राजसंस्था जोगाउन चाहन्थे गिरिजाप्रसाद!
संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषणा गर्नुअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजतन्त्र जोगाउन दरबारसामु विकल्प समेत दिएका थिए, तर ज्ञानेन्द्र शाहले त्यसलाई सुन्नै चाहेनन्।
३ कात्तिक २०६४ को कुरा हो। त्यो दिन दशैंको फूलपाती वा अष्टमी के थियो, सबै जना दशैंको रमझममा थिए। म चाहिँ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अन्तर्वार्ताका लागि कान्तिपुर टेलिभिजनको टीमसहित उनको गृहनगर विराटनगर पुगेको थिएँ।
कोइराला निवासको माथिल्लो तलामा प्रधानमन्त्री कोइरालाको शयनकक्ष थियो। त्यहाँ झन्डै दुई घण्टा लामो अन्तर्वार्ता लिएँ। अनि शुरू भयो, चिया सेसन। कोइरालाले क्यामरामा बोल्न नचाहेको विषय प्रायः म यही चिया सेसनमा सोध्थेँ।
त्यसअघि बालुवाटारमा भएका दर्जन अन्तर्वार्ताभन्दा त्यस दिनको कुराकानी मलाई नितान्त बेग्लै लाग्यो।
दश वर्ष लामो हिंसात्मक विद्रोहबाट नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएर शान्ति प्रक्रियाको नेतृत्व गरिरहेका ८५ वर्षीय प्रधानमन्त्री कोइरालाको काँधमा संविधानसभा चुनाव गराउने गहन जिम्मेवारी समेत थियो। ती दिन प्रायः उनी भन्ने गर्थे, ‘मेरो उमेर र स्वास्थ्यका कारण छिटोभन्दा छिटो संविधानसभा निर्वाचन गराउनुपर्नेछ। म आफ्नो जीवनकालमै यो चुनाव गराउन चाहन्छु। कसैगरी बीचैमा मरेँ भने पनि चुनाव हेर्न त म भूत भएर पनि आउछु आउँछु!’
सन्न्यास लिएर आराम गर्नुपर्ने उमेरका कोइराला प्रफुल्ल मुद्रामा भन्दै थिए, ‘यहाँ (विराटनगर) आएपछि एकछिन भए पनि टाउकोमा बोझ कम भएको जस्तो लाग्छ।’
कोइराला गृहनगर जान लागेको सूचना पाउनासाथ त्यो वेलाको शक्तिशाली दरबारले समेत उनको चियो गर्न सीआईडी खटाउने गरेको प्रसंग सैनिक सचिव विवेककुमार शाहले आफ्नो पुस्तक ‘मैले देखेको दरबार’मा उल्लेख गरेका छन्।
मैले सोधेको थिएँ, ‘गिरिजाबाबु, तपाईं विराटनगरमै आएपछि प्रायः नयाँ–नयाँ कुरा बोल्नुहुन्छ। यसको कुनै कारण र रहस्य छ कि?’
मन्द मुस्कानमा उनले २०५७ सालामा राजा वीरेन्द्र र रानी ऐश्वर्यसँग भएको भेटवार्ताको प्रसंग यसरी सुनाए–
राजा र रानीः हैन पीएम, यतिका मुलुक घुम्नुभएको छ। भर्खरै पेरिसबाट फर्कनुभयो। तपाईंलाई सबैभन्दा मन पर्ने ठाउँ कुन हो?
कोइरालाः सरकार पनि त दुनियाँभर घुमिबक्सेको छ। सरकारलाई कुन चाहिँ ठाउँ राम्रो लाग्छ?
राजाः मलाई त पेरिस नै राम्रो लाग्छ।
रानीः मलाई पनि पेरिस।
राजाः पीएम, तपाईंलाई नि?
