संक्रमित भएर बस्दा मैले जे महसूस गरेँ...
कोरोना संक्रमण भएर यसविरुद्ध लड्दाको मेरो अनुभवले भन्छ, आत्मबल र आत्मविश्वाससँगै आपसी साथ–सहयोगले यो लडाइँ जितिन्छ।
निषेधाज्ञामा वा कोरोना संक्रमित भएर आइसोलेसनमा घरभित्र थुनिँदा के गरेर बस्ने? कसरी मन भुलाउने? धेरैको सुझाव हुन्छ– आफूलाई मन लागेको काम गर्ने।
शहरी भेगमा डेरामा बस्ने सर्वसाधारणले घरमा थुनिनुपर्दा मन भुलाउने विकल्प के नै हुन्छन् र! एउटा सहारा हो, मोबाइल फोन। सूचना लिनेदेखि सरसम्पर्क र मनोरञ्जनका लागि त्यसमा भर पर्नु परिहाल्यो। घरमा केही किताब नभएका हैनन्। तर, यो असहज समयमा पढ्न पटक्कै मन लाग्दैन।
संक्रमित भएर आइसोलेसनमा बस्दा अलि सन्चो भएको वेला दुई–चार पाना पढ्छु। तर, पढेका कुरा ९० प्रतिशत भुले झैं लाग्छ। तैपनि माक्सिम गोर्कीको पुस्तकको हिन्दी अनुवाद ‘मेरा बचपन’ र सुधीर शर्माको ‘प्रयोगशाला’ अलिअलि पढ्दै छु। अरु वेला गीत–संगीतमा मन अड्याउँछु।
पर्खालले घेरेको घरको परिसरमै हिँडेर खुट्टा तन्काइन्छ। खुला आकाश नियाल्न यसो माथितिर हे¥यो, वरिपरिका अग्ला घर र बिजुलीको तारमा आँखा ठोक्किन्छन्। मानव बस्तीमा वरपर मन फुकाउने अलि फराकिलो ठाउँ चाहिँ चाहिने रहेछ। काठमाडौंका गल्लीभित्रको बस्तीमा त्यो कसरी सम्भव होस्!
मैले कोभिड–१९ विरुद्धको खोपको पहिलो डोज लगाएको दश दिन भएको थियो, कोरोना पोजेटिभ देखियो। शुरूका दश दिन विभिन्न लक्षण देखिए। अक्सिजन लेभल नाप्दा दुई दिन ८६ देखि ९० सम्म देखियो। तर, सास फेर्न गाह्रो भएन। निमोनियाले भने गाँजिहालेछ।
अस्पतालहरूले महामारीको वेला सीमित स्रोतसाधनमा काम गरिरहेको देख्दा, अक्सिजन र बेड अभावकै कारण बिरामी छटपटाएर मरिरहेको खबर हेर्दा मनमा प्रश्न उठ्छ, सरकारी तवरबाट सर्वसुलभ स्वास्थ्य सेवा हामीले हाम्रो पालामा पाउँछौं होला त?
कति जनालाई चाहिँ संक्रमण हुँदा गन्ध र खानाको स्वाद हराउने बाहेक अरु समस्या नहुने रहेछ। छोरालाई पनि संक्रमण हुँदा दश दिन जति स्वाद र गन्ध गयो, अरु समस्या देखिएन। उमेर अनुसार पनि हुँदो हो कि!
