प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्चमा सुनुवाइ शुरू
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको नेतृत्वमा संवैधानिक इजलासमा सुनुवाइ थालिएको हो। संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन्।
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा १४ जेठबाट सुनुवाइ प्रारम्भ भएको हो। पहिलो दिन नौ वटा रिटमाथि बहस भएको थियो। आज सांसदहरूले दायर गरेको रिटसहित अन्य रिटमाथि सुनुवाइ हुनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गरी २६ कात्तिक र ३ मंसिरमा मध्यावधि चुनाव घोषणा गरेकी थिइन्। त्यसका विरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका १४६ सांसदले रिट दायर गरेका थिए।
सांसदसँगै कानून व्यवसायीले पनि रिट दायर गरेका थिए। प्रतिनिधि सभा विघटनविरुद्ध ३० रिट परेका छन्। जसमध्ये २६ रिटमा प्रतिनिधि सभा पुनःस्थापनासँगै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेश माग गरिएको छ।
त्यस्तै, चार रिटमा प्रतिनिधि सभा पुनःस्थापनासँगै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको छ।