समाजका मुद्दा उत्खननमा कहाँ छन् समाजशास्त्री–मानवशास्त्री?
हामीकहाँ विधागत अभ्यासमा समाजशास्त्र–मानवशास्त्रको गहकिलो पाठ्यपुस्तकको चर्को अभाव किन छ? चोरी र बेढंगे अनुवाद गरिएका विद्यार्थीको रचनात्मकता सिध्याउने पाठ्यपुस्तक किन छ्यापछ्याप्ती छन्? पुस्तकले यी प्रश्नको उत्तर खोज्नुपर्थ्यो।
सन् १९८० को दशकदेखि त्रिभुवन विश्वविद्यालयले संस्थागत रूपमा अध्यापन गर्न थालेको समाजशास्त्र–मानवशास्त्र विधा अहिले अन्य विश्वविद्यालयमा समेत फैलिएको छ। यसबाट उल्लेख्य सङ्ख्यामा समाजशास्त्री–मानवशास्त्री उत्पादन भएका छन्। तैपनि यो विधामा अपेक्षित प्राज्ञिक सफलता देखिएको छैन।
कुनै पनि विधाको प्राज्ञिक सफलता वा उन्नतिमा शैक्षिक स्रोत, जनशक्ति, पूर्वाधार, संस्था र विधागत अभ्यास महत्त्वपूर्ण हुन्छन्। समाजशास्त्र–मानवशास्त्रमा यस्तो अभ्यासको छिटपुट प्रस्तुति भए पनि ठोस विश्लेषण भएको देखिँदैन। यद्यपि, यसका अभ्यासकर्ता विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता, व्यावसायिक एवम् समाज विज्ञानमा चासो राख्ने व्यक्तिहरूबीच चियागफ र सामाजिक सञ्जालमा विधाको अभ्यासमाथि छलफल तथा टिप्पणी भइरहेकै हुन्छ। यही परिदृश्यमा सार्थक एवम् प्राज्ञिक कृतिका रूपमा प्रणव खरेल र गौरव केसीले सम्पादन गरेको पुस्तक प्राक्टिसेस् अफ सोसियोलोजी इन नेपाल प्रकाशनमा आएको छ।
सम्पादकद्वय खरेल र केसीसहित पुस्तकमा प्राध्यापन एवम् प्राज्ञिक कर्ममा लागेका आठ लेखकको योगदान छ। विषयवस्तुका आधारमा चार खण्ड भएको पुस्तकको परिचय दिँदै सम्पादकद्वयले नेपालको विधागत इतिहास र अभ्यासको विवेचना गरेका छन्।
पुस्तकको परिचयमा लेखकद्वय केसी र खरेल नेपालको समाजशास्त्र–मानवशास्त्र विधाको इतिहासको संकुचनमाथि टिप्पणी गर्दै नेपालमा यो विधाको प्रादुर्भाव १९५० को सेरोफेरोमा भएको हो र त्यसअघि अस्तित्वमै थिएन वा विधागत काम भएकै थिएन भन्ने भाष्यको खण्डन गरेका छन्।
प्रा. युवराज लुइँटेलले समाजशास्त्र–मानवशास्त्र विभाग अलग बन्नुपछाडिको राजनीतिक कारणलाई सतहमा ल्याएका छन्। इतिहासकार प्रत्यूष वन्तले समाजशास्त्र–मानवशास्त्रका अनियमित शोध–जर्नल प्रकाशनलाई केलाएका छन्। अन्तिम चार अध्यायमा प्राध्यापकहरू टीकाराम गौतम, लोकरञ्जन पराजुली, देवेन्द्र उप्रेती एवम् ओबिन्द्रबहादुर चन्द र सम्पादकद्वयले विश्वविद्यालयका शोधकृति लेखन, पठन प्रक्रिया र समाजशास्त्र–मानवशास्त्र इतरका विषयमा विधाको स्थानबारे व्यक्तिगत एवम् संस्थागत अनुभव उतारेका छन्।
