खोपका विषयमा राजदूत आचार्यद्वारा भाजपा विदेश विभाग प्रमुखसँग छलफल
भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग कोभिड–१९ को खोपका विषयमा छलफल गरेका छन्।
बिहीबार नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा चौथाइवालेको टोलीसँग छलफल भएको दूतावासले जनाएको छ। “नेपाललाई कोभिडसिल्ड खोपका उपलब्ध गराउनका लागि पहल गर्न ध्यानाकर्षण गराएका छौं,” राजदूत आचार्यले हिमालखबरसँग भने।
यसअघि भारतले नेपाललाई १० लाख डोज कोभिसिल्ड दिएको थियो। त्यस्तै, नेपालले भारतबाट २० लाख डोज खोप खरिद गरेको थियो। तर, भारतीय कम्पनी सेरम इन्स्टिच्यूट अफ इन्डियालले १० लाख मात्रै दिएको छ भने १० लाख दिन बाँकी छ।
यस विषयमा पनि छलफल भएको राजदूत आचार्यले बताए। “पहिलो डोज कोभिसिल्ड लगाएका नागरिकलाई दोस्रो डोज लगाउनु पर्ने बेला भएको र भारतले थप कोभिसिल्ड उपलब्ध गराउनपर्ने जानकारी गराएका छौं,” आचार्यले भने।
त्यस्तै, कोभिड–१९ सँग जुध्न आवश्यक स्वास्थ्य सामग्रीको विषयमा पनि छलफल भएको छ। छलफलमा सत्तारुढ भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले खोप लगायत अन्य स्वास्थ्य सागम्रीका विषयमा ध्यानाकर्षण भएको जनाएका थिए। यसमा विषयमा सम्बन्धित निकायमा जानकारी गराउने उनको भनाइ थियो।