चुहानडाँडा विमानस्थल : यतीका ‘आङछिरिङ शेर्पा’ को नाममा किन?
बजेटमार्फत तेह्रथुमको चुहानडाँडामा बन्ने विमानस्थलको नाम ‘आङछिरिङ शेर्पा विमानस्थल’ बनाउने सरकारी घोषणा सर्वथा अनुचित छ।
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत तेह्रथुमको चुहानडाँडामा प्रस्तावित विमानस्थललाई आङछिरिङ शेर्पा विमानस्थल नामकरण गर्ने घोषणा गरेको छ।
२०७५ फागुनमा चुहानडाँडामा विमानस्थलकै सम्भाव्यता अध्ययन गरेर फर्कने क्रममा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँगै व्यवसायी शेर्पा लगायत ६ जनाले ज्यान गुमाएका थिए।
यती एअरका मालिक आङछिरिङ शेर्पा पर्यटन क्षेत्रमा कहलिएका व्यवसायी थिए। सार्वजनिक जीवनमा कमै देखिने शेर्पाको राजनीतिक पहुँच भने बलियो थियो।
मन्त्री अधिकारीसँगै शेर्पा प्रस्तावित उक्त विमानस्थलको भ्रमणमा किन गएका थिए भन्ने कारण भने अझै खुलेको छैन। तर, मन्त्रीको टोली चढेको एयर डाइनेष्टी हेली सर्भिसेज हेलिकोप्टर कम्पनीमा भने यती समूहकै लगानी छ।
ताप्लेजुङको पाथीभरा मन्दिरसम्म पुग्न केबलकार बनाउन यती समूह अन्तर्गतको पाथीभरा दर्शन केबलकार कम्पनीले अनुमति पाएको पृष्ठभूमिमा उक्त प्रस्तावित परियोजना हेर्न व्यवसायी शेर्पासँग मन्त्रीको टोली पाथीभरा मन्दिर पुर्याइएको अनुमान पनि गरिएको थियो। महालेखा परीक्षकको ५६औं प्रतिवेदनले विधिवत् सम्झौता तथा कानूनी रीत नपुर्याई पाथीभरा कम्पनीलाई ८० वर्षसम्मका लागि केबलकार सञ्चालनको जिम्मा दिइएको उल्लेख गरेको छ।
तर, यसअघिका प्रचलनहरुभन्दा फरक सरकारले उनै विवादास्पद व्यवसायी शेर्पाको नाममा विमानस्थलको नामकरण गरिदियो।
“जसको नाममा विमानस्थल बनाउन लागिएको हो, उहाँले सामाजिक उत्तरदायित्व निर्वाह गरेर समाजलाई के गुन लगाउनुभयो भन्ने आम नेपालीलाई थाहा छैन।” - खेमराज नेपाल, पूर्वसचिव
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री विमास्थलको नामकरणका विषयमा आफू अनभिज्ञ रहेको बताउँछन्। भन्छन्, “नागरिक उड्डयन प्राधिकरणले उक्त विमानस्थलको नामकरण गर्न प्रस्ताव गरेको मेरो जानकारीमा छैन।”
नाम उल्लेख गर्न नचाहने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारी भने प्रधानमन्त्री कार्यालयमार्फत यो प्रस्ताव बजेटमा परेको बताउँछन्।
सरकारले राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान गरेका व्यक्तिको नाममा विमानस्थलको नामकरण गर्न सक्छ। सरकारले सन् २००८ मा सोलुखुम्बुको लुक्ला विमानस्थललाई तेञ्जिङ–हिलरी विमानस्थल नामकरण गरेको थियो। नेपालका तेञ्जिङ शेर्पा र न्युजिल्याण्डका एडमन्ड हिलरीले सन् १९५३ मा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए।
सगरमाथाको आरोहणपछि पनि निरन्तर हिमाली क्षेत्रको सेवामा समर्पित हिलरी स्वयंले सन् १९६४ मा आफ्नै पहलकदमीमा लुक्ला विमानस्थल निर्माण गराएका थिए। सरकारले हिलरीको निधनपछि सम्मानस्वरुप उनको नाममा विमानस्थलको नामकरण गरेको थियो।
तर, आङछिरिङ शेर्पा त्यस्ता कुनै व्यक्तित्व होइनन्, जसले राष्ट्रिय योगदान गरे। एक सफल व्यवसायीको छवि बनाएका उनको विगत विवादास्पद थियो।
२४ जेठ २०७६ मा मन्त्रिपरिषद् बैठकले यती एअरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पाकी छोरी दाबाफुटी शेर्पालाई स्पेनको राजदूत नियुक्त गरेको थियो। २०७२ सालको भूकम्पछि नेकपा (एमाले) को पार्टी कार्यालय धुम्बाराहीस्थित पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानमा राखिएको थियो।
अर्को कुरा, उनले चुहानडाँडा वा तेह्रथुमका जनताका लागि कुनै उल्लेख्य काम गरेको पनि देखिँदैन, जसका कारण जिल्लावासीले उनलाई सदैव सम्झिरहून्।
यस्तो अवस्थामा जनताले तिरेको करबाट निर्माण गरिन लागिएको विमानस्थलको नामकरण व्यवसायीको नाममा गरेर सरकार किन उनलाई ‘अमर’ बनाउन चाहिरहेको छ त?