पुस्तकको परिचयमा लेखकद्वय केसी र खरेल नेपालको समाजशास्त्र–मानवशास्त्र विधाको इतिहासको संकुचनमाथि टिप्पणी गर्दै नेपालमा यो विधाको प्रादुर्भाव १९५० को सेरोफेरोमा भएको हो र त्यसअघि अस्तित्वमै थिएन वा विधागत काम भएकै थिएन भन्ने भाष्यको खण्डन गरेका छन्। उनीहरूका अनुसार, सन् १९५० अघि नेपाली र गैर–पश्चिमा (खासगरी भारतीय) ले लेखेका नेपाली समाजको संरचना, परिवर्तन, राज्य, राजनीति, इतिहास, धर्म–संस्कृति जस्ता ‘आद्य–समाजशास्त्रीय/मानवशास्त्रीय’ सामग्रीमा पश्चिमा समाजशास्त्रीय–मानवशास्त्रीय सिद्धान्त र पद्धति लागू नभएकै कारण सिङ्गो विधालाई इतिहासमा नराख्नु पश्चिमपरस्तताको नतिजा हो र यही पश्चिमपरस्तता अहिलेसम्म पनि हाम्रो ज्ञान मीमांसामा देखिएको छ।
प्रख्यात राजनीतिशास्त्री गोपाल गुरुले भारतीय समाज विज्ञानको असमानतालाई ‘सैद्धान्तिक ब्राह्मण र प्रायोगिक शूद्र’ भनेर गरेको टिप्पणीलाई लेखकद्वयले उल्लेख गरेको पश्चिमा र नेपालीको विधागत सम्बन्धमा पनि पुष्टि गर्न सकिन्छ। पश्चिमाहरूले सिद्धान्तको विकास गर्दा नेपाली आफैं सिद्धान्तको प्रायोगिक तथ्यांक बन्ने वा तथ्यांक खोज्ने शिष्य ‘एपेरेन्टिस’ मात्रै बनेका उल्लेख गर्दै उनीहरूले यही पश्चिमपरस्तताले निम्त्याएको विकास र एनजीओ उद्योगका कारण अस्वाभाविक रूपमा समाजशास्त्र–मानवशास्त्रमा विद्यार्थी सङ्ख्या बढेको औंल्याएका छन्।
यसबाट रोजगारी र आर्थिक प्रोत्साहन बढे पनि विधाको अपेक्षाकृत प्राज्ञिक विकास हुननसकेको यथार्थ दर्शाउँदै लेखकहरू पश्चिम र नेपालको ज्ञान मीमांसा एवम् अनुसन्धान पद्धतिलाई कलमी गर्न सुझाउँछन्। कलमीका लागि उनीहरूले आद्य–समाजशास्त्रीय/मानवशास्त्रीय र समकालीन समयका समाज बुझाउने गैर–विधागत सामग्री एवम् लोकसंस्कृतिका भाष्यलाई समाजशास्त्रीय–मानवशास्त्रीय दायरामा ल्याउनुपर्ने सुझाव दिएका छन्।
पहिचानको राजनीतिमा आ–आफ्ना मत छन्, तर प्राज्ञिक विधा निहित राजनीतिक मुद्दाको साध्य बन्नु सुखद होइन। यस सन्दर्भमा मानवशास्त्रले औपनिवेशिक बिरासत त्याग्न नसकेको दाबी गर्ने प्रा. युवराज लुइँटेल यो आलोचना गर्दा ‘एथ्नोग्राफी’ शब्दको प्रयोग गर्छन्, जसमा त्रुटि देखिन्छ।
प्रा. युवराज लुइँटेल त्रिविमा सँगै जोडिएर आउने यस विधाको विभाग विभाजित हुनुमा राजनीतिको प्रमुख भूमिका देख्छन्। उनका अनुसार, विभाजनको कारण यसअघि चर्चा गरिएको स्रोत–पूँजीको असमान वितरण मात्रै होइन, विभागको स्थापनाकालदेखि मानवशास्त्रको वर्चस्व र समाजशास्त्रको सीमान्तीकरण हुनु तथा मानवशास्त्रका प्राध्यापकले पश्चिमा निकायबाट प्रोत्साहित एकल जातीय पहिचानको राजनीतिक अजेन्डा बोक्नु पनि हो।
उसो त पहिचानको राजनीतिमा आ–आफ्ना मत छन्, तर प्राज्ञिक विधा निहित राजनीतिक मुद्दाको साध्य बन्नु सुखद होइन। यस सन्दर्भमा मानवशास्त्रले औपनिवेशिक बिरासत त्याग्न नसकेको दाबी गर्ने प्रा. लुइँटेल यो आलोचना गर्दा ‘एथ्नोग्राफी’ शब्दको प्रयोग गर्छन्, जसमा त्रुटि देखिन्छ। एथ्नोग्राफी मानवशास्त्रीय विधि मात्रै होइन, समाजशास्त्रीय विधि पनि हो। यसलाई स्वयम् समाजशास्त्र विभागले अध्यापन गराउने अनुसन्धान विधिको पाठ्यक्रम र यसै पुस्तकका ‘समाजशास्त्री’ योगदानकर्ताहरूको अटोएथ्नोग्राफीले पनि पुष्टि गर्छन्। अहिलेको समयमा एथ्नोग्राफीले दायरा बढाइसकेको थुप्रै उदाहरण छन्। एथ्नोग्राफीको ठाउँमा ‘एथ्नोलोजी’ राख्दा उनको तर्कले सार्थकता पाउँथ्यो होला।
