‘ओली प्रश्नकर्ता होइन, दास खोजिरहेका छन्’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न हस्ताक्षर गर्ने मध्येका नेकपा एमाले- नेपाल पक्षका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेसँग हिमालखबरको छोटो कुराकानीः
एमालेबाट कारवाहीमा पर्नुभयो ? अबको योजना के छ ?
मैंले यसलाई कारवाही मानेको छैन । केपी शर्मा ओली आफैं कमजोर हुने काम गरिरहेका छन् । दुईपटक त संसद् भंग गरिसके । संसद्ले अविश्वास गरेको मान्छे प्रधानमन्त्री पदमा रहँदैन । तुरुन्त राजीनामा गर्दछ । गिरिजाप्रसाद कोइरालाले ज्ञानेन्द्र शाहसँग कुरा नमिल्दा राजीनामा दिए । माधवकुमार नेपालले हामीलाई नै थाहै नदिइ राजीनामा दिए, हामीले किन हतारिएको भनेर आलोचना गर्यौं । झलनाथ खनालले पनि त्यही गर्नुभयो । अहिले संसद्ले अविश्वास गरेको व्यक्ति प्रधानमन्त्री पदमा छन् । यस्ता मान्छेले गरेको कारवाहीलाई म कारवाही मान्दिनँ ।
तपाईंले नमाने पनि अब एमालेमा त रहनुभएन नि ?
१४६ जना सांसद्को हस्ताक्षरसहित हामीले सर्वोच्च अदालतमा प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न माग गर्दै निवेदन बुझाएका छौं । सर्वोच्चको फैसला आएपछि हामी के गर्ने भन्ने बारेमा सोच्छौं ।
अहिले ओलीसँग भएका कोही पनि उनीसँग बोल्न सक्दैनन् । एमाले भनेको म एकल हो । अध्यक्ष पनि मैं, प्रधानमन्त्री पनि मैं, सर्बेसर्वा मैं भन्ने उनमा छ । सबै अधिकार म लिन्छु भनेपछि उनी पक्षको एउटा बैठकले सम्पूर्ण अधिकार ओलीलाई दियो । यस्तो कुनै कम्युनिष्ट पार्टीमा हुन्छ ?
कम्युनिष्ट पार्टीमा त अध्यक्षदेखि सबै सदस्य केन्द्रीय कमिटी मातहत हुन्छन् । पार्टी विधानअनुसार चल्छ। तर, उनले कुनै कुराको पालना गरेका छैनन् । विधान विपरीत नवौं महाधिवेशनबाट निर्वाचित कमिटी पनि भंग गरे।
तपाईंले त पार्टीले सोधेका स्पष्टीकरणको जवाफ पनि दिनुभएन होइन ?
हो, दिइनँ । स्पष्टीकरण मैंले होइन, केपी ओलीले मलाई दिनुपर्छ । आज होइन, साउनमा उनीसँग मेरो डेढ घण्टा छलफल भएको थियो । त्योबेला मैंले उनलाई १३ वटा प्रश्न सोधेको थिएँ, एउटैको पनि जवाफ आएको छैन । एमालेभित्रको लडाई रामपन्थ, हुनमानपन्थको हो कि वामपन्थबीचको ? मेरो मूल प्रश्न यही हो । मेरा प्रश्नको उत्तर नआएसम्म प्रष्टीकरण आउँदैन भनेर लेखेर पठाइदिएको छु ।
ओलीपक्षका नेताहरू एमालेको सांसद् भएर तपाईंहरूले अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर गर्नै नहुने काम गर्नुभयो भनिरहेका छन् नि ?
हेर्नुस, म वामपन्थी राजनीतिका लागि २०२७ सालमा झापाबाट हिंडेको हुँ । ओली ०२८ सालमा । मेरो घर चन्द्रगढी हो, उनको पृथ्वीनगर । उनले दुई वर्ष पार्टीमा काम गरे । १४ वर्ष जेल बसे । म लगातार १४ वर्षसम्म गाउँ–गाउँमा मदन भण्डारीसँग संघर्ष गर्दै हिँडे । जेलमा चेस खेलेर यताउता गरेर दिन बिताएका त हुन् ओलीले ।
ज्ञान प्राप्त गर्ने तीनवटा बाटा छन् । उत्पादन, सामाजिक संघर्ष र वैज्ञानिक प्रयोग । ओलीले यी तिनवटै कुरा गर्न सकेनन् । त्यसैले उनमा अरूका तर्क सुन्ने र बहसमा भाग लिने क्षमता नभएको हो । त्यही कारण उनले हामीलाई निकाल्न खोजेका हुन् । ओली प्रश्नकर्ता होइन, दास खोजिरहेका छन् ।
एमाले विभाजनउन्मुख बनाउन कसको दोष कति छ ?
विभाजन हामीले खोजेका होइनौं, ओलीले चाहेका हुन् । पहिला आधा–आधा कार्यकाल प्रधानमन्त्री खाने भनेर पुष्पकमल दाहालसँग हस्ताक्षर गरे । दुई पाइलट भएर जहाज उडाउँछौं भनेर गफ लगाए । के-के गफ गरे के-के । जसले काम गर्छ, उसले भित्तामा विज्ञापन टाँस्दै हिँड्दैन । बोल्दैन । काम नै उसको विज्ञापन हुन्छ । ओली केवल गफाडी हुन् ।
काम गर्न त तपाईंहरुले नदिएको आरोप छ नि ?
हामीले काम गर्न कहाँ रोकेका छौं ? कोभिडले यति मान्छे मरेका छन् । हेर्नुस्, उनी के-के गरिरहेका छन् । अर्बौं खर्च गरेर चुनाव गराउन खोजिरहेका छन् । जनताको माया छैन उनलाई ।