बीपी प्रतिष्ठान : अक्सिजन प्लान्टमा कमिसनको चक्कर
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको अक्सिजन प्लान्ट केहि पदाधिकारी र कर्मचारीको कमिसन खाने भाँडो बनेको छ।
जेठ पहिलो साता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको अक्सिजन प्लान्टमा समस्या आयो। प्रतिमिनेट १६ सय लिटर उत्पादन क्षमता भएको प्लान्टका दुई टावर मध्ये एउटा पहिले नै बिग्रिएको थियो। एउटा टावरबाट ८ सय लिटर प्रतिमिनेट उत्पादन भईरहेकोमा ‘ओभरलोड’का कारण पड्किएपछि प्रतिष्ठानमा अक्सिजनको हाहाकार मच्चियो।
त्यहिबेला प्रतिष्ठानको कोभिड अस्पतालमा एकैदिन ७ जनासम्मको मृत्यु भएपछि अक्सिजन नपाएर ज्यान गएको खबर फैलियो। अक्सिजन प्लान्ट विग्रिएपछि प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीले नयाँ विरामी भर्ना नलिन गोप्य सर्कुलर गरे। विरामी भर्ना लिन छाडिएको हल्ला पनि चाँडै फैलिहाल्यो। तर प्रतिष्ठानले भने ‘अक्सिजन प्लान्ट नबिग्रिएको’ र ‘विरामी भर्ना लिईरहेको’ दाबी गरिरह्यो।
चौतर्फी दबाव परेपछि अन्तत: ८ जेठमा भने प्रतिष्ठानले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै अक्सिजन प्लान्टमा प्राविधिक समस्याका कारण पर्याप्त अक्सिजन उत्पादन हुन नसकेको स्विकार गर्यो। प्लान्ट मर्मत कार्य भईरहेको भन्दै प्रतिष्ठानले आफ्नो अक्सिजन सिलिन्डर उपलब्धताको आधारमा नयाँ विरामी भर्ना लिई उपचार गर्ने उल्लेख गरेको थियो। ११ जेठमा मात्र अक्सिजन प्लान्ट मर्मत भएर पूर्ण रुपमा सञ्चालनमा आयो। त्यतिबेलासम्ममा प्रतिष्ठानको कोभिड अस्पतालमा २१ जना सङ्क्रमितको ज्यान गईसकेको थियो।
प्रतिष्ठानको अक्सिजन प्लान्टमा समस्या आएको यो नै पहिलो पटक होईन। अक्सिजन अभाव भएको समयमा बिग्रिएकाले बढि चर्चा पाएको मात्र हो, यसअघि पनि पटक पटक बिग्रने, थन्किने र मर्मत, बाहिरबाट खरिदका नाममा कमिसनको खेल हुने गरेको थियो। प्रतिष्ठानका केही पदाधिकारी र केही कर्मचारीको कमिसन खाने भाँडोका रुपमा परिचित छ यो अक्सिजन प्लान्ट।
यस्तो छ कमिसनको चक्कर
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अक्सिजन जेनेरेसन सिष्टम खरिदका लागि २५ चैत २०७२ मा ४ करोड ९६ लाख लागत अनुमान सहित बोलपत्र आव्हान भएको थियो।
३ करोड ४० लाख ६ हजार ४ सय रुपैयाँमा ठेक्का पारेको डाईग्नोकेम इन्टरनेशनलसँग २९ असार २०७३ मा खरिद सम्झौता भयो। सिस्टम खरिद गर्दा आपूर्ति गर्ने विभिन्न ५ कम्पनी मध्ये अक्सिवाईजसँग ११ कार्तिक २०७३ (२७ अक्टोबर २०१६), आरआईएक्ससँग ४ कार्तिक २०७३ (२० अक्टोबर २०१६) र युनिषी, काएसर र एमडिसँग १३ कार्तिक २०७३ (२९ अक्टोबर २०१६) सम्म आपूर्ति तथा जडान गर्ने गरि प्रतितपत्र खोलिएको थियो। सबै कम्पनीले युनिषी इन्डियालाई आधिकारिकता दिएपछि युनिषीले नेपालको स्थानीय एजेन्ट डाइग्नोकेमलाई अख्तियार प्रदान गरेको थियो तर तोकिएको मितिमा ठेकेदार कम्पनी डाईग्नोकेमले समान आपूर्ति गरेन र प्लान्ट अलपत्र बन्यो।
