झोमोलुङ्मा, सगरमाथा कि माउन्ट एभरेष्ट?
अनेकौं हिमालको मौलिक नामाकरण गर्न बाँकी नेपालले 'माउन्ट एभरेष्ट' को मौलिक नाम स्थापित गर्नेतर्फ सोच्न ढिलो गर्नुहुन्न।
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा,
गम्केर बज मुर्चुङगा झम्केर नाच मयुरा ...।
कवि धर्मराज थापाले आफ्नै रचनामा गाएका यो गीत कुनैवेला नेपाली जनजिब्रोमा मज्जैले झुन्डिएको थियो। यो गीत सुन्दा वा गुन्गुनाउँदा अहिले पनि नेपालीको छाती ढक्क फुल्छ। गीतमा भनिएजस्तै सगरमाथामा प्रथम मानव पाइला, त्यसमा पनि एक नेपालीको समेत पाइला, परेपछि नेपालको नाम विश्वभरि फैलिएको र ठूलो उल्लासको सञ्चार भएको थियो।
नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारी सर्वप्रथम सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए। सन् १९५३ मे २९ तारिखको बिहान ११.३० बजेको समयमा पहिलो पटक मानव पाइला सगरमाथाको चुचुरो टेक्न सफल भएको थियो।
गोरखाको बारपाक केन्द्रविन्दु भएर २०७२ सालमा गएको भूकम्पले हजारौंको ज्यान लियो। भूकम्पपछि यसले हिमालयमा पारेको असरको पनि विश्लेषण हुनथाल्यो। क्याम्ब्रिज विश्वविद्यालयका भूगर्भविद् जेम्स ज्याक्सनले सगरमाथाको सतहमा फेरबदल हुनसक्ने बताए। उनको दाबीलाई उद्धृत गर्दै नेशनल जियोग्राफिकले सगरमाथाको उचाइ १० सेमी बढेको उल्लेख गर्यो।
पहिले पनि हङकङ विश्वविद्यालयका भौतिकशास्त्री डा. लुङएस चाङले भारतीय प्लेट र युरेसियन प्लेटबीचको निरन्तर घर्षणले सगरमाथा लगायतका हिमशृङ्खलाको उचाइ हरेक वर्ष १ सेमी को दरले बढिरहेको छ भनेका थिए। केही वर्षअघि अमेरिकी वैज्ञानिकहरूले प्लेटहरूको चालका कारण सगरमाथाको नयाँ उचाइ ८८५० मिटर भएको बताइसकेका थिए।
यस्ता धेरैखालका धारणाबीच नेपाल र चीनको कार्यदलले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्यो। नेपाली र चिनियाँ कार्यदलको प्रयासमा क्रमशः दक्षिणी तथा उत्तरी मोहोडाबाट गरिएको मापनको एउटै नतिजा प्राप्त भएको बताइयो। नेपालले सन् २०१७ देखि नै सगरमाथाको उचाइ मापन गर्न थालेको थियो। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि चीन पनि आधिकारिक तवरबाट यो कार्यमा जोडियो।
सन् १८५६ मा माउन्ट एभरेष्ट भनी चुचुरोको नामकरण गर्दा इस्ट इन्डिया कम्पनीका सर्भेयर जनरल जर्ज एभरेष्टको नामबाट गरिएको थियो। तर, एभरेष्ट स्वयम् भने स्थानीय नामको पक्षमा थिए भनिन्छ। नामकरण गर्दा स्थानीयता खोजिएन। यो चुचुरोको नाम वेलावेलामा बहसको विषय बन्नेगरेको छ। यसलाई ‘सगरमाथा’ या ‘झोमोलुङ्मा’ नै भन्ने र खोसिएको मौलिक नाम स्थापित गर्ने अभियान चलाउन ढिलो भएन र?
यसअघि सन् २००५ मा एक चिनियाँ सर्भेयरले सगरमाथाको उचाइ ८८४४.४३ मिटर भनिदिँदा विवाद सिर्जना भएको थियो। पछि गएर सो उचाइ चट्टानको हो, हिम सतहसमेतको होइन भनियो। तर, त्यो बखत नेपालले विश्वव्यापी बनिसकेको र सबैले स्वीकार गरेको सगरमाथाको हिमाली चट्टानको उचाइ नै ८८४८ मिटर (२९०२९ फिट) हो भन्ने आफ्नो धारणा प्रष्ट पारेको थियो।
यसरी विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइका सम्बन्धमा वेलावेलामा विवादास्पद तथ्याङ्क आइरहे पनि नेपाल र चीनका सरकारी कार्यदलको आधिकारिक सर्भेपछि यसको नयाँ उचाइ ८८४८.८६ मिटर कायम हुनपुगेको छ।
हामीले हिमाल उठायौं एसियाको माझमा
सभ्यता बास बसेथ्यो आएर यहीँ साँझमा।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गर्नुभएको कविताका यी हरफमा भनिए झैं एसिया महाद्वीप बाहिर ७ हजार मिटर भन्दा अग्ला शिखर छैनन्। बिडम्बना नै भनौं, नेपालमा भएका ७ हजार मिटरभन्दा अग्ला ६ दर्जन बढी चुचुराको नामकरण समेत भएको छैन!