सुशासन विषयका जानकार सरकारका पूर्वसचिव खेमराज नेपाल यस्तो घोषणाले आफूलाई अचम्मित पारेको बताउँछन्। ऐतिहासिक व्यक्ति तथा मुलुकलाई ठूलो योगदान पुर्याएका व्यक्तिका नाम अमर बनाउन उनीहरुका नाममा विभिन्न संरचनाको नाम राख्ने चलन भए पनि एक व्यवसायीको नाममा विमानस्थल बनाउन खोज्नु अनौठो कुरा भएको उनी बताउँछन्।
“जसको नाममा विमानस्थल बनाउन लागिएको हो, उहाँले सामाजिक उत्तरदायित्व निर्वाह गरेर समाजलाई के गुन लगाउनुभयो भन्ने आम नेपालीलाई थाहा छैन”, उनी भन्छन्।
यतीको उच्च राजनीतिक सम्बन्ध
दिवंगत शेर्पाको स्वामित्वको यती समूहसँग प्रधानमन्त्री केपी ओलीको खास सम्बन्ध रहेको भनी आलोचनाहरु हुँदै आएका छन्।
४ जेठ २०७६ मा प्रधानमन्त्री ओलीले लुम्बिनी क्षेत्रमा आङछिरिङ गुम्बाको शिलान्यास गरेका थिए। यती समूहका सञ्चालकहरूको उच्च राजनीतिक नेतृत्वसँगको सम्बन्ध लुकेको छैन।
२४ जेठ २०७६ मा मन्त्रिपरिषद् बैठकले यती एअरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पाकी छोरी दाबाफुटी शेर्पालाई स्पेनको राजदूत नियुक्ति गरेको थियो। २०७२ सालको भूकम्पछि नेकपा (एमाले) को पार्टी कार्यालय धुम्बाराहीस्थित पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानमा राखिएको थियो। प्रतिष्ठान यती समूहका लाक्पा सोनामकी श्रीमती तथा ‘प्रथम सगरमाथा आरोही नेपाली महिला’ पासाङल्हामु शेर्पाको नाममा स्थापित संस्था हो।
चुवानडाँडा विमानस्थल र यसको नामकरणमा प्रधानमन्त्री ओलीको रुचि जोडिने आशंका गर्न सकिने अर्को कारण यो स्थान तेह्रथुमको आठराई गाउँपालिका अन्तर्गत पर्ने भएकाले पनि हो। साविकको इवा गाविसको सल्लेमा जन्मिएका प्रधानमन्त्री ओलीको घर अहिले आठराई गाउँपालिका-४ मा पर्छ।
नेपाल ट्रष्टको स्वामित्वमा रहेको नारायणहिटी दरबार अगाडिको १ रोपनी १६ आना जग्गा यती समूह अन्तर्गतकै थामशेर्कु प्रालिले ३० वर्षका लागि ‘लिज’मा पाएको विषय पनि विवादित बनेको थियो। यो लिज दिँदा कानून मिचिएको र नेपाल सरकारलाई करीब ५ अर्ब रुपैयाँ नोक्सानीमा पारिएको महालेखा परीक्षकको ५५औं प्रतिवेदनले उल्लेख गरेको छ।
नेपाल ट्रष्टकै स्वामित्वमा रहेको गोकर्ण फरेस्ट रिसोर्ट संचालन गर्दै आएको यती समूहको थामशेर्कु ट्रेकिङको ‘लबिइङ’पछि सरकारले २७९१ रोपनी ६ आना जग्गामा सञ्चालित रिसोर्टको लिज अवधि थप ३० वर्षका लागि पाएको छ।
प्रधानमन्त्रीकै गृहगाउँ