प्रतिष्ठानका तत्कालिन उपकुलपति बलभद्रप्रसाद दासले सुरुमै ३ करोड १० लाख ३ हजार ९२ रुपैयाँ भुक्तानी दिएपछि डाईग्नोकेमका सञ्चालक विज्ञान अर्याल दुई वर्षसम्म पुरा कामै नगरी सम्पर्क विहिन रहे। भारतीय कम्पनी युनिषीको स्थानीय एजेन्ट डाईग्नोकेमले समयमा प्लान्ट निर्माण नगरेपछि युनिषीले नै भारतीय प्राविधिक ल्याएर काम चलाउ रुपमा सिष्टम जडान गरिदियो।
प्रतिमिनेट १६ सय लिटर उत्पादन क्षमताको अक्सिजन प्लान्ट तत्काल प्रतिमिनेट ८ सय लिटर मात्र उत्पादन गर्ने गरी २४ कार्तिक २०७५ मा तत्कालिन उपकुलपति राजकुमार रौनियारले उद्घाटन गरेका थिए। तर केही समयमै समस्या उत्पन्न भएर प्लान्ट बन्द भयो। किन कि त्यसबेला प्लान्टको ‘एयर ड्रायर’मा एउटा भल्भ जडान गरिएको रहेनछ। १७ भदौ २०७६ मा भल्भ जडान गरेर प्लान्ट पुन: सञ्चालनमा ल्याइएको थियो।
अक्सिजन प्लान्ट उद्घाटनका बेला अस्पताल निर्देशक गौरीशंकर साहले भनेका थिए, ‘पुरै भुक्तानी लिएर काम नगर्ने कम्पनीलाई क्षतिपूर्ति तिराउन पहल गरिनेछ।’ तर डाईग्नोकेमलाई अहिलेसम्म क्षतिपूर्ति तिराईएको छैन। उल्टै वर्तमान उपकुलपति ज्ञानेन्द्र गिरी र अस्ताल निर्देशक साहले अनावश्यक भुक्तानी दिईरहेका छन्।
सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२१ अनुसार खरिद सम्झौताको १ सय २० दिनको समयमा कार्य सम्पन्न हुन नसकेमा आपूर्तिकर्ताले सम्झौता रकमको ०.०५ प्रतिशत प्रतिदिनका दरले क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था गरेको छ। सोहि व्यवस्था अनुरुप डाईग्नोकेमलाई ३२ लाख ४० हजार ६ सय ४० रुपैयाँ हर्जना तिराउन महालेखा परिक्षकको कार्यालय, प्रतिष्ठानको आर्थिक प्रशासन र खरिद शाखाले सिफारिस गरेका थिए। प्रतिष्ठान स्रोतका अनुसार हालसम्म डाईग्नोकेमले तिर्नु पर्ने जरिवाना ६८ लाख पुगिसकेको छ।
त्यस्तै खरिद सम्झौतामा आपूर्तिकर्ताका कारण प्रतितपत्र संशोधन भई सटही दरका कारण बढि व्ययभार पर्ने भएमा आपूर्तिकर्ताले नै व्यहोर्नु पर्ने व्यवस्था छ। डाईग्नोकेमले अक्सिजन प्लान्ट ढिलो आपूर्ति गरेका कारण ९ लाख ४४ हजार ७ सय ४३ रुपैयाँ सम्झौता विपरित बढि भुक्तानी भएको महालेखा परिक्षण प्रतिवेदन २०७३/०७४ ले औंल्याएको थियो। प्र
तिवेदनको दफा ५६.१ मा लेखिएको छ, ‘...लेखा परिक्षणको अवधीसम्म प्लान्ट जडान तथा सञ्चालन हुन सकेको देखिंदैन। जसबाट प्रतिष्ठानलाई अक्सिजन खरिदमा नियमित रुपमा भुक्तानी गर्नुपरेको अवश्था छ भने सो बाट प्राप्त हुने गुणस्तरीय अक्सिजन तथा सेवा प्राप्तिबाट बञ्चित हुनु परेको अवश्था छ।’
समयमा अक्सिजन प्लान्ट जडान नहुँदा सो अवधिमा प्रतिष्ठानले करिब ३ करोडको त बाहिरबाट अक्सिजन खरिद गर्नु परेको थियो।
