उज्ज्वल थापाको स्वास्थ्य अवस्था थप जटिल
विवेकशील साझा पार्टीका पूर्वसहअध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य अवस्था थप जटिल बनेको छ।
कोरोना संक्रमित भएर नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन (इसीएमओ) प्रविधिबाट उपचार गराउँदा पनि अवस्थामा सुधार आएको छैन।
विवेकशील साझा पार्टीका सञ्चार समूहका सदस्य उद्धवराज भेटवालका अनुसार थापाको अस्पतालभन्दा बाहिरका विशेषज्ञहरूको सल्लाहमा समेत उपचार भइरहेको छ।
यसअघि थापाको ह्याम्स र ग्रान्डी अस्पतालमा उपचार गरिएको थियो। ४५ वर्षका थापा विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष हुन्।
थापाले लामो समयदेखि शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने माग उठाउँदै आएका छन् । शहरी र शिक्षित युवालाई राजनीतिमा डोर्याउन थापाले प्रशंसनीय भूमिका खेलेको मानिन्छ।
२०७६ असोजमा भएको महाधिवेशनमा थापाले पार्टीको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गरेका थिए। मिलन पाण्डे अध्यक्ष भएसँगै विवेकशील नेपाली दल र साझा पार्टी मिलेर विवेकशील साझा पार्टी बनेको छ।