सरकारी निर्देशन अटेर गर्दै सगरमाथा क्षेत्रमा मनलागी हेलिकोप्टर उडान
सगरमाथा क्षेत्रमा अनुमतिबिना उडान, अवतरण र होभरिङ गर्न नपाउने सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले निर्देशन जारी गरेको भए पनि निजी हवाई कम्पनीहरूले मनलागी हेलिकोप्टर उडान गरिरहेका छन्।
विभिन्न हेलिकोप्टर कम्पनीले विश्वसम्पदा सूचीमा सुचिकृत सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा अनुमतिविना आफूखुसी उडान गर्ने गरेका छन्। उक्त क्षेत्रमा उडान, अवतरण र होभरिङ्ग गर्दा राष्ट्रिय निकुञ्ज कार्यालयको अनुमति लिनुपर्दछ। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार यसरी निकुञ्ज क्षेत्रमा उडान गर्ने कम्पनीहरू सिम्रिक, कैलाश, एयर डाइनेष्टी, प्रभु, मनाङ्ग, अल्टिट्यूड, एभरेष्ट, माउण्टेन, फिस्टेल र श्री एयर हुन्।
हेलिकोप्टरबाट पर्यटक र यात्रु ओसार्ने, सामान ढुवानी गर्ने, बिरामी ओसार्ने वा अन्य आवश्यक कामका लागि निकुञ्जभित्र प्रवेश गर्नुअघि हेलिकम्पनीले राष्ट्रिय निकुञ्ज ऐन २०२९ को दफा ४ तथा हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ को नियम ४ बमोजिम प्रवेश अनुमति लिनुपर्ने व्यवस्था छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्याय नियमअनुसार राजश्व लिएर अनुमति दिन सकिने व्यवस्था भएपनि हेलिकोप्टर कम्पनीले आफूखुसी उडान–अवतरण गर्दै आएका बताउँछन्। “हेलिकम्पनीहरूले प्रायः बिरामी ओसार्ने र उद्धार गर्ने बहानामा यस्तो गर्ने गरेका छन्,” उनी भन्छन्, “यसप्रति हाम्रो ध्यानआकर्षण भएको छ र हामीले सम्बन्धित कम्पनीहरूलाई लेखेका छौँ।”
कानुनी प्रक्रिया पूरा नगरी हेलिकम्पनीले गरिरहेका यो कामबाट वन्यजन्तुको चोरी शिकार, आखेटोपहारको ओसारपसार भएको हुनसक्ने उपाध्यायको आशङ्का छ। त्यसबाहेक राजश्व सङ्कलनमा समेत् प्रभाव परेको निकुञ्ज कार्यालयको ठहर छ।
१७ वैशाख २०७८ मा निकुञ्ज कार्यालयले उक्त क्षेत्रमा उडान गरिरहेका हेलिकम्पनीहरूलाई पत्र लेखेर उडानअघि अनुमति लिन भनेको छ। पत्रमा कार्यालयले विना अनुमति उडान, अवतरण र होभरिङ्ग गरे नियमअनुसार कार्वाही गर्ने चेतावनी समेत् दिएको छ।
निकुञ्जले लेखेको पत्रमा हेलिकम्पनीहरूले उद्धारमा जानुअघि कार्यालयमा उद्धारमा जानुपर्ने कारण, उद्धार गर्नुपर्ने व्यक्तिको नाम ठेगाना खुलाई सोलुखुम्बु जिल्ला प्रशासन कार्यालय अथवा गृहमन्त्रालयबाट जारी भएको अनुमति पत्रको प्रतिलिपि समेत् संलग्न गरेर लिखित निवेदन पेश गर्नुपर्ने उल्लेख गरिएको छ। निवेदन पेश भएपछि त्यस्ता हेलिकोप्टरलाई निःशुल्क प्रवेश तथा अनुमति प्रदान गरिने जानकारी पनि पत्रमा उल्लेख छ।