आइसोलेसनको बसाइ आफू बसेको कोठा बढार्ने, मोबाइल हेर्ने, बा–आमालाई फोन गर्ने, साथीभाइसँग आफ्नो अनुभव बताउने आदि गरेर बितिरहेछ। कहिले त आफैं भान्सामा गएर खाना पकाऊँ झैं लाग्छ। संक्रमण देखिएको तीन साता भइसकेकाले अब पक्कै परिवारमा अरुलाई नसर्ला। आत्मविश्वासले अब म स्वस्थ भइसकेँ भन्छ। तर, निमोनियाको एन्टिबायोटिक र स्टेरोइड लिइराखेकी छु।
संक्रमणले आफूलाई गाह्रो नपारे पनि अस्पतालमा अक्सिजन र बेड अभावको खबर सुनिरहँदा अरु संक्रमितबारे चिन्ता लाग्छ। जाँच गराउन अस्पताल जाँदा सास फेर्न गाह्रो भएका धेरै जनालाई देखेँ। अहिले पनि तिनीहरूले अस्पतालमा बेड र अक्सिजन पाए कि पाएनन् होला भन्ने लागिरहन्छ।
दिनदिनैको घटना यस्ता थिए, अक्सिजन नपाएर यति संक्रमितको ज्यान गयो भन्ने खबर कति हो कति आइरहेका थिए। नेपालगञ्जमा स्वास्थ्यकर्मीहरूले आफू संक्रमित हुँदा पनि र २४सै घण्टा संक्रमितको उपचारमा संलग्न भएका तस्वीरहरूले मानव सेवाको मूल्य बोध गरायो। यो सेवा भावले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको महत्त्व त बताउने नै भयो।
अस्पतालहरूले महामारीको वेला सीमित स्रोतसाधनमा काम गरिरहेको देख्दा, अक्सिजन र बेड अभावकै कारण बिरामी छटपटाएर मरिरहेको खबर हेर्दा मनमा प्रश्न उठ्छ, सरकारी तवरबाट सर्वसुलभ स्वास्थ्य सेवा हामीले हाम्रो पालामा पाउँछौं होला त?
सामाजिक सञ्जालमा श्रद्धाञ्जलीका अनगिन्ती पोस्टहरू हेर्न पुग्दा वेलावेला निराशाले पनि छोप्छ। त्यस्तो देख्दा अस्पतालमा उपचार गराइरहेका गम्भीर अवस्थाका संक्रमित र घरमै आइसोलेसनमा बसेकाहरूलाई सहज होस्, थप जटिलता नआओस् भन्ने कामना स्वतः मनमा उठ्छ।
चिकित्सक र पोषणविद्हरूले दिएको विभिन्न अन्तर्वार्तामा कोरोनाको बेला पौष्टिक आहार मिलाएर खाने भनेको सुनिन्छ। हुनेले त पोषिला कुरा छानेर खाने भइहाले। तर, पेट भर्ने दुई छाक कसरी जुटाऊँ भन्ने हालतका गरीब सर्वसाधारणले भोकसम्म मेट्न पाएका छन् त?
मैले आफू संक्रमित भएको कुरा सामाजिक सञ्जालमा लेखेपछि साथीहरूले फोन गरेर आफ्नो र परिवारका अनुभव सुनाउन थाले। एक जनाले भन्दै थिए, परिवारको एक सदस्य संक्रमित भएको तीन हप्ता भएपछि ढुक्क हुनका लागि पीसीआर जाँच गराउन सरकारी अस्पताल जाँदा परीक्षण गराउनुपर्दैन, बरु रिपोर्ट चाहिए बनाइदिन्छौं भने रे। हुन पनि, ९/१० दिन भएपछि भाइरस नसर्ने र दुई सातापछि जाँच गराउनु नपर्ने भनेर चिकित्सकहरूले बताउने गरेका छन्। तर, पोजेटिभ र नेगेटिभकै नतिजाले निश्चिन्त हुन/पार्न सकिने गरेका कारण रिपोर्ट खोज्नु स्वाभाविकै हो।
