‘पुष्पकमल दाहालको लक्ष्य बेग्लै रहेछ’
पुष्पकमल दाहालको लक्ष्य बेग्लै रहेछ। मूलतः बलियो नेकपाको अन्तरविरोधमा खेल्ने र सके नेकपा कब्जा गर्ने, नसके एमालेको एउटा हिस्सा अलग पारेर आफू बलियो बन्ने रहेछ।
देशकै सबैभन्दा ठूलो कम्युनिष्ट शक्ति बन्ने र कम्तीमा पाँच वर्ष आफ्नै नेतृत्वमा सरकार चलाउने लगायतका अनेक महत्त्वाकांक्षी लक्ष्य र कार्ययोजनाका साथ ३ जेठ २०७५ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भयो। र, जन्मियो- नेकपा। तर, नेतृत्वको निरन्तरको किचलो, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतको खारेजी र एकतालाई अवैध मान्ने सर्वोच्चकै फैसलाका कारण तीन वर्ष पनि नपुग्दै नेकपा पुनः पहिलेकै अवस्थामा पुग्यो– एमाले र माओवादी केन्द्र। आखिर किन जुट्यो अनि किन फुट्यो नेकपा?
‘हिमालखबर’को यो प्रश्नमा ब्युँतिएको एमालेका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको विश्लेषणः
हामीले शुरूमा चुनावी गठबन्धन र त्यसपछि पार्टी एकता गर्यौं। त्यो बेला आमजनता र पार्टी कार्यकर्ता राजनीतिक स्थायित्वको पक्षमा थिए। नेपालमा कम्युनिष्ट मतदाता धेरै हुने तर एक ठाउँमा नआउने समस्या थियो। सरकार आठ–नौ महीनामै परिवर्तन हुन्थ्यो।
निर्वाचनपूर्व नै हामीलाई एमाले पहिलो पार्टी बन्छ भन्ने थाहा थियो। तर, पहिलो पार्टी बने पनि बहुमत आउने निश्चित थिएन। माओवादी केन्द्र त अस्तित्व रक्षाकै संघर्षमा थियो। किनभने, कांग्रेससँग मिलेर जाँदा पनि स्थानीय तहमा देखिएको परिणामले उसलाई झस्काएको थियो। त्यस्तो पृष्ठभूमिमा हामीले पार्टी एकता गर्यौं।
नियम पालना भएको भए कम्तीमा हामी महाधिवेशनसम्म पुग्थ्यौं। महाधिवेशनले एउटा निकास दिन्थ्यो। जब कमरेड माधव नेपाल र पुष्पकमल दाहालजीहरू एक ठाउँमा हुनुभयो, उहाँहरूलाई बहुमतमा छौं भन्ने लाग्यो। बहुमतको प्रयोग गर्न थाल्नुभयो, जुन पार्टी एकताताकाको सहमति विपरीत थियो।
गठबन्धनबाटै चुनाव पनि लडिसकेको हुनाले एकता बढी मात्रामा भावनात्मक थियो। किनभने, सबै कुराको समाधान भएर एकीकरण भएको थिएन। वैचारिक, संगठनात्मक वा नेतृत्व जस्ता प्रश्न समाधान भइसकेका थिएनन्।
समस्या सम्बोधन गर्न हामीले निश्चित नियमहरू बनायौं। जस्तो, महाधिवेशनसम्म अल्पमत र बहुमत गरेर जाँदैनौं भन्ने नियम बनायौं। एउटा पक्षले अर्कोलाई पेल्ने अवस्था नआओस् भनेर महाधिवेशन पनि सहमतिकै आधारमा गर्ने नियम बनायौं। यी सबै नियम एकतालाई गन्तव्यमा पुर्याउनका लागि थिए। तर, नियम पालना भएनन्।
नियम पालना भएको भए कम्तीमा हामी महाधिवेशनसम्म पुग्थ्यौं। महाधिवेशनले एउटा निकास दिन्थ्यो। जब कमरेड माधव नेपाल र पुष्पकमल दाहालजीहरू एक ठाउँमा हुनुभयो, उहाँहरूलाई बहुमतमा छौं भन्ने लाग्यो। बहुमतको प्रयोग गर्न थाल्नुभयो, जुन पार्टी एकताताकाको सहमति विपरीत थियो। गाडी सडकबाट बाहिर गएपछि दुर्घटना हुनु त अनिवार्य थियो।
अर्को चाँहि, एकताको उद्देश्य नै फरक परे जस्तो लाग्छ। एमाले, त्यसमा पनि अध्यक्ष केपी शर्मा ओलीको लक्ष्य एकता मार्फत बलियो राजनीतिक शक्ति निर्माण र बलियो सरकार मार्फत राम्रो ‘डेलिभरी’ गर्नसक्ने प्रणाली बनाउने भन्ने थियो। हामीले अहिलेसम्म कुरा मात्रै गर्यौंं, परिणाम देखाउन पाइएको छैन। त्यसकारण परिणाम दिने खालको सशक्त शक्ति निर्माण गर्नु आवश्यक छ भन्ने उहाँमा देखिन्थ्यो। एउटा ‘बिरासत’ निर्माण गरेपछि उहाँ बिदा हुन चाहनुहुन्थ्यो। महाधिवेशनबाट पार्टी नेतृत्व र चुनावपछि सरकारको नेतृत्व छोड्छु भनी पनि सक्नुभएको थियो।