प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानमा भएका अनियमितताका विषयमा छानबिन गर्न २०७५ सालमा केदारबहादुर अधिकारीको संयोजकत्वमा गठन गरेको छानबिन टोलिले पनि अक्सिजन प्लान्ट आपूर्तकलाई जरिवाना तिराउनु पर्ने र बढि भुक्तानी भएको रकम फिर्ता ल्याउनु पर्ने उल्लेख गरेको थियो। दुवै गरेर हालसम्म प्रतिष्ठानले डाईग्नोकेमसँग लिनु पर्ने ७७ लाख भन्दा बढी असुल गर्न सकेको छैन।
क्षतिपूर्तिको साटो भुक्तानी थपिंदै
खरिद सम्झौतामा अक्सिजन प्लान्टमा ६३ महिनाको वारेन्टी÷ग्यारेन्टी उल्लेख गरिएको छ। त्यसको अर्थ, पाँच वर्षसम्म प्लान्ट बिग्रिएमा बनाउने जिम्मेवारी डाईग्नोकेमको हुन्छ। तर प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीले गत साता मात्र प्लान्ट मर्मतका नाममा ३० लाख रुपैयाँ भुक्तानी दिएका छन्।
प्रतिष्ठानको खरिद र आर्थिक प्रशासन शाखाले पटक पटक टिप्पणी लेखेर उपकुलपति र अस्पताल निर्देशकलाई डाइग्नोकेमले अक्सिजन प्लाण्टको सर्भिस रिपोर्टहरुको मुलप्रति पेश नगरेको, प्राविधिकबाट प्रमाणित समेत नगरेको, मर्मत सम्भारमा प्रयोग भएका सामग्रीहरु वारेन्टी/ग्यारेन्टीको समय भित्र नपर्ने बारे पुष्टी नभएको र उक्त कम्पनीले पेश गरेको दररेटको यकिन गर्न प्रज्ञापन पत्रको प्रतिलिपि पनि नभएको अवस्थामा भुक्तानी गर्न नमिल्ने उल्लेख गरेका थिए।
तर, उपकुलपति गिरी र अस्पताल निर्देशक गौरीशंकर साहको जोडबलमा भुक्तानी भएको हो। अक्सिजन प्लान्टको मर्मतका नाममा हालसम्म ५५लाख खर्च भईसकेको छ। प्रतिष्ठानको आर्थिक प्रसासनका एक अधिकारी भन्छन्, ‘उपकुलपति र निर्देशक जस्ता व्यक्तिलाई नियम कानुन थाहा नहुने कुरा भएन, कमिसनको चक्करमा भुक्तानी भईरहेको छ। कसले रोक्ने?’
२५ वैशाख भित्र जडान गर्नेगरी गत मङ्सिरमा सम्झौता भए पनि हालसम्म प्लान्ट जडान भएको छैन। तर, प्लान्टको ठेक्का पाएको कम्पनीले भुक्तानी पाइसकेको छ।
प्रतिष्ठानको खरिद आदेश बिनै अक्सिजन प्लान्टको ३ हजार, ६ हजार र ९ हजार घन्टा सञ्चालन पछि मर्मत गरिएको डाईग्नेकेमले दाबी गरेकोमा उक्त रकम कानुन विपरित बुझाइएको हो। अहिले १२ हजार घन्टाको मर्मतका लागि २० लाख पुन: मागेपछि उपकुलपति र डाईग्नोकेममा सञ्चालक विज्ञान अर्यालबीच कमिसनको ‘बार्गेनिङ’ भईरहेको स्रोतले बताएको छ।
अक्सिजन प्लान्टका सामग्री आपूर्तिका लागि प्रिन्सिपल कम्पनीहरु अक्सिवाईज, काएसर, आरआईएक्स र एमडि सबैले युनिषी इन्डियालाई आधिकारिकता प्रदान गरेपछि युनिषी इण्डियाले काठमाडौंको डाईग्नोकेम इन्टरनेशनललाई अख्तियारी दिएको थियो। तर डाईग्नोमेकले बद्मासी गरेपछि युनिषीले समेत ‘ब्ल्याक आउट’ गरिसकेको छ।
प्रतिष्ठानका तत्कालिन उपकुलपति राजकुमार रौनियारले पनि डाग्इग्नोकेम र सञ्चालक विज्ञान अर्याललाई कालोसूचिमा राख्ने निर्णय गरेका थिए। निर्णयपछि प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयमा कालोसूचिका लागि पठाउनु पर्नेमा प्रतिष्ठानले उक्त निर्णय कार्यान्वयन गरेन।
