यसरी हुँदै छ प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ
प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ चलेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वको संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन्। केसी यसअघि पनि प्रतिनिधि सभा विघटन हुँदा चलेको मुद्धाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा थिए।
प्रतिनिधि सभा विघटन विरुद्ध ३० वटा रिट परेका छन्। त्यसमध्ये अधिवक्ता सन्तोष भण्डारीले दर्ता गरेको रिट पहिलो नम्बरमा छ। अहिले उनले बहस गरिरहेका छन्।
त्यसपछि क्रमशः शैलेशप्रसाद अम्वेडकर, राजकुमार सुवाल, जीवनकुमार वस्नेत, कुलबहादुर बोगटी, पूर्ण राजवंशी, अमिता गौतम र मनिराज उपाध्यायको पालो आउनेछ।
प्रतिनिधि सभाका १४६ सांसदले दर्ता गराएको रिट आठौं नम्बरमा छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विपक्षी गठबन्धनका पाँच दलका १४६ सांसदले रिट दर्ता गराएका थिए।
प्रतिनिधि सभा विघटनविरुद्ध परेका ३० रिटमध्ये ११ वटा संवैधानिक इजालसमै तोकिएका थिए। अन्य १९ रिटमाथि बिहीबार प्रधानन्यायाधीश जबराकै इजलासमा सुनुवाइ भएको थियो। उनले ति रिटलाई पनि संवैधानिक इजलासमा पठाएका थिए।
आज रिट निवेदकको तर्फबाट बहस हुनेछ। रिट निवेदक अधिवक्तालाई बहसका लागि १० मिनेट समय दिइएको छ।
कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड पालना गरेर सुनुवाइ भइरहेको छ। कानून व्यवसायीबाहेक अरुलाई इजलासमा जान दिइएको छैन। सुनुवाइका लागि पनि कानून व्यवसायीलाई पालैपालो इजलासमा जाने व्ययवस्था गरिएको छ।
इलजालस बाहिर बहस सुन्ने व्यवस्था गरिएको छ। पालो पर्खि रहेका कानून व्यवसायी र पत्रकारले इजलासबाहिर टेलिभिजनमा प्रत्यक्ष बहस सुनिरिहेका छन्।