कोइरालाः सरकार, मलाई त विराटनगर जति राम्रो कहीँ पनि लाग्दैन।
त्यसपछि राजा र रानीले भनेछन्, ‘आफू जन्मिएको ठाउँ त सबैलाई रमाइलो लाग्छ नै।’
कोइराला यस्ता नेता हुन्, जसले सात दशक लामो राजनीतिक जीवनका हरेक पल राजनीति बाहेक अरु कुरामा खासै ध्यान दिएनन्। प्रधानमन्त्री हुँदा होस् वा नेपाली कांग्रेसका सभापति, व्यस्त कार्यतालिकाबाट अलिकति समय निकालेर भए पनि महीनामा एक–दुई पटक विराटनगर पुगिहाल्थे। कुराकानीका क्रममा उनले सुनाए, ‘फुर्सद नहुँदा कति पटक त बिहान आएर बेलुका काठमाडौं फर्किएको छु।’
२०४६ सालदेखि १५ जेठ २०६५ मा गणतन्त्र घोषणा हुँदासम्मका दुई दशक त उनी सत्तामा रहँदा होस् वा प्रतिपक्षमा सधैं नेपाली राजनीतिको केन्द्रमा रहे। यस अवधिमा उनले प्रायः सबै चर्चित र विवादास्पद अभिव्यक्ति विराटनगरमै दिए।
त्यस दिनको कुराकानीमा कोइरालाले सुनाए, ‘यो ठाउँ नै यस्तो छ, यहीँबाट सुधारको शुरूआत भयो। आफू हुर्किएको ठाउँ। विराटनगर आउँदा भाव नै अर्कै भैहाल्छ। मनमा लागेको कुरा रोक्नै सक्दिनँ। फ्याट्ट भनिदिन्छु। त्यसले के असर गर्छ भन्ने त सोच्नै पाउँदिनँ।’
केही समय अघिबाट उनले राजा ज्ञानेन्द्र र युवराज पारसले गद्दी त्यागे ‘बेबी किङ’ राख्न सकिन्छ भनी विराटनगरबाटै दिएको अभिव्यक्तिले राष्ट्रिय राजनीति तताएको थियो। कोइरालाले भनेका थिए, ‘संविधानसभाको पहिलो बैठक हुनुअघि नै राजा र युवराजले गद्दी त्यागे राजतन्त्रका लागि भलो हुनेछ।’
कोइराला गृहनगर जान लागेको सूचना पाउनासाथ त्यो वेलाको शक्तिशाली दरबारले समेत उनको चियो गर्न सीआईडी खटाउने गरेको प्रसंग सैनिक सचिव विवेककुमार शाहले आफ्नो पुस्तक ‘मैले देखेको दरबार’मा उल्लेख गरेका छन्।
कोइरालासँग यो पंक्तिकारले अन्तर्वार्ता गरिरहँदा राजतन्त्र निलम्बनमा थियो। संविधानसभा निर्वाचनको मार्गचित्र निश्चित भए पनि मितिबारे अलमल नै थियो।
अन्तरिम संविधानमै संविधानसभाको पहिलो बैठकवाट राजतन्त्र राख्ने वा नराख्ने विषयको फैसला गर्ने व्यवस्था गरिएकाले राजा समेत आफ्नो अस्तित्व कायम गर्न जोडबल लगाइरहेका थिए।
कोइरालाले पंक्तिकारलाई सुनाए, ‘माओवादी अध्यक्ष प्रचण्ड र अरुहरू पनि भन्छन्, अब गिरिजाबाबु विराटनगर गएर के बोल्नुहुन्छ। केही उत्पातको कुरा गरिदिनुहुन्छ कि भन्ने लाग्छ रे उनीहरूलाई। आज प्रेसवालाहरूसँग (पत्रकार भेटघाट कार्यक्रम थियो) के बोल्छु, मलाई नै थाहा छैन।’
केही समय अघिबाट उनले राजा ज्ञानेन्द्र र युवराज पारसले गद्दी त्यागे ‘बेबी किङ’ राख्न सकिन्छ भनी विराटनगरबाटै दिएको अभिव्यक्तिले राष्ट्रिय राजनीति तताएको थियो। कोइरालाले भनेका थिए, ‘संविधानसभाको पहिलो बैठक हुनुअघि नै राजा र युवराजले गद्दी त्यागे राजतन्त्रका लागि भलो हुनेछ।’