तिक्तताले छुट्टिएको विभाग जोडिने अवस्था नभए पनि अन्तरविभागीय अध्ययनको सम्भाव्यता छ। प्रा. लुइँटेल पनि उक्त सम्भावना देखाउँछन् र समाजशास्त्र विभागको विभागीय प्रमुख भएको अवस्थामा ‘सोसियल–एन्थ्रोपोलोजी’ वा ‘एथ्नो–सोसियोलोजी’ को मर्म बोक्ने पाठ्यक्रम बनाउने वा बनाउन पहल गर्ने सुनौलो मौका उनका सामु छ।
अनियमित नै भए पनि ९० को दशकपछिको उदार व्यवस्था, जर्नलमा लेख्दा समाजशास्त्री–मानवशास्त्री हुनुको वैधता, सामाजिक पूँजी र पेशागत लाभ एवम् उन्नतिले जर्नल प्रकाशनमा वृद्धि भएको छ। यद्यपि, संस्थागत प्रादुर्भाव भएदेखि विधाले जुन उचाइ पायो जर्नलले पाएन भन्ने प्रत्यूष वन्तको तर्क छ। जर्नलको खस्कँदो स्थितिको कारण संस्थागत नभई तदर्थवादका भरमा चलाइएका प्रकाशन र व्यावसायिकता एवम् लगनशीलताको कमी भएका जर्नल सम्पादक हुन् भन्ने उनको ठम्याइ छ। आर्थिक कारणले जर्नल प्रकाशन अनियमित भएको भन्ने तर्कलाई सहायक मात्रै मान्ने उनी समस्या व्यावसायिक प्रतिबद्धतामै देख्छन्।
यति भन्दाभन्दै वन्त व्यक्तिगत रूपमा खटिएर निरन्तर जर्नल प्रकाशनमा लागेका धवलागिरी जर्नल अफ सोसियोलोजी एन्ड एन्थ्रोपोलोजी का सम्पादक मानबहादुर खत्रीको प्रयासको चर्चा गर्न चुक्दैनन्, जुन समाज–वैज्ञानिकहरूका लागि प्रेरणादायक छ। सूक्ष्म अध्ययन झल्किने उनको लेखमा जर्नलको विषयवस्तु केन्द्रित विश्लेषण पनि भएको भए लेखले बढी सार्थकता पाउँथ्यो।
प्रा. टीकाराम गौतम विद्यावारिधि शोधको गुणस्तर प्राथमिक रूपमा व्यक्तिगत लगावमै भर पर्ने तर्क गर्दै लेख्छन्— ‘त्यो लगावमा शोध परामर्शदाता एवम् शोधको जाँच गर्ने विज्ञको महत्त्वपूर्ण भूमिका हुन्छ।’ नाम अगाडि डाक्टर लाउने लालसाभन्दा ज्ञान उत्पादनका लागि विद्यावारिधि गर्नेका लागि अझै पनि त्रिवि उपयुक्त भएको उनको दाबी छ। गौतमले शोध लेखन प्रक्रिया औपचारिक हुँदै गएको र प्रायः जाँच गर्ने विज्ञ शोध विषयको विज्ञ नहुने गरेको चित्रण पनि गरेका छन्।
पुस्तकमा महिला, दलित एवम् अन्य वञ्चित समुदायका विचार अटाउन सकेको छैन। मार्टिन चौतारीको कार्यक्रममा छलफल गरिए झैं पुस्तकको अर्को भाग प्रकाशन गर्ने हो भने समावेशिता अनिवार्य हुनुपर्छ।
प्रा. लोकरञ्जन पराजुली भने त्रिविमा स्नातकोत्तर तहको शोध लेखनमा समस्या देख्छन्। त्यसको कारण मूलतः अनुसन्धानमा पोख्त नभएका प्राध्यापक हुन् भन्दै उनी शोधलाई ऐच्छिक बनाउन वा सीमित विद्यार्थी भर्ना गरेर मात्रै शोधकर्म गराउन सुझाव दिन्छन्।