झोमोलुङ्मा (चोमोलुङ्मा) सर्वोच्च शिखरको स्थानीय नाम हो। इतिहासकार बाबुराम आचार्यले सगरमाथा नामकरण गरे। ग्रेट ट्रिगोनोमेट्रिकल सर्भे अफ इन्डियामा संलग्न राधानाथ सिकदार नामका बङ्गाली वैज्ञानिकले सन् १८५२ मा यो संसारकै सर्वाधिक अग्लो चुचुरो हो भनी यकिन गरेका थिए।
त्योभन्दा अगाडि यो चुचुरोलाई ‘गामा पिक’ र ‘पिक १५’ भनिन्थ्यो। त्यसवेलासम्म इस्ट इन्डिया कम्पनीका सर्भेयरहरूले दार्जीलिङबाट देखिएको गामा पिकलाई कञ्चनजङ्घाभन्दा होचो मान्ने गरेकाले कञ्चनजङ्घालाई नै संसारको सर्वाधिक अग्लो चुचुरो ठानिन्थ्यो।
सन् १८५६ मा माउन्ट एभरेष्ट भनी चुचुरोको नामकरण गर्दा इस्ट इन्डिया कम्पनीका सर्भेयर जनरल जर्ज एभरेष्टको नामबाट गरिएको थियो। तर, एभरेष्ट स्वयम् भने स्थानीय नामको पक्षमा थिए भनिन्छ। नामकरण गर्दा स्थानीयता खोजिएन। बङ्गाली मूलका भारतीय वैज्ञानिकको पनि सम्झना गरिएन। गरियो त केवल जर्ज एभरेष्टको।
स्वीडिस एक्स्प्लोरर भेन हेडिन भन्दा पहिले नै सन् १७३३ मा भूगोलविद् डी. एनभिल्लेले यो चुचुरोलाई चोमोलुङ्मा भनेर उल्लेख गरिसकेका थिए। त्यसको अर्थ स्थानीय तिब्बती भाषामा विश्वकी देवी भन्ने हुन्छ। तर, त्यही दिन यसको मौलिकता खोसियो, जुन दिन रोयल जेओग्राफिक सोसाइटीले सर्भेयर जर्ज एभरेष्टको नामबाट यसको नामकरण गर्यो र पश्चिमाहरूले यही नामबाट प्रचार गरे।
यो चुचुरोको नाम वेलावेलामा बहसको विषय बन्नेगरेको छ। यसलाई ‘सगरमाथा’ या ‘झोमोलुङ्मा’ नै भन्ने र खोसिएको मौलिक नाम स्थापित गर्ने अभियान चलाउन ढिलो भएन र?
नेपाललाई दक्षिण एसियाको एक हिमाली मुलुकको रूपमा चिनिन्छ। यो धरती अनेकौं चुचुरा काखमा बोकेर उभिएको छ। डा. तीर्थबहादुर श्रेष्ठले यो सन्दर्भमा ‘हिमालको काखमा नेपाल’ कि ‘नेपालको काखमा हिमाल’ भन्ने प्रश्न उठाएका थिए।
उनका अनुसार, हिमालपारिको ठूलो भूमि (तिब्बतियन प्लेटो) समेत नेपालमा भएको कारण नेपालको काखमा हिमाल भन्नुपर्छ भन्ने कुरा मान्ने हो भने ‘हिमालको काखमा नेपाल’ लेखिएका धेरै गीतका बोल र कविताका हरफ बदल्नुपर्ने देखिन्छ।
नेपाललाई दक्षिण एसियाको एक हिमाली मुलुकको रूपमा चिनिन्छ। यो धरती अनेकौं चुचुरा काखमा बोकेर उभिएको छ। डा. तीर्थबहादुर श्रेष्ठले यो सन्दर्भमा ‘हिमालको काखमा नेपाल’ कि ‘नेपालको काखमा हिमाल’ भन्ने प्रश्न उठाएका थिए।
हिमालको महिमा अपरम्पार छ। आजसम्म यसको ठ्याक्कै मिल्ने परिभाषा समेत फेला पार्न सकिएको छैन। कस्तो भूभागलाई हिमाल मान्ने र यसलाई कसरी बुझ्ने भन्ने कुरा बहसकै विषय बनेको छ। सन् २००० मा फ्रान्सको अल्पस् पर्वतको अट्रा र ग्रिनोवल शहरमा संसारभरका वैज्ञानिक एवम् विज्ञहरूको भेलाले समेत हिमालको परिभाषा पाउन सकेन।
डा. हर्क गुरुङले एसियाका पर्वतहरूका सम्बन्धमा इसिमोडको लागि लेखेका पुस्तकमा पहाडका लागि विश्वले मान्यता प्रदान गर्ने परिभाषा नै नभएको उल्लेख गरेका छन्। फ्रान्सको एउटा गोष्ठीमा ‘पहाड नचढी पहाड चिनिँदैन’ भन्ने तर्क डा. तीर्थबहादुर श्रेष्ठको थियो।
