपैयाँ कति हुन्छ, अर्थ मन्त्रालयबाट कुन ढंगले बजेट आउँछ त्यसमा आधारित रहेर भत्ता दिइनेछ। परिवारबाट बाहिर ल्याउनुपर्ने बच्चाको हकमा चाहिँ दीर्घकालीन संरक्षण सेवा अन्तर्गत खाने, बस्ने र शैक्षिक खर्च सबै उपलब्ध गराउँछौं।
हाम्रो अनुमानमा देशभर २९ हजार बालबालिका अनाथ छन्। यसमध्ये केही बालबालिकालाई सहायता उपलब्ध गराएका छौं। यस्ता बालबालिकालाई स्थानीय तहमै सामाजिक सुरक्षा कार्यक्रमबाट सम्बोधन गर्न हामीले अनुरोध गरेका छौं। यसका लागि प्रदेश सरकारसँग पनि समन्वय गर्नुपर्ने हुन्छ।
बागमती प्रदेश सरकारले यही चालु आर्थिक वर्षमा नै यस्ता प्रत्येक बालबालिकालाई मासिक रु.२ हजार सहायता उपलब्ध गराएको छ। रुकुमको सानीभेरी गाउँपालिकाले पनि आफ्नो पालिकाभित्रका अनाथ बालबालिकलाई सामाजिक सुरक्षा भत्ता आफैंले दिएको छ। यसरी स्थानीय तहले व्यवस्थापन गर्नु धेरै राम्रो हो। किनभने एउटा स्थानीय तहमा ६/७ जनादेखि मुस्किलले केही सय बालबालिका अनाथ होलान्, त्यो संख्यालाई व्यवस्थापन गर्न गाह्रो हुँदैन। स्थानीय तहबाट व्यवस्थापन भएन भने संघले अभिभावकत्व निर्वाह गर्नैपर्छ।