चुहानडाँडा विमानस्थल र यसको नामकरणमा प्रधानमन्त्री ओलीको रुचि जोडिने आशंका गर्न सकिने अर्को कारण यो स्थान तेह्रथुमको आठराई गाउँपालिका अन्तर्गत पर्ने भएकाले पनि हो। साविकको इवा गाविसको सल्लेमा जन्मिएका प्रधानमन्त्री ओलीको घर अहिले आठराई गाउँपालिका-४ मा पर्छ।
प्रधानमन्त्रीले ११ फागुन २०७६ मा आफ्नो पुर्ख्यौली घरमै पुगेर दलबलसहित आफ्नो ६९औं जन्मदिन मनाएका थिए। उनको जन्मदिनमा काठमाडौंबाट यती समूहकै लगानीमा र त्यही समूहका व्यक्तिले केक लगेको चर्चा पनि चलेको थियो।
“कहिले भक्तराज (कन्दङ्वा) विमानस्थल भन्छन्, कहिले के विमानस्थल, कहिले के विमानस्थल”, आठराई गाउँपालिकाकी उपाध्यक्ष रुपादेवी कन्दङ्वा भन्छिन्, “बर्सेनि नीति तथा कार्यक्रममा राख्छन्, बजेट पनि छुट्याएजस्तो गर्छन् तर बनेको चाहिँ कहिल्यै होइन।”
चुहानडाँडामा २०३२ सालदेखि विमानस्थल निर्माणको चर्चा शुरु भएको हो। विमानस्थल निर्माणको सम्भाव्यताबारे पाँच पटक अध्ययन भइसकेका छन्।
आठराई गाउँपालिकाकी उपाध्यक्ष रुपादेवी कन्दङ्वा प्रस्तावित चुहानडाँडा विमानस्थलमा लामो समयदेखि नामको राजनीति चलिरहेकोमा आक्रोश व्यक्त गर्छिन्। “कहिले भक्तराज (कन्दङ्वा) विमानस्थल भन्छन्, कहिले के विमानस्थल, कहिले के विमानस्थल”, उनी भन्छिन्, “बर्सेनि नीति तथा कार्यक्रममा राख्छन्, बजेट पनि छुट्याएजस्तो गर्छन्, तर बनेको चाहिँ कहिल्यै होइन।”
स्थानीयले विमानस्थलको नाम चुहानडाँडा-थुम्की राखेको बताउँदै उपाध्यक्ष कन्दङ्वा अहिलेको नामबारे स्थानीयसँग कुनै छलफल भएको आफूले थाहा नपाएको बताउँछिन्।
सुकेटारको चर्चा
उसो त, हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा बजेटले सुकेटार विमानस्थलको नाम परिवर्तन गरी रवीन्द्र अधिकारी विमानस्थल राख्न गरेको घोषणाको पनि आलोचना भएको छ। नेकपा एमालेका नेता योगेश भट्टराईले कुनै पनि स्थानको परिचय परिवर्तन गर्न खोज्नुअघि स्थानीय बासिन्दासँग छलफल गर्नुपर्ने बताएका छन्। भट्टराई ताप्लेजुङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।
आइतबार बिहान फेसबूकमा भट्टराईले लेखेका छन्, “ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरूको परिचय बदल्नुअघि त्यसको आवश्यकता, औचित्य, सान्दर्भिकता र परिणामबारे स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिक स्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नुपर्छ।”