कार्यालयले हेलिकोप्टरबाट मानिस अथवा सामान ओसारपसार गर्दा कानूनद्वारा निषेधित वस्तुको चोरी निकासी र ओसारपसार हुननदिन हेलिकोप्टर तथा हेलिकोप्टरमा सवार मानिसको नियमित चेकजाँचका लागि सहयोग गर्न पनि कम्पनीहरूलाई आग्रह गरेको छ।
हुँदैन कार्यान्वयन
सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले हेलिकम्पनीहरूलाई विनाअनुमति उडान, अवतरण र होभरिङ्ग गर्न नपाउने निर्देशन जारी गरेपनि कार्वान्वयन हुनसकेको छैन। सोलुखुम्बु, नाम्चेस्थित नाम्चे युवा समूहका उपाध्यक्ष मिङ्मा शेर्पा निकुञ्ज कार्यालयले दिएको निर्देशन हेलिकम्पनीहरूले पालना नगरेको बताउँछन्। उनी भन्छन्, “निकुञ्ज कार्यालयले त पटक–पटक निर्देशन दिएको छ, तर त्यसको पालना भएको पाइँदैन।”
निकुञ्ज कार्यालयले ५ फागुन २०७७ मा हेलिकम्पनीहरूलाई जथाभावि आफूखुसी उडान, अवतरण र होभरिङ्ग नगर्न परिपत्र गरेको थियो। त्यसअघि २८ माघ २०७७ मा बसेको सोलुखुम्बु जिल्ला स्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाइको बैठकले निकुञ्ज कार्यालयको अनुमतिविना उडान, अवतरण र होभरिङ्ग गर्न नपाइने निर्णय गरेको थियो। जिल्लाका सुरक्षा अङ्ग प्रमुख र प्रमुख जिल्ला अधिकारीसहित्को उक्त बैठकले सोलुखुम्बु जिल्लाका तीन स्थान लुक्ला, स्याङ्गबोचे र नाम्चेस्थित हेलिप्याडमा बाहेक अन्यत्र अवतरण गर्न नपाइने निर्णय पनि गरेको थियो।
उपरोक्त निर्णयहरू कार्वान्वयन गर्न हेलिकम्पनीहरूलाई परिपत्र गरेर जानकारी गराइएको थियो। तर, अहिले पनि हेलिकोप्टर कम्पनीहरूले मनलागी उडान र अवतरण गर्दैआएका छन्।
हेलिकम्पनीहरूको यस्तो व्यवहारले निकुञ्जमा रहेका वन्यजन्तुलाई बाधा पुर्याउने निकुञ्जका संरक्षण अधिकृत भूमिराज उपाध्याय बताउँछन्। “उद्धारका लागि हेलिकोप्टर अत्यावश्यक भएपनि मानिस बोक्ने र अन्य प्रयोजनका लागि पनि हेलिकोप्टर उडाउनाले वन्यजन्तुलाई धेरै डिस्टर्ब हुन्छ,” उपाध्याय भन्छन् “जथाभावी उडानले गैरकानुनी काम पनि हुनसक्ने भएकाले हामीले नियमन गर्न शुरू गरेका हौँ।”
हेलिकोप्टर उडानप्रति पर्यटन व्यवसायीहरूको पनि गुनासो छ। सगरमाथा क्षेत्रको सुन्दर र शान्त पदमार्गमा हेलिकोप्टरको जथाभावी उडानले पदयात्रीको शान्ति बिथोलेको उनीहरू बताउँछन्। “हेलिकोप्टरको चर्को आवाजले हरेक १०-१० मीनेटमा आकाशतिर हेर्नुपर्ने गराउँछ”, नाम्चेमा होटल व्यवसाय गरिरहेका मिङ्मा शेर्पा भन्छन्, “त्यसबाहेक मानिसहरू पदयात्राको सट्टा हेलिकोप्टर रिजर्भ गरेर बेसक्याम्प लगायत्का गन्तव्यमा पुग्ने क्रम बढेको छ। यसले स्थानीय पर्यटन व्यवसायलाई पनि धक्का पुर्याएको छ।”