पहाड र हिमाल यो धरतीका चुनौती हुन्। सगरमाथा चढ्ने बारम्बार प्रयास गरेका पर्वतारोही जर्ज ली मेलोरीलाई किन पटकपटक एभरेष्ट नै चढ्नुपरेको भन्ने प्रश्नमा उनले उत्तर दिएका थिए- किनभने त्यो त्यहाँ छ। जीवनभरि नै एभरेष्ट विजयको प्यास बोकेका मेलोरीको भौतिक शरीर एभरेष्टकै काखमा सन् १९२४ देखि हराएको हरायै छ।
वास्तवमै हिमाल रहस्य हो, हिमाल साहित्य हो, हिमाल अध्यात्म हो। अनेकौं प्राचीन ग्रन्थमा चर्चा गरिएको हिमालय पर्वत शिव–पार्वतीको बासस्थान हो। शान्ति र पवित्रताको द्योतक हो। सन्तहरूको आत्मा साक्षात्कार गर्ने क्षेत्र हो। कविहरूको हृदय निचोरेर कविता प्रस्फुटन गराउने कालजयी पर्वतहरू विभिन्न लवणका खानी हुन्। हिउँको रूपमा पानीसङ्ग्रह भएको पृथ्वीको तेस्रो ध्रुव हिमालय पर्वत नै हो।
उच्च भागमा रहन सक्ने क्षमता बोकेका कैयौं जीव र वनस्पतिका बासस्थान हुन्, पहाड, पर्वत र हिमालहरू। एसिया महाद्वीपको भूमिमा उभिएको हिन्दकुश हिमालय क्षेत्र संसारकै पर्वतीय क्षेत्रमध्ये प्रधान हो। यो पानी, खनिज, जैविक विविधता, पर्यावरण, कला-संस्कृति, मानव जात–जाति, धर्म आदिको खानी पनि हो।
यो क्षेत्रको झन्डै मध्य भागमा अवस्थित नेपाल त झनै पूर्वी र पश्चिमी हिमालयको सङ्गम समेत हो। हिमाली जैविकता, मानव समाज या पर्यावरण जेसुकैको अध्ययन गर्न चाहनेले नेपाललाई बुझ्नैपर्दछ। अनेकौं अनाम अस्तित्व बोकेका पर्वतहरूका चेपबाट बग्ने असङ्ख्य नदीहरूबाट सिञ्चित जमीनको अनाजबाट अरबौं मानिस बाँचेका छन्।
वास्तवमै हिमाल रहस्य हो, हिमाल साहित्य हो, हिमाल अध्यात्म हो। अनेकौं प्राचीन ग्रन्थमा चर्चा गरिएको हिमालय पर्वत शिव–पार्वतीको बासस्थान हो। शान्ति र पवित्रताको द्योतक हो। सन्तहरूको आत्मा साक्षात्कार गर्ने क्षेत्र हो। कविहरूको हृदय निचोरेर कविता प्रस्फुटन गराउने कालजयी पर्वतहरू विभिन्न लवणका खानी हुन्।
हिमालयले हिउँदमा साइबेरियाबाट आउने चिसो बतासलाई रोकेर दक्षिणी भागलाई न्यानो बनाउँछ। सूर्य कर्कट रेखाको लम्बमा पर्दा एसियाको जमीन मज्जाले तातिन्छ र बङ्गालको खाडी तथा हिन्द महासागरको आर्द्र हावालाई रोकेर हिमालय पर्वतले दक्षिणी भागमा व्यापक वर्षा गराइदिन्छ।
खोँचदेखि उच्च टाकुरासम्म अनेकौं हावापानी र जैविक विविधता बोकेका पहाड र हिमालका छातीमा खेतीपाती गरेर जीविकोपार्जन गर्नु धेरै नेपालीहरूको कथा र व्यथा हो। आजसम्म सर्वसम्मत परिभाषा समेत नपाएको हिमालको रहस्य र देश विकासमा यसको महत्त्व बुझेर जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्दै पर्यापर्यटनको प्रवर्द्धन गरेर सानो हिमाली मुलुक नेपालले काँचुली फेर्न लामो समय लाग्दैन।
एकातिर हाम्रा अनेकौं हिमालको मौलिक नामकरण गर्न बाँकी नै छ। नेपालले ती हिमाललाई सधैं रहस्यका रूपमा रहिरहन दिनुहुन्न। अर्कोतर्फ एभरेष्टभन्दा आफ्नै मौलिक नाम सगरमाथा या झोमोलुङ्मालाई स्थापित गर्नेतर्फ सोच्न पनि ढिलो गर्नुहुन्न।
(वनस्पति विज्ञानमा स्नातकोत्तर लेखक झापामा शिक्षण पेशामा संलग्न छन्।)