यो त्यति वेलाको कुरा हो, जब पुनःस्थापित प्रतिनिधि सभाले राजाका अधिकार कटौती गरे पनि संवैधानिक राजतन्त्र भने कायमै थियो। संसद्ले राजाका उत्तराधिकारी सम्बन्धी विधेयक पारित गरी राजाका छोरा वा छोरीमध्ये जसलाई पनि गद्दीको उत्तराधिकारी बनाउन सकिने कानून बनाइसकेको थियो।
कोइरालाले सुनाए, ‘राजाले आफूबाट गल्ती भयो भन्ने महसूस गरेको मैले पाइनँ। उनलाई गल्ती महसूस हुन्छ जस्तो मलाई लाग्दैन। जब मैले विराटनगरमा राजा र युवराज पारसले गद्दी छोडे हुन्छ भनेँ, त्यसलाई उनले रुचाए जस्तो लागेन। उनको व्यक्तिवादी स्वभाव रहेछ, आफू बाहेक अरुलाई नचिन्ने। परिवारलाई समेत नचिन्ने। उनले गद्दी छोडेको भए त परिवारकै कोही सदस्य राजा हुन्थ्यो नि! तर, उनलाई त्यो पनि मान्य भएन। आफैं मात्र (राजा) हुनुपर्छ भन्ने उनको मनसाय देखियो। अब समय बितिसक्यो। केही गरे पनि उनी फेरि आउन सक्दैनन्।’
त्यसै दिन मलाई लागेको थियो, अब राजसंस्था जाने भयो।
त्यति वेलादेखि राजसंस्थाको अन्त्यबारे खोजी गर्ने चाहना बढ्दै गयो। त्यसबीचमा जति मानिस भेटेँ, मैले प्रायः सोध्ने एउटा प्रश्न हो, ‘तपाईंको बुझाइमा राजतन्त्र अन्त्यको कारण के हुन सक्छ?’
कोइरालाले सुनाए, ‘राजाले आफूबाट गल्ती भयो भन्ने महसूस गरेको मैले पाइनँ। जब मैले विराटनगरमा राजा र युवराज पारसले गद्दी छोडे हुन्छ भनेँ, त्यसलाई उनले रुचाए जस्तो लागेन। उनको व्यक्तिवादी स्वभाव रहेछ। उनले गद्दी छोडेको भए त परिवारकै कोही सदस्य राजा हुन्थ्यो नि! तर, उनलाई त्यो पनि मान्य भएन।
१० साउन २०७५ मा नेपालको कुनै सुरक्षा निकायका एक पूर्व प्रमुखले यो पंक्तिकारलाई सुनाए, ‘संसद्मा राजाको अधिकार कटौती गर्ने घोषणा (४ जेठ २०६३) को मस्यौदा बनाउने गृहकार्य चलिरहेको थियो। विश्वस्त स्रोतबाट त्यहाँ प्रस्तुत हुने मस्यौदाको एक कपी मैले पाएको थिएँ। सायद राजा र सेनाको कस्तो प्रतिक्रिया आउँछ भनेर बुझ्न मलाई त्यो कागज दिइएको हुन सक्छ। लगत्तै तत्कालीन शाही नेपाली सेनाको हेडक्वाटरमा सुरक्षा सम्बन्धी बैठक थियो। त्यहीँ मैले भनेँ– दलहरूले अब राजतन्त्र निलम्बन गर्दै छन्। त्यसका लागि गृहकार्य जारी छ।’
प्रधानसेनापति प्याराजंग थापा र दोस्रो वरीयताका जर्नेल रुकमांगद कटवालले उनको कुरा पत्याएनन्। तर, कटवालले भनेछन्, ‘चिफ साप, त्यसको एउटा कपी म पनि राखूँ।’
ती प्रमुखले भने, ‘हजुरलाई मेरो कुरामा विश्वास नै छैन भने किन राख्नुपर्यो?’