यहाँनेर पराजुली र गौतमको लेखमा विरोधाभास देखिन्छ। त्यसो होइन भने त्रिविमा विद्यावारिधि गराउने र स्नातकोत्तर गराउने प्राध्यापक र पठन पद्धति फरक हो भनेर बुझ्नुपर्ने हुन्छ।
पराजुलीले अंग्रेजी भाषामा पठनपाठनका कारण विद्यार्थीलाई परेको मर्काको उठान पनि गरेका छन्। उनी पठनको लोकतान्त्रीकरणका लागि पाठ्यक्रमलाई नेपाली भाषामा अनुवाद गर्न सुझाउँछन्। तर, यो सुझावका साथसाथै व्यावहारिक कारणले विद्यार्थीलाई अंग्रेजी लेखनमा जोड दिन र एकेडेमिक रिडिङ–राइटिङको तालिम दिन पनि जरुरी हुन्छ। किनभने विधाको अभ्यासमा हामीले पश्चिमको ज्ञानसँग कलमी गर्नु पनि छ।
पुस्तकका अन्तिम दुई अध्यायमा गैर–समाजशास्त्रीय–मानवशास्त्रीय विधा स्वास्थ्य र कानूनमा कसरी समाजशास्त्र–मानवशास्त्रको पाठ्यक्रम निर्माण हुन्छ र विद्यार्थीले यो विषयलाई कसरी लिन्छन् भन्ने चर्चा गरिएको छ। तुलनात्मक रूपमा कानून विधामा समाजशास्त्र–मानवशास्त्रले राम्रो स्थान पाएको छ।
समग्रमा पुस्तक सम्पादकहरूले दाबी गरे झैं विधा इतिहासमा एउटा नवीन र सार्थक प्रयास देखिन्छ। पुस्तकको लेखनीमा त्रुटि कम छन् र पादटिप्पणीले थप स्पष्ट बनाएका छन्। हालै भएको मार्टिन चौतारीको एक कार्यक्रममा सम्पादक प्रणव खरेलले पुस्तकमा लेख लेख्दा आर्थिक प्रोत्साहन कम भएकै कारण लेख्ने प्रतिबद्धता जनाएका मानवशास्त्री पनि पछि हटेका बताएका थिए। यो कुराले विकास उद्योगको चपेटामा विधा परेको दुःखद यथार्थ दर्शाउँछ। यही कारण पुस्तकको शीर्षकबाट ‘एन्थ्रोपोलोजी’ हटाइएको छ, यद्यपि पुस्तकभरि मानवशास्त्र विधा उपेक्षित भने देखिँदैन।
पुस्तकमा यो विधामा नभएका दुईवटा अभ्यासको चर्चा गरिएको छैन। पहिलो, समाजशास्त्री–मानवशास्त्रीको काम प्राज्ञिक अभियान र ज्ञानका लागि ज्ञान उत्पादन गर्नु मात्र होइन, समाजका मुद्दा र तिनका सम्भावित उत्तर खोज्नु पनि हो, जुन नेपालमा विरलै भएको देखिन्छ। दोस्रो, पाठ्यपुस्तक लेखन। हामीकहाँ जर्ज रिट्जर वा एन्थोनी गिडेन्सले झैं पाठ्यपुस्तक किन लेखिएनन्? विधागत अभ्यासमा यसको चर्को अभाव किन छ? चोरी र बेढंगे अनुवाद गरिएका विद्यार्थीको रचनात्मकता सिध्याउने पाठ्यपुस्तक किन छ्यापछ्याप्ती छन्? पुस्तकमा यी प्रश्नको उत्तर खोजिनुपर्थ्यो।
पुस्तकमा महिला, दलित एवम् अन्य वञ्चित समुदायका विचार अटाउन सकेको छैन। मार्टिन चौतारीको कार्यक्रममा छलफल गरिए झैं पुस्तकको अर्को भाग प्रकाशन गर्ने हो भने समावेशिता अनिवार्य हुनुपर्छ।
पुस्तक महँगो छ। वेबसाइटमा उल्लेख भए अनुसार १५ डलर मूल्य उल्लेख भएको यति सानो पुस्तकको नेपालमा रु.११०० आम नेपाली पाठक, विशेषगरी विद्यार्थी, लाई मितव्ययी छैन। तैपनि समाज–विज्ञानमा रुचि राख्नेहरूका लागि पुस्तक पठनीय भने छ।
पुस्तकः प्राक्टिसेस् अफ सोसियोलोजी इन नेपाल (२०२१) सम्पादनः प्रणव खरेल र गौरव केसी प्रकाशकः बज्र पब्लिकेसन्स् पृष्ठः २१२+१८
(पन्त समाजशास्त्रका विद्यार्थी हुन्।)