२०२० मा २ लाख ३० हजार पर्यटक आगमन
सन् २०२० मा २ लाख ३० हजार ८५ पर्यटक नेपाल भित्रिएका छन्।
चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा ८१ प्रतिशतले कम हो। सन् २०१९ मा ११ लाख ९७ हजार ९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए।
२०२० मा नेपाल आएका पर्यटकबाट २४ अर्ब ९५ करोड ५९ लाख रुपैयाँ आम्दानी भएको छ। जुन अघिल्लो वर्षको तुलनामा ७० प्रतिशतले कम भएको अर्थ मन्त्रालयले जनाएको छ।
गत वर्ष पर्यटकको औसत बसाइँ १५.१ दिन र प्रतिदिन खर्च ६५ डलर छ। यो अघिल्लो वर्ष सन् २०१९ को तुलनामा ३५.४ प्रतिशतले बढी हो।
नेपाल आएका पर्यटकमध्ये ६०.५ प्रतिशत बिदा, मनोरञ्जनजस्ता उद्देश्यले आउने गरेका छन्। त्यसैगरी १५.६ प्रतिशत तीर्थयात्रा, १२.४ पर्वतारोहण र ११.५ प्रतिशत अन्य उद्देश्यले आउने गरेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।
सन् २०२० मा सबैभन्दा धेरै भारतबाट १७.५ प्रतिशत पर्यटक आएका छन्। त्यस्तै, म्यानमारबाट ९.१, थाइल्याण्ड ९, चीन ८.४ र अमेरिकाबाट ७.७ प्रतिशत पर्यटक भित्रिएका थिए। यी पाँच मुलुकबाट आएका पर्यटकले कूल संख्याको ५२ प्रतिशत ओगटेको अर्थ मन्त्रालयले जनाएको छ।