त्यसको केही दिनपछि फेरि सेनाले जरुरी बैठक छ भनेर सुरक्षा निकायका प्रमुखहरूलाई सैनिक मुख्यालयमा बोलायो।
ती प्रमुखले पंक्तिकारसँग भने, ‘गृहसचिव उमेश मैनालीलाई भनेर म त्यो बैठकमा गएँ। मैले पहिले नै लिएर आएको मस्यौदा देखाउँदै सेनापतिले भने– दरबारबाट यस्तो पत्र आयो। राजतन्त्र निलम्बन गर्ने तयारी छ रे। कसरी अघि बढ्ने? यस विषयमा प्रधानमन्त्रीलाई भेटेर सामूहिक रूपमा कुरा गरौं।’
त्यसअघि कोइराला दरबार राजी भए राजा ज्ञानेन्द्र र युवराज पारसलाई हटाएर नवयुवराज हृदयेन्द्रलाई राजा बनाउन तयार थिए। त्यसका लागि भिन्न स्रोत मार्फत उनले दरबारसँग वार्ता चलाइरहेका थिए।
यस सन्दर्भमा कोइरालाका भतिजा निरञ्जन कोइरालाले २८ असार २०७५ मा बौद्धस्थित निवासमा पंक्तिकारलाई सुनाए, ‘राजा हटाउने वेलासम्म पनि अरु नेताहरूको त कुरै छोडौं, स्वयं गिरिजाबाबुलाई समेत कन्फिडेन्स थिएन।’
राजा हटाउने/नहटाउने बहसमा सिङ्गो मुलुक अल्झिएको वेला कोइराला परिवारभित्र त्यसबारे चर्चा नहुने कुरै भएन। निरञ्जनले प्रधानमन्त्री कोइराला र आफूबीच भएको संवाद पंक्तिकारलाई यसरी सुनाएः
निरञ्जनः सानोबुवा, राजा हटायो भने साह्रै गाह्रो हुन्छ। जिम्मेवारी हजुरको टाउकोमा आउँछ। सम्हाल्न सकिन्छ त?
गिरिजाः हेर न यिनीहरू (भारतीय) ले मलाई आएर दबाब दिइरहेका छन्। दबाब दिनेहरूले नेपालको यथार्थ बुझेकै छैनन्। यो (राजतन्त्र) गयो भने जुन बबाल आउनेवाला छ, त्यसलाई थाम्न निकै चुनौती आइपर्नेछ।
राजतन्त्र फाल्नुअघि प्रधानमन्त्री कोइरालाले विभिन्न स्रोत मार्फत दरबारसँग संवाद गरिरहेका थिए। निरञ्जनले सम्झिए, ‘राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनलाई कैयौं पटक फोन गरेको मलाई थाहा छ। म पनि उहाँसँगै थिएँ। अन्तिम चरणमा प्रभाकर शमशेर राणा (सोल्टी होटलका मालिक) लाई कुरा गर्न लगाउनुभयो।’
आखिर किन कोइरालाले अन्तिम क्षणसम्म राजा राख्न बल गरिरहेका थिए? के थियो कारण?
