खोप खरीदमा सहजीकरणका लागि राष्ट्रपति भण्डारीद्वारा रुसी राष्ट्रपतिलाई पत्र
कोभिड-१९ विरुद्धको खोप खरीदमा सहजीकरण गर्न आग्रह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई पत्र पठाएकी छिन्।
नेपालले रुसमा उत्पादन भएको कोभिड-१९ विरुद्धको खोप ‘स्पुतनिक-५’ खरीद गर्न खोजेको छ। त्यसका लागि सहजीकरण गरि दिन आग्रह गर्दै राष्ट्रपति भण्डारीले पत्र पठाएकी हुन्।
परराष्ट्र मन्त्रालयमार्फत रुसी राष्ट्रपति पुटिनलाई पत्र पठाएको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ। पत्रमा नेपाल महामारीको संकटमा रहेको र जनतालाई बचाउन खोप अनिवार्य भएकोले सजहीकरण गरिदिन आग्ह गरिएको छ।
स्वास्थ्य सेवा विभागले रुसी खोप स्पुतनिक–५ लाई आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ। विभागले यसअघि भारत र चीनमा उत्पादिन खोपलाई पनि आपतकालीन प्रयोगका लागि अनुमित दिएको थियो।
यसअघि शुक्रबार राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र पठाएका थिइन्। राष्ट्रपति भण्डारीले पठाएको पत्र अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले डिसीस्थित स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिंगालाई हस्तान्तरण गरेका थिए। राजदूत खतिवडाले अमेरिकी सरकारसँग नेपालले एस्ट्राजेनिका खोप अधिकतम प्राप्त गर्ने अपेक्षा राखेको समेत मासिंगालाई बताएका थिए।
राजदूत खतिवडासँगको भेटमा मासिंगाले अमेरिकी सरकारले खोपको प्रक्रियालाई तदारुकताका साथ अगाडि बढाउने बताएका थिए। उनले कोभ्याक्स अन्तर्गतको खोप र द्विपक्षीय सम्झौताअनुरूप नेपालले प्राप्त गर्ने अंश सम्भव भएसम्म छिटो उपलब्ध गराउने बताएका थिए।