सुकेटार विमानस्थलको नाम फेर्ने घोषणाप्रति योगेश भट्टराईको असन्तुष्टि
ताप्लेजुङको सुकेटार विमानस्थलको नाम फेर्ने सरकारको घोषणाप्रति नेकपा (एमाले) नेता योगेश भट्टराईले असन्तुष्टि जनाएका छन्।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट वक्तव्यमा सुकेटार विमानस्थलको नाम फेरेर ‘रवीन्द्र अधिकारी विमानस्थल’ राख्ने घोषणा गरेका थिए। अर्थमन्त्री पौडेलले विमानस्थलको धावनमार्ग विस्तारका बजेट विनियोजन गरिएको बताएका थिए।
नेता भट्टराईले कुनै पनि स्थानहरूको परिचय परिवर्तन गर्न खोज्नुअघि स्थानीय बासिन्दासँग छलफल गर्नुपर्ने बताएका छन्। भट्टराई ताप्लेजुङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।
आइतबार बिहान फेसबूकमा लेखेका छन्, “ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरूको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामबारे स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिक स्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नुपर्छ।”
सरोकारवालासँग सहमति नगरी परिणाममा पुग्न नसकिने उनले औंल्याएका छन्। भट्टराईले भनेका छन्, “असल काम पनि असल नियत र सही प्रक्रियाबाट गरियो भने मात्र सही परिणाममा पुग्न सकिन्छ। अन्यथा विवाद, विभाजन र अनावश्यक तनाव मात्र झेल्नुपर्छ।”
सरकारले सुकेटारसँगै तेह्रथुमको चुहानडाँडा विमानस्थलको नाम पनि परिवर्तन गर्ने घोषणा गरेको छ। चुहानडाँडा विमानस्थलको नाम आङछिरिङ शेर्पाको नाममा परिवर्तन गर्ने बजेट भाषणमा घोषणा गरिएको छ।
ताप्लेजुङमा १५ फागुन २०७५ मा एयर डाइनेष्टी हेलिकोप्टर दुर्घटना हुँदा अधिकारी र शेर्पा सहित सात जनाको निधन भएको थियो।