थप निषेधाज्ञाबारे के भन्छन् ललितपुरका प्रजिअ?
एक महीना लामो निषेधाज्ञापछि संक्रमणमा केही कमी आएको देखिन्छ। त्यसोभए के निषेधाज्ञा खुकुलो होला त?
कोभिड-१९ महामारी नियन्त्रणका लागि सरकारले १६ वैशाखमा काठमाडौं, ललितपुर र भक्तपुर लगायतका जिल्लामा निषेधाज्ञा जारी गर्यो। त्यस दिन देशभर १३ हजार ५६० जनाको स्वाब परीक्षण गरिएको थियो, जसमा ४ हजार ९२८ जनामा कोरोना पोजेटिभ देखिएका थिए।
ठीक एक महीनापछि हिजो १५ जेठमा १४ हजार ७५२ जनाको स्वाब परीक्षण गरियो, जसमध्ये ४ हजार ४८७ जनामा काेराेना देखिएकाे थियाे। एक महीना लामो निषेधाज्ञापछि संक्रमणमा केही कमी आएको देखिन्छ। त्यसो भए के निषेधाज्ञा खुकुलो होला त?
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला भने यो साताको संक्रमण दर हेरेपछि मात्र केही निर्णय लिन सकिने बताउँछन्। निरौलासँग हिमालखबरले गरेको संक्षिप्त संवादः
काठमाडौंमा उपत्यकामा निषेधाज्ञा भएको एक महीना पूरा भएको छ। कोभिड–१९ संक्रमणको अवस्थालाई कसरी मुल्यांकन गर्नुहुन्छ?
हामीले १६ वैशाखमा निषेधाज्ञा शुरु गर्नुअघि अवस्था निकै जटिल थियो। खासगरी अस्पतालका शय्या र अक्सिजन व्यवस्थापनको चुनौति थियो। विरामी र विरामीका आफन्तहरूबाट धेरै गुनासा आएका थिए। साँच्चै भन्दा हामीलाई सुत्ने फुर्सद पनि थिएन। अहिले त्यो तहको दबाब छैन।
के संक्रमण दर घट्दै गएको निष्कर्षमा पुग्नु भएको हो?
केही हदसम्म सहज भएको देखिन्छ। अक्सिजन र शय्याको समस्या पहिला जस्तो अलि छैन। तर तथ्यांक हेर्दा उल्लेख्य रुपमा संक्रमण घटेको छैन। एक हिसाबले यो ‘पर्ख र हेर’को अवस्था हो।
एक महीना लामो निषेधाज्ञाले जनजीवनमा ठूलो असर परेको छ। यो विषयमा प्रशासनको ध्यान नगएकै हो?
वैशाख पहिलो र दोस्रो साता हामी कुन अवस्थामा थियौं, सबैलाई थाहै छ। निषेधाज्ञाको मुख्य उद्देश्य कोभिड–१९ को ‘चेन ब्रेक’ गर्नु हो। जनजीवन सकेसम्म छिटो सहज बनाउनु पर्छ। तर, कोरोनाबाट हामी सबै जोगिनु आवश्यक छ।
कोभिड–१९ पूर्ण रुपमा नियन्त्रणमा आउन त समय लाग्ला नि?
कम्तिमा अस्पतालका शय्याहरू खाली हुनुपर्यो। संक्रमण दर न्यून त हुनु पर्याे नि!
त्यसोभए २० जेठपछि पनि काठमाडौंमा निषेधाज्ञा खुकुलो हुँदैन?
खुकुलो भन्दा पनि हामी वैज्ञानिक बनाउने पक्षमा छौं। पहिलो यो साताको संक्रमणको अवस्था समिक्षा गर्छौ अनि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू बसेर आवश्यक निर्णय गर्छौं।