कोरोना संक्रमितलाई अक्सर सोधिने प्रश्न हो, कसरी सर्यो? मैले पनि साथीहरूबाट यही प्रश्नको सामना गरेँ। तर, कसरी कहाँबाट सर्यो भनेर ठ्याक्कै भन्न सकिने कुरै होइन। कहाँ चुक भयो र सर्यो भनेर सम्झिने ठाउँ नै छैन। किनभने, मैले स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सक्दो ध्यान दिएकी थिएँ। कुनै पार्टी या भीडभाडमा गएकै थिइनँ। त्यही तरकारी किन्न जाने, काममा जाँदा दुई–तीन किलोमिटरसम्म हिँड्ने र कहिलेकाहीँ टेम्पो चढ्ने गर्थेँ। घर बाहिर निस्किँदा मास्क लगाएकै थिएँ। सेनिटाइजरको प्रयोगमा भने कमी आएको थियो।
जताबाट सरे पनि चपेटामा त परिसकियो र लगभग पार पनि लगाइयो। गम्भीर बिरामी नपरे पनि असह्य टाउको दुख्ने, खोकी लाग्ने र निमोनियाले छोइहाल्यो। अस्पतालमा बेड नपाए पनि धन्न मैले बेलैमा स्वास्थ्यकर्मीको सेवा घरमै पाएँ। खाने औषधिबाहेक यो वेला परिवार, साथीभाइ र स्वास्थ्यकर्मी खास औषधि बने।
चिकित्सक र पोषणविद्हरूले दिएको विभिन्न अन्तर्वार्तामा कोरोनाको बेला पौष्टिक आहार मिलाएर खाने भनेको सुनिन्छ। हुनेले त पोषिला कुरा छानेर खाने भइहाले। तर, पेट भर्ने दुई छाक कसरी जुटाऊँ भन्ने हालतका गरीब सर्वसाधारणले भोकसम्म मेट्न पाएका छन् त? त्यसमा पनि सामान्य अवस्थामै छाक टार्न समस्या भोग्ने उनीहरूले महामारी र निषेधाज्ञाका कारण कामधन्दा बन्द हुँदा कसरी जीवन धानिरहेका होलान्? यो समस्या समाधान गर्नु सरकारको दायित्व हैन र? तर, सरकार र प्रशासनलाई त निषेधाज्ञा घोषणा गरेर सबैलाई घरघरमा बन्द गरिदिँदा जिम्मेवारी पूरा भएजस्तो भइदिएको छ।
आफू संक्रमित हुँदा गाउँघरका कोरोना प्रभावित मानिसहरूबारे पनि जानकारी राखेँ। कतिपय बिरामी ज्वरोले थलिएको, स्वाद र गन्ध हराएको अवस्थामा पनि खेतीपाती जस्ता नियमित काम गरिरहेको पाइयो। शरीर दुखेर र कमजोरीका कारण ढल्ने अवस्थामा पुगेपछि मात्र कोरोना परीक्षण गर्न जाने रहेछन्। कतिले त नजँचाई घरमै थलिएर सुत्ने गरेको पनि पाइयो।
यस्तो हैरानीका कुराका बीच अस्पतालमा बिरामी कुरुवाहरूलाई केही मनकारीले खाना खुवाएको, केही होटल व्यवसायीले संक्रमितको घरघरमा खाना पुर्याइदिएका सुखद समाचारले मन हल्का बनाउँछ। यो संकटको बेला सहयोगी हात बन्ने ती सबैलाई नमन!
अहिले कोरोना संक्रमण गाउँघरसम्म फैलिइसकेको छ। आफू संक्रमित हुँदा गाउँघरका कोरोना प्रभावित मानिसहरूबारे पनि जानकारी राखेँ। कतिपय बिरामी ज्वरोले थलिएको, स्वाद र गन्ध हराएको अवस्थामा पनि खेतीपाती जस्ता नियमित काम गरिरहेको पाइयो। शरीर दुखेर र कमजोरीका कारण ढल्ने अवस्थामा पुगेपछि मात्र कोरोना परीक्षण गर्न जाने रहेछन्। कतिले त नजँचाई घरमै थलिएर सुत्ने गरेको पनि पाइयो। यसले शंका गर्न सकिन्छ, कोरोना सम्बन्धी सरकारी आँकडा कति अपूरो होला। चेतना अभाव, अस्पतालको पहुँच नहुने र छरछिमेकको लोकलाज आदिका कारण परीक्षण र उपचार गराउन नसकेका ती संक्रमितहरूलाई स्थानीय तहले रेखदेख गर्नुपर्ने हो। तर, त्यो भइरहेको छैन।
