किराना र खाद्य पसल खोल्नुपर्ने चेम्बरको माग
नेपाल चेम्बर अफ कमर्सले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी किराना तथा खाद्यान्नका पसल खोल्नुपर्ने माग गरेको छ।
बिहीबार विज्ञप्ति जारी गर्दै किराना तथा खाद्य पसल बन्द गर्दा न्यून आय भएका उपभोक्तालाई मार पर्ने भन्दै व्यवसाय सञ्चालनको माग गरेको हो।
किराना पसलमा दूध, पानी, तरकारी पनि विक्री हुने भएकोले सरकारले गरेको निर्णय व्यावहारिक नभएको चेम्बर अफ कमर्सको बुझाइ छ।
काठमाडौं उपत्यकामा १४ जेठदेखि थप कडाइ गरी एक हप्तालाई निषेधाज्ञा थपिएको छ। यो अवधिमा खाद्य तथा किराना पसलसमेत बन्द गर्न निर्देशन दिइएको छ।
तरकारी, मासू तथा डेरी पसल भने बिहान ९ बजेसम्म खुल्ने छन्।