निरञ्जनले लेखकलाई सुनाए, ‘बीपीले गिरिजाबाबुलाई भन्नुभएको थियो– राजाको खिलाफमा कहिल्यै नबोल्नू, एकदमै सम्मानित परिवार हो त्यो, कसैको लहैलहैमा परेर उसको विरुद्ध नजानू। त्यसैले जति अपमान गरे पनि दरबारप्रति गिरिजाबाबुको सम्मान थियो।’
दोस्रो जनआन्दोलनपछि एकातिर राजतन्त्र चरम अलोकप्रिय बनेको थियो। अर्कातिर, राजा हटाउन भारतको पनि दबाब थियो। तैपनि ज्ञानेन्द्र नरम भएको भए कोइरालामा राजतन्त्र जोगाउन सक्ने क्षमता थियो भन्ने धेरैको बुझाइ अझै पनि छ।
निरञ्जनका अनुसार, प्रभाकर शमशेरसँग कुरा भएपछि राजतन्त्र फाल्ने बिन्दुमा कोइराला पुगेका थिए। राजा र कोइरालाबीच संवाद सेतुको जिम्मेवारी वहन गरिरहेका प्रभाकरले कोइरालासँग भनेका थिए, ‘गिरिजाबाबु, म केही गर्न नसक्ने अवस्थामा पुगेँ। सरकार (राजा) र म सोल्टी होटलमा पिउँदै कुरा गर्दै थियौं। सरकारबाट आफ्नो हातको ग्लास भुइँमा झारिबक्सियो। सिसा फुटेर चकनाचुर भयो, अनि हुकुम भयो– प्रभाकर, बरु म यसरी चकनाचुर भएर जान्छु, तर यिनीहरूको अगाडि झुक्दिनँ।’
त्यही दिनदेखि कोइराला राजा ज्ञानेन्द्रप्रति झन् कठोर हुँदै गए।
राजतन्त्रको अन्त्य गर्ने निष्कर्षमा प्रधानमन्त्री कोइराला कसरी पुगे भन्ने मेरो प्रश्नमा कोइराला सरकारका अर्थमन्त्री डा.रामशरण महतले १ कात्तिक २०७३ मा आफ्नै निवासमा भनेका थिए, ‘बेबी किङका लागि दरबार तयार भएन। त्यसपछि राजालाई कसरी हटाउने भन्ने रणनीति उहाँ (गिरिजाप्रसाद) आफैंले कार्यान्वयन गर्नुभएको थियो। त्यसबारे हामीसँग शेयर गर्नुभएन।’
दोस्रो जनआन्दोलनपछि एकातिर राजतन्त्र चरम अलोकप्रिय बनेको थियो। अर्कातिर, राजा हटाउन भारतको पनि दबाब थियो। तैपनि ज्ञानेन्द्र नरम भएको भए कोइरालामा राजतन्त्र जोगाउन सक्ने क्षमता थियो भन्ने धेरैको बुझाइ अझै पनि छ।
निरञ्जनले सुनाए, ‘उनीहरू (भारतबाट परिचालित) ले माओवादी र एमालेलाई पनि लगाएकै थिए। कांग्रेसभित्रबाट पनि दबाब थियो। राजाले यो कुरा बुझेनन् वा बुझ्न चाहेनन्। गिरिजाबाबुले त्यो दबाब रोक्न सक्नुभएन।’ अन्ततः संविधानसभाको पहिलो बैठकले १५ जेठ २०६५ मा २३८ वर्ष लामो राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणा गर्यो।
ज्ञानेन्द्र तालिमप्राप्त राजा थिएनन्। त्यसैले परिस्थिति बुझेर निर्णय लिन सकेनन्। आफ्नै कारण राजा चरम अलोकप्रिय भए, राजतन्त्र बचाउन सक्ने सम्भावना हुँदाहुँदै उनैको हठले ऐतिहासिक संस्थाको अवसान हुन पुग्यो।
निरञ्जनले पंक्तिकारसँग भनेका थिए, ‘राजा वीरेन्द्रलाई संविधानसभाबाट फालेको भए पनि गिरिजाबाबु पक्कै एक पटक भेट्न जानुहुन्थ्यो। तर, ज्ञानेन्द्रलाई भेट्न पनि जानुभएन।’