चीन र अमेरिकाबाट एक करोड खोप किन्ने सरकारको तयारी
सरकारले चीन र अमेरिकाबाट खोप खरीद प्रक्रिया अघि बढाएको छ। पहिलो चरणमा चीनको सिनोफार्मसँग ५० लाख र अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज खोप खरीद प्रक्रिया अघि बढाएको हो।
स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खोप खरीद प्रक्रियामा एक हप्ताभित्र ‘ब्रेक थ्रु’ हुने बताए। मन्त्री ज्ञवालीले भण्डारण र त्यसको व्यवस्थापनमा समस्या हुने भएकाले पहिलो चरणमा एक करोड र त्यसपछि थप खोप खरीद गर्ने बताए।
खोप खरीदका लागि अर्थ मन्त्रालयले रु.३६ अर्बको स्रोत सुनिश्चित गरेको उनको भनाइ छ। “हामी खोप खरीदका लागि मुख्य गरी चीन र अमेरिकामा केन्द्रित भएका छौं। चीनसँग ५० लाख र अमेरिकासँग ५० लाख गरी एक करोड डोज खरीदको योजना छ,” मन्त्री ज्ञवालीले भने, “एक हप्तादेखि १० दिनमै तपाइँहरूले ब्रेक थ्रु भएको देख्नुहुनेछ। यो वर्षभित्रै लक्षित बर्गलाई खोप लगाउनेछौं।”
भारतको सेरम इन्स्टिच्यूटसँग खोप खरीद शुरू गरेकोमा सेरमले सन २०२१ भरी कोभिशिल्ड खोप उपलब्ध गराउन नसक्ने औपचारिक जानकारी गराएपछि सरकारले चीन र अमेरिकासँग पहल थालेको हो। खोप खरीद प्रक्रिया दुवै देशका सरकार तथा सम्बन्धित खोप निर्माण कम्पनीसँग सिधै अघि बढाइने मन्त्री ज्ञवालीले बताए। अनुदानमा आउने खोपको भर पर्दा लामो समय लाग्ने भएकाले सरकारले खोप खरीदमा जोड दिएको उनको भनाइ छ।
पहिलो डोज कोभिशिल्ड खोप लगाएका ६५ वर्षभन्दा माथिका १४ लाख नागरिकका लागि पहिलो विकल्पका रुपमा भारतसँग उच्च तहमा कोभिशिल्ड खोप उपलब्ध गराउन आग्रह गरिएको छ। मन्त्री ज्ञवालीका अनुसार उच्च तहमा कुरा गरेर १७ लाख डोज खोप माग गरिएको छ।
यदी भारतबाट कोभिशिल्ड उपलब्ध नहुने अवस्थामा विकल्पका लागि एस्ट्राजेनेका खोप भित्राउनका लागि अमेरिका, बेलायत र जर्मनीसँग पत्राचार भइरहेकोउ उनले बताए। कोभिशिल्ड खोप लगाएका नागरिकलाई दोस्रो डोज उपलब्ध नभएपछि विकल्प खोज्न लागिएको हो।
त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सि चिनफिङबीच भएको वार्ताको क्रममा चीन सरकारले अनुदानमा दिने भनेको १० लाख डोज खोप नेपाल आउने पक्रिया शुरू भएको छ। १० लाख मध्ये दुई लाख डोज तिब्बतबाट तीन दिनभित्र आउने र बाँकी आठ लाख वेइजिङबाट १९ जेठसम्म आइपुग्ने मन्त्री ज्ञवालीले बताए।