अनुसन्धान गरे हुन्छ, पछिल्लो तीन वर्षमा केपी शर्मा ओलीको मन्तव्य, बहस, अन्तर्वार्ता र छलफलको ९० प्रतिशतभन्दा बढी हिस्सा समृद्धि, विकास निर्माण र राष्ट्रियतामा केन्द्रित थियो। जहाँ अरू नेताहरूको ९० प्रतिशतभन्दा बढी छलफल, बहस, अन्तर्वार्ता, आफ्ना पद, मानसम्मान जस्ता कुरामा बित्यो।
पुष्पकमल दाहालको लक्ष्य बेग्लै रहेछ। मूलतः बलियो नेकपाको अन्तरविरोधमा खेल्ने र सके नेकपा कब्जा गर्ने, नसके एमालेको एउटा हिस्सा अलग पारेर आफू बलियो बन्ने रहेछ।
अनुसन्धान गरे हुन्छ, पछिल्लो तीन वर्षमा केपी शर्मा ओलीको मन्तव्य, बहस, अन्तर्वार्ता र छलफलको ९० प्रतिशतभन्दा बढी हिस्सा समृद्धि, विकास निर्माण र राष्ट्रियतामा केन्द्रित थियो। जहाँ अरू नेताहरूको ९० प्रतिशतभन्दा बढी छलफल, बहस, अन्तर्वार्ता, आफ्ना पद, मानसम्मान जस्ता कुरामा बित्यो।
यति हुँदाहुँदै पनि विधिमा टेकेको भए, जति कुरामा सहमत हुन सकिन्छ त्यतिमा टेकेर अगाडि बढेको भए महाधिवेशनसम्म त पुगिन्थ्यो नै। त्यसबाट निकासको नयाँ ढोका खुल्थ्यो। तर, विधि भत्काउँदा, खेलको नियम बीचमा परिवर्तन गर्दा आजको दुर्घटना व्यहोर्नुपर्यो।
नेकपाको सवा दुई वर्ष जति सरकार सञ्चालन, अन्तर्राष्ट्रिय सम्बन्ध, लगानीको वातावरण र जनतामा आशा जगाउने काम भयो। तर, कमीकमजोरी पनि रहे। बलियो पार्टी बन्दैमा सरकार राम्ररी चल्न सक्दो रहनेछ, बहुमत दिएर के गर्ने झगडा गरिहाल्छन् भन्ने नकारात्मक सन्देश गयो। हिजो कांग्रेसले जे गर्यो कम्युनिष्टले पनि त्यही गर्यो भन्नेले ठाउँ पाए।
देशमा स्थायित्व हुँदै नहुने रहेछ भनेर निराशा पनि जाग्यो। अन्तरविरोध चर्किंदै जाँदा जुन खालका अभिव्यक्ति प्रकट भए तिनले समग्र कम्युनिष्ट आन्दोलनप्रति नै विश्वास घटाउने काम गरे।
एमालेको नवौं महाधिवेशनपछिको यो तीन वर्षको सबैभन्दा तीतो पक्ष के हो भने संस्थागत ढंगले समूहलाई मान्यता दिँदा अथवा गुटबन्दी स्वीकार गर्दा ढिलो–चाँडो दुर्घटना निम्तिने रहेछ।
माधव नेपाल कमरेडले केपी ओलीसँगका कतिपय अन्तरविरोधलाई पुष्पकमल दाहालसँग जोड्ने र त्यसबाट छुट्टै समूह बनाएर नेतृत्वलाई घेराबन्दी गर्ने काम नगरेको भए यो स्थिति हुँदैनथ्यो होला। दाहालजीले उपयोग गर्नुभयो, तर माओवादीमा पनि अन्तरविरोध थियो।
हुन त बेलायतको लेबर पार्टीमै पनि माक्र्सवादीहरू पनि छन्। लिबरल र र्याडिकल पनि छन्। उनीहरू महाधिवेशनमा आआफ्ना विचार लिएर जान्छन्, तर पार्टी एकढिक्का बनाएर अघि बढ्छन्। अमेरिकाको डेमोक्र्याटिक पार्टीमा पनि वामपन्थी झुकाव भएका र अनुदारवादी व्यक्तिहरू पनि छन्। नेपाली कांग्रेसमै पनि कहिलेकाहीँ यस्तो अभ्यास भएको देखिन्छ।
तर, कम्युनिष्ट पार्टीभित्र खासगरी दुई वटा समूहलाई औपचारिक मान्यता दिएर पार्टी चल्न सक्दो रहेनछ।
माधव नेपाल कमरेडले केपी ओलीसँगका कतिपय अन्तरविरोधलाई पुष्पकमल दाहालसँग जोड्ने र त्यसबाट छुट्टै समूह बनाएर नेतृत्वलाई घेराबन्दी गर्ने काम नगरेको भए यो स्थिति हुँदैनथ्यो होला। दाहालजीले उपयोग गर्नुभयो, तर माओवादीमा पनि अन्तरविरोध थियो। त्यही कारणले रामबहादुर थापा, टोपबहादुर रायमाझीहरू एमालेमा जोडिन पुग्नुभयो। अरूको अन्तरविरोधमा खेल्दा परिणाम आफैंतिर पनि फर्कंदो रहेछ।
सत्य के हो भने, यो बीचमा दुई पार्टीलाई घुलमिल गराउने, एउटै मनोविज्ञान निर्माण गराउने काम हुन सकेन। जब कि ढिलो–चाँडो कम्युनिष्ट आन्दोलन एक बनाउनु त छँदै छ। कानूनी हिसाबमा नेकपा (एमाले) पुनर्स्थापित भएको छ। तर, हामी एकीकृत नेकपाकै बिरासत लिएर अगाडि बढ्छौं। आजको एमाले विभिन्न कारणले निष्कर्षमा पुग्न नसकेको नेकपाको उत्तराधिकारी पार्टी हो।
(कुराकानीमा आधारित)