कोरोना रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकाभित्रका तीन जिल्लासहित धेरै ठाउँमा निषेधाज्ञा लगाइएको छ। तर, कोरोना संक्रमण खासै न्यूनीकरण भएको देखिँदैन। निषेधाज्ञा घोषणा गरिदिएर ढुक्क बस्नेभन्दा पनि परीक्षण र उपचारको दायरा फराकिलो नपारेसम्म संक्रमण नियन्त्रण हुन गाह्रै होला। संक्रमण नियन्त्रणका लागि सरकारी निकाय र विज्ञहरूले योजना र रणनीति सोचेकै होलान्। एकातिर देशलाई महामारीले आक्रान्त पारेको छ, अर्कातिर यस्तो संकटको वेला पनि राजनीतिक परिदृश्य भने कुर्सीको वरिपरि अल्झिएको देख्दा हेर्नेलाई लाजमर्दो छ।
जनताको भोटको आधारमा राजनीति गर्ने नेताहरूले देश महामारीबाट आक्रान्त भएर स्वास्थ्य सुविधाको अभावमा कैयौंले मृत्युवरण गरिरहँदा सामूहिक प्रयत्न र प्रतिबद्धता गरेर केही समय स्वास्थ्यमै केन्द्रित हुन सक्थे। तर, उनीहरूको प्राथमिकता जनता रहेनछन् भनेर यो स्वास्थ्य संकटले फेरि प्रमाणित गरिदिएको छ।
अहिले आत्तिने, डराउने र चिन्तित हुने बेला होइन। अभर पर्दा सहयोग माग्ने र सहयोगी हातहरूलाई सलाम गर्दै आगामी दिनमा जसलाई आवश्यक पर्छ, आफूले पनि हात बढाउने हो।
बरु, तिनै नेताहरूको भिजन र इच्छाशक्तिको अभावमा देशमा रोजगारी नपाएपछि विदेश गएका, खाडी मुलुकमा पसिना चुहाउँदै श्रम गर्ने नेपाली युवाहरूले देशको परिस्थितिलाई मल्हम लगाउन अक्सिजन सिलिण्डर पठाएछन्। ती उदार हृदयलाई पनि सलाम! एकातिर, महामारीको महासंकटको समयमा पनि अत्यावश्यक स्वास्थ्य सामग्रीको खरीदमा अनियमितता र कमिशनको खेलमा लुटपुटिनेहरू यहीँ छन्, अर्कातिर निःस्वार्थ भावले आफ्नो क्षमताअनुसार मन खोलेर सेवा र सहयोग गर्नेहरू पनि यहीँ छन्।
संसारमा अहिलेको जस्तो महामारीले विभिन्न समयमा आक्रान्त पार्ने गरेको इतिहास छ। त्यसैले यो कोरोना महामारी पनि टरेर जाने नै छ। संक्रमण भएकाहरूमध्ये कतिलाई चाँडै निको होला, कसैलाई केही समस्या देखिएर पार पाउन अलि लामो समय लाग्ला। आत्मबलले कैयौं दुःख सहजै पार लगाउँछ। आत्मविश्वासले कैयौं पीडा भुल्दै जीवनमा अगाडि बढाउँछ।
अहिले आत्तिने, डराउने र चिन्तित हुने बेला होइन। अभर पर्दा सहयोग माग्ने र सहयोगी हातहरूलाई सलाम गर्दै आगामी दिनमा जसलाई आवश्यक पर्छ, आफूले पनि हात बढाउने हो।
सकभर प्राकृतिक खानपान, हिँडडुल र योग/ध्यानमा शरीरलाई लगाउन सके यो कोरोना कहरबाट छिट्टै मुक्ति पाउन मद्दत पुग्नेछ। स्थिति अनुकूल भएपछि सबैले जीविकोपार्जन र सिर्जना कर्मको नियमित पाटोमा लाग्नु छँदै छ। महामारीले तहसनहस पारेका आर्थिक अवस्थालाई पनि काम गरेरै निरन्तरता दिनु छ।
यो परिस्थितिसँग हिम्मतका साथ लडौंं। धैर्य र संयम सँगालेर आत्मविश्वास बलियो बनाऔं। आखिर रातपछि बिहान भइ नै हाल्छ।