कालोसूचिमा राख्ने निर्णय भईसकेको कम्पनीबाट थप कार्यहरू गराउन कानुनविपरीत रहेको आर्थिक प्रसासन र खरिद शाखाले उपकुलपतिलाई दिएको टिप्पणीमा उल्लेख भए पनि उपकुलपति गिरी र अस्पताल निर्देशक साहको मिलेमतोमा अहिले डाईग्नोकेमलाई नै अक्सिजन पाईपलाईन विस्तार र सिलिन्डरको नयाँ ठेक्का समेत दिइएको छ।
डाईग्नोकेमले विराटनगरको कोशी अस्पतालमा समेत अक्सिजन प्लान्ट ठेक्का लिएर अलपत्र पारेको छ। अमेरिका नेपाल मेडिकल फाउन्डेसनले १ करोड ७ लाख रुपैयाँ अक्सिजन प्लान्टका लागि सहयोग गरेपछि त्यसको ठेक्का विज्ञान शर्माको डाईग्नोकेम इन्टरनेशनलले पाएको थियो। २५ वैशाख भित्र जडान गर्नेगरी गत मङ्सिरमा सम्झौता भए पनि हालसम्म प्लान्ट जडान भएको छैन। तर अर्यालले भुक्तानी भने पाईसकेका छन्। उनले अस्पताललाई तेस्रो मुलुकबाट समान भारत आईसकेको र चाँडै जडान हुने बताउने गरेका छन्।
‘अक्सिजन प्लान्टका अरु कुरा खोजि गर्ने समय पछि पनि आउला तर अहिले कसरी विरामीको ज्यान बचाउने त्यसैमा फोकस छौं। अरु सोच्न पाइएको छैन।’
दुई प्लान्ट अलपत्र
डाईग्नोकेमले ठेक्का पारेको १६ सय लिटर प्रतिमिनेट क्षमताको अक्सिजन प्लान्ट पछिल्लो पटक मर्मतपछि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ तर कोरोना महामारीको अहिलेको समयमा त्यतिले मात्र पूर्ण रुपमा नपुगेपछि प्रतिष्ठानले अहिले पनि प्रति सिलिन्डर ८ सय रुपैयाँका दरले दैनिक ४० सिलिन्डर अक्सिजन खरिद गरिरहेको छ।
तर प्रतिष्ठानसँग रहेको प्रतिमिनेट २ सय ५० लिटर उत्पादन क्षमताको अक्सिजन प्लान्ट बिग्रिएर थन्किएको चार÷पाँच वर्ष भईसक्यो। यसलाई मर्मत गर्न तर्फ प्रतिष्ठानले ध्यान दिएको छैन। बरु बाहिरबाट सिलिन्डरका अक्सिजन किन्ने गरेको छ।
त्यसो त सरकारले प्रतिष्ठानको कोभिड अस्पतालका लागि छुट्टै अक्सिजन प्लान्ट निर्माण गर्न चैत २०७६ मा २ करोड बजेट दिएको थियो। प्लान्ट निर्माणका लागि टेन्डर समेत आवहान भएकोमा दुई महिनाअघि उपकुलपति गिरीले टेन्डरै क्यान्सिल गरिदिए।
यी अलपत्र दुई प्लान्ट बनेका भए प्रतिष्ठानले अक्सिजनको अभाव भोग्नु पर्ने थिएन। बाहिरबाट खरिद गर्नुपर्ने पनि थिएन र सर्वसाधारणले अक्सिजन अभावमा ज्यान गुमाउनु पर्ने थिएन। तर प्रतिष्ठान पदाधिकारीहरुलाई यस्तो चिन्ता र मतलब दुवै छैन। किन कि अक्सिजन प्लान्टको जिम्मा पाएका सम्बन्धित विषयका बायोमेडिकल इन्जिनियरलाई हटाएर उपकुलपति गिरीले इलेक्ट्रो इन्जिनियरलाई जिम्मा दिएका छन्। उनलाई अक्सिजन प्लान्टका विषयमा थाहा हुने कुरा भएन। प्रतिष्ठानका अक्सिजन प्लान्टहरुमा समस्याको सुरुवात त्यहिंबाट भएको छ।
अक्सिजन प्लान्टमा भएको बद्मासीबारे प्रतिष्ठानका पदाधिकारीहरु बोल्दै चाहँदैनन्। उपकुुलपति गिरी त फोन समेत उठाउँदैनन्। प्रतिष्ठानका सह–प्रवक्ता डा.चुरामणी पोख्रेल भने पहिला कसले के गरे भन्दा पनि अहिले कसरी उपचार गर्ने र विरामीको ज्यान बचाउने भन्नेमा आफुहरु फोकस भएको बताउँछन्। भन्छन्, ‘अक्सिजन प्लान्टका अरु कुरा खोजि गर्ने समय पछि पनि आउला तर अहिले कसरी विरामीको ज्यान बचाउने त्यसैमा फोकस छौं। अरु सोच्